काठमाडौँ, असार १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ देखि ९ गतेसम्म काठमाडौँमा हुने भएको छ । यही जेठ ३१ र ३२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशन आह्वान गरेको पार्टीका नेता सुरेश आचार्यले जानकारी दिनुभयो ।
समान विचारधारा भएका शक्तिहरूका बिचमा बृहत् राष्ट्रिय मोर्चा बनाउने निर्णय गरेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘समसामयिक परिस्थिति र राप्रपा नेपालको कार्यदिशा र कार्यक्रम’ पारित गरेको छ ।
महँगी भ्रष्टाचारविरुद्ध देशव्यापीरुपमा अभियान सञ्चालन गर्ने निर्णय गरेको बैठकले ‘उच्चस्तरीय भ्रष्टाचार नियन्त्रण नागरिक आयोग’ गठनको माग गरेको छ । पार्टी सङ्गठन सुदृढीकरण लागि देशभर राजनीतिक गतिविधिको समीक्षा गरिएको बैठकमा वडादेखि केन्द्रसम्मको राजनीतिक कार्यसूची सार्वजनिक गरेको छ ।
मुलुकको समसामयिक विषयवस्तु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक अवस्थाबारे छलफल गरिएको बैठकमा पार्टीको भावी कार्ययोजना तथा रणनीतिबारे समीक्षा गरिएको छ । रासस