• १३ मंसिर २०८१, बिहिबार

अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको छ : महासचिव चन्द

blog

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द । फाइल तस्बिर

काठमाडौँ, असार १ गते। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अर्थतन्त्र निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको छ। 

शनिबार जनश्रम कृषि सहकारी संस्था लिमिटेडले गरेको कृषिमा लगानी र एकीकृत स्वामित्व प्रणाली विषयक अन्तर्संवादमा बोल्दै महासचिव चन्दले आर्थिक दृष्टिकोण र आर्थिक निर्माणको सम्बन्धमा राज्य अल्मल्लिएको बताउनुभएको हो। 

उहाँले आगामी आर्थिक वर्षको बजेटको सरकारमा सहभागी दलका प्रभावशाली नेताहरूले नै आलोचना गरिहरेका भन्दै नागरिकले बजेटबाट के आशा राख्ने भन्दै प्रश्न गर्नुभयो। उहाँले १२ खर्बको राजश्व र १८ खर्बको बजेटलाई नेपाली जनताको जीवनसँग जोडेर परिचालन गर्ने खालको नदेखिएको बताउनुभयो। उहाँले सरकारमा सहभागी मान्छेको कुरा सुन्दा केही समयपछि सरकार भताभुङ्ग हुने हो कि भन्ने देखिएको पनि बताउनुभयो।

उहाँले देशलाई आत्मनिर्भर अर्थतन्त्रको दिशामा लानुपर्ने बताउनुभयो। उहाँले आफूहरू सरकारसँग मिलेर काम गर्न चाहेको भन्दै सरकारले मद्दत गरेमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने र परिणाम आउने गरी कृषि क्षेत्रबाट योगदान गर्ने बताउनुभयो।