• ३१ असार २०८१, सोमबार

आधुनिक चीन नयाँ सिजाङ

blog

करिब तीन करोड सात लाख जनसङ्ख्यामध्ये प्रत्येक २० जना बराबर एक जना कम्पनीको मालिक र प्रत्येक छ जनामध्ये एक जना कुनै न कुनै कार्यालयको प्रमुख (बोस) छन् भन्दा पत्याउन सकिन्छ ? कम्तिमा विश्वका अधिकांश अल्प विकसित देशका नागरिकहरुको लागि यो निकै अपत्यारिलो आँकडा हो । तर आफ्नै मौलिकतासहित आर्थिक, भौतिक तथा साँस्कृतिक विकासको रफ्तारमा कुनै एक मालबाहक बुलेट रेल झैँ तीब्र बेगमा अगाडि बढिरहेको चीनको ‘आर्थिक शक्ति केन्द्र’ (इकोनोमिक पावरहाउस) मानिने चच्याङ प्रान्तमा यो सम्भव देखिएको छ ।  

चच्याङ प्रान्तका विदेश विभाग तथा अधिकारीहरुले दिएको जानकारी अनुसार यो साङ्घाई जस्तै चीनको सबभन्दा विकसित प्रान्तमध्ये एक हो । कुल तीन करोड सात लाख जनसङ्ख्या रहेको यो प्रान्तले अपत्यारिलो त्यो आँकडालाई वास्तविकतामा परिवर्तन गरिदिएको छ । चीनको आर्थिक विकास र उसले अबलम्बन गरिरहेको आफ्नै मौलिकतासहितको बजार अर्थतन्त्रबारे अध्ययन गर्न यो तथ्याङ्क निकै रोमाञ्चक छ । 

चीनबारे नेपाली जनमानसमा अनेक खालका कहावतहरु प्रचलित छन् । त्यसमध्ये २०४६ सालमा नेपालले झेल्नु परेको नाकाबन्दी र त्यससँग जोडिएको एक किस्साले मेरो बाल मस्तिकमा गहिरो प्रभाव पारेको थियो । त्यसबेलाको नाकाबन्दीले मुख्यतः नेपालको राजधानी काठमाडौँमा हाहाकार मच्चिएको हल्ला गाऊँसम्म आइपुगेको थियो । नाकाबन्दीका कारण राजधानीमा बाँच्न मुस्किल परेको खबरहरु गाउँमा सुनिन्थे । जसका कारण मेरो कोकु (बजु) राजधानीमा पढ्न बसेका छोराले खान पाएन कि, भोकैले मर्ने पो भयो कि भनेर दिन दिनै विलौना गर्नुहुन्थ्यो । यस्तैमा एक दिन गाऊँमा हल्ला फैलियो ‘चीनले नेपाललाई टिनका टिन मट्टीतेल दियो रे !’ ‘अब चीनले ढ्वाङ् बनाएर चाहिने जति मट्टीतेल नेपालमा खसाई दिने रे!’ यो खबरले मेरो कोकु र हाम्रो परिवारमा मात्र हैन, आधुनिक संसारबाट बेमतलब आफ्नै दुनियाँमा रमाइरहेको त्यो इमान्दार सिङ्गो गाउँमा ठुलो खुसीको माहोल छाएको थियो । 

अहिले थाहा भयो वास्तवमा त्यतिबेला सुनिएका यी रमाईला किस्सा जस्ताको तस्तै लागु भएको वा गराईएको त हैन रहेछ । नाकाबन्दीको प्रतिकार गर्न तत्कालीन नेपाल सरकारले चीनबाट हवाई जहाजमा सीमित मात्रमा पेट्रोलिय पदार्थ ल्याएर जनतालाई उपलब्ध गराएका रहेछन् । यसै क्रममा सायद दुई देशबिच पेट्रोलियम पदार्थको दीर्घकालिन व्यापारका लागि ‘पाईप लाईन’ निर्माण गर्ने कुरा पनि भए होलान् । अहिले जस्तो आनुनिक सञ्चार प्रणालीको स्थापना नभएको त्यो समयमा यही सूचना गाऊँसम्म आइपुग्दा ‘टिनका टिन’ र ‘ढ्वाङ’को किस्सामा परिवर्तन भइसकेका थिए । नेपाली जनमानसमा रहेका यस्तै अनेकन कहावत, मिथ, अन्तर्राष्ट्रिय सञ्चार मध्यममार्फत आउने सूचना तथा विभिन्न साहित्यिक कृतिहरुमा भेटिएको चीनबारे यही जेठ ८ गतेदेखि १८ गतेसम्म भ्रमण गर्ने अवसर मिलेको थियो । त्यसक्रममा अनुभव गरिएका चीन वास्तवमै एक स्वप्नील संसार झैँ लाग्यो । 

विकासका लागि गरिबी निवारण 

मानवीय सभ्यता विकासको क्रममा हजारौँ वर्षको अनुभव भएको चीनको अधुनिकीकरण तथा तीब्र आर्थिक विकासको इतिहास भने त्यति लामो छैन । ‘‘२० वर्षअघि मेरो परिवारलाई बिहान बेलुका छाक टार्न पनि मुस्किल पथ्र्यो,” चच्याङ प्रान्तका विदेश मामिला उपनिर्देशक यओ गुवेन भन्नुहुन्छ, ‘‘तर आज मेरो परिवार मात्र हैन । सिङ्गो चीन गरिबीबाट मुक्त भएको छ ।” हो, सन् २०२० देखि चीन सरकारले आफ्नो देशलाई पूर्णत गरिबीमुक्त घोषणा गरेको छ । यहाँका कुनै पनि नागरिक अब न्यूनतम गरिबीको रेखामूनि छैनन् । जुन विश्व बैङ्कको तथ्याङ्कले समेत प्रष्ट्याएको छ । एक तथ्याङ्कका अनुसार चीनले विगत चार दशकमा न्यूनतम गरिबीको रेखामूनि रहेका (८०० मिलियन) असी करोड जनसङ्ख्यालाई माथिल्लो जीवनस्तरमा उकासेको छ । 

  यति महत्वपूर्ण काम कसरी सम्भव भयो त? यसमा चीनका आफ्नै विशेषतासहितको विभिन्न कदम छन् । राष्ट्रपति सि चिनफिङ नेतृत्वमा आएपछि गरिबीलाई देशको शान्ति र स्थिरताको प्रमुख शत्रु नै घोषणा गरेर चीनको केन्द्र तथा प्रान्तीय सरकारले १६ खर्ब युआन (करिब ३०४ खर्ब रुपियाँ) गरिबी निवारणका विभिन्न परियोजनामा लगानी गरेको तथ्याङ्क छ । यसबाहेक अन्य क्षेत्रबाट समेत खर्बौं लगानी भएको छ । देशको विकास नहुनु नै गरिबी मुख्य कारण मान्दै सिपिसिको सन् २०१२ मा सम्पन्न १८ औँ महाधिवेशनले चीनको विशेषता अनुसार ‘जनता केन्द्रित विचार’ (पिपुल सेन्ट्रिक फिलोसफि) नै  पारित गरेर गरिबीविरुद्ध लड्ने विशेष नीति पारित गरेको थियो । त्यसमध्ये एक हो, विकासका लागि पर्यटन । 

यसको बलियो उदाहरण सिचाङ (तिब्बत) प्रान्त लिन्चि सहर अन्तर्गत रहेको लोलाङ गाउँ हो । जम्मा ६७ घर परिवार रहेको यो गाउँका किसानहरुले सन् २०१२ सम्म मात्र वार्षिक करिब १० हजार युआन आम्दानी गर्ने गर्थे । सन् २०१३ मा राष्ट्रपती सि नेतृत्वमा आउनुभएपछि ‘एक प्रदेश एक पर्यटन गन्तव्य’ नीति अबलम्बन गरियो । जसका लागि प्रत्येक धनि प्रदेशले अर्को गरिब प्रदेशको कुनै एक गाउँलाई सहयोग गर्नुका साथै त्यहाँका बासिन्दाको आर्थिक जीवनस्तर उकास्न सहयोग गर्नुपर्ने नीति लिइयो । यसैको फल स्वरुप ग्वाङदोङ प्रान्तको भागमा परेको यो गाउँका बासिन्दाहरुले हाल वार्षिक करिब तीन लाख युआन आम्दानी गर्न थालेका छन् । 


 करिब एक दशकको अन्तरालमा प्राप्त यो उपलब्धी कुनै पनि देशका लागि एक उदाहरणीय काम हो । यति महत्वपूर्ण काम सम्पन्न गर्न त्यतिकै सम्भव भएको भने हैन । त्यो स्थानको विकासका लागि सिपिसिका केन्द्रदेखि विभिन्न तहका पदाधिकारीहरु पाँच वर्षसम्म निरन्तर त्यहीँ गाऊँमा बसेर विभिन्न परियोजनाहरु सञ्चालनमा सहभागी भएका थिए । केन्द्र तथा प्रान्तीय सरकारले करोडौँ रकम खर्चिएर सडक, विजुलीबत्ति तथा प्रचारप्रसारलगायका पूर्वाधारमा लगानी गरेको थियो । आजभोलि प्रत्येक वर्ष यहाँ लाखौँ पर्यटक भित्रिने गरेका छन् । 

सरकार तथा चिनियाँ कम्युनिष्ट पार्टी (सिपसि)को दिशानिर्देशपछि फेरिएको आफ्नो आर्थिक जीवनबारे जानकारी दिँदै स्थानीय वासिन्दा फुर्वा भन्नुहुन्छ, ‘‘सरकारले आधारभूत सुविधाहरु निर्माण गर्नुका साथै केही होटल पनि निर्माण ग¥यो । पार्टीका पदाधिकारीहरुले यहीँ बसेर आफ्ना अनुभवहरु आदानप्रदान गर्नुका साथै हामीलाई दिशानिर्देश गर्नुभयो । तालिम दिनुभयो । जसबाट आज यो गाउँको विकास सम्भव भएको छ ।” पाँच जनाको परिवार रहेका फुर्वा हाल प्राप्त भइरहेको आर्थिक उन्नतिबारे प्रफुल्लित हुँदैँ भन्नुहुन्छ, ‘‘हामी आफैँ बसेको ठाउँमा विकास र पैसा दुबै आयो । हामी धनि भएका छौँ । अब यो ठाउँ छाडेर कतै गइन्न ।” 

सरकारले सन् २०१७ मा यो गाउँलाई पनि पर्यटकीय क्षेत्र घोषण गरेको थियो । नजिकै हिमाल, शीरमा हरिया पहाड र फेदमा फैलिएको समथर पठार क्षेत्रको यो गाउँ प्राकृतिक रुपमा निकै मनमोहक देखिन्छ । लमतन्न फैलिएका खुला पाटनमा साँझ बिहान चरिहने उन्मुक्त चौँरीको बथान, घोडचडी, तारो हान्ने खेल र मौलिक सँस्कृति यहाँको मुख्य विशेषता हो । सहरका सुविधा सम्पन्न तारे होटल झैँ देखिने यहाँका पाहुना कोठा तथा आकर्षक ढङ्गले सजिएका आवासीय होटलहरुले यहाँ आउने जो कोहीको मन लोभ्याउँछ । 

विगत २८ वर्षदेखि यस क्षेत्रको सेवा गरिरहेका लिन्चि सहरका उपमेयर मि सिका अनुसार सुविधा सम्पन्न आधुनिकता पनि झल्काउने र यो गाउँको मौलिकता पनि नमेटिने गरी यहाँका घर तथा भौतिक संरचनाहरु निर्माणका लागि पेकिङ विश्व विद्यालयका विज्ञहरुको सुझाव लिइएको थियो । ‘‘विकास भनेको दुइतर्फि प्रयत्न हो,” उहाँ भन्नुहुन्छ, ‘‘यसमा राज्य र जनता दुबैतर्फबाट उत्तिकै मेहनत हुनुपर्छ । सरकारले बजेट मात्र खन्याउने तर स्थानीयलाई सहभागी नगराउने वा स्थानीयवासीले आफैँ मात्र प्रयत्न गर्ने राज्यबाट सहयोग प्राप्त नगर्ने हो भने विकास सम्भव हुँदैन । हामीले यहाँ राज्यको तर्फबाट उपस्थिति जनाएका छौँ भने जनतालाई प्रत्यक्ष विकास कार्यमा संलग्न गराएका छौँ ।” उहाँले यो गाउँको विकास तथा नागरिकहरुको जीवनस्तर उकास्न मसिना मसिनादेखि धेरै ठुला (मिनि टु माईक्रो) कामहरुमा सहयोग गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘‘मेरो काम भने विभिन्न तहका सरकारसँग समन्वय गर्नु हो ।” 

वातारणमैत्री प्रविधि, फेरिएको तिब्बत

लुलाङबाट ल्हासासम्मको यात्राको क्रममा केही अनौठा दृश्य देखिए । रेलमार्फत करिब पाँच घण्टा यात्रा गर्दा पहाड छिचोलिएर बनाएका ‘टनेल’ यसै पनि मेरा लागि नौला र अनौठा थिए भने बेलाबेला देखिने टुप्पामा मात्र हरियो तर फेदतिर पूर्णतः सुक्खा पहाड अनौठो लाग्थ्यो । प्रकृतिमा कसरी त्यस्तो सम्भव छ कि फेद पूर्णतः मरुभूमि टुप्पो चाँही हराभरा ! यो अचम्मको यात्राअनुभूति साथिहरुबिच साटासाट गर्दै गर्दा ल्हासा पुगेपछि थाहा भयो । अघि भर्खरै देखिएका टुप्पोतिरका तीमध्ये कतिपय हरिया जङ्गलहरु त मानवीय प्रयत्नद्वारा उमारिएका बिरुवा रहेछन् । त्यसै पनि विश्वास लागिरहेको थिएन् । तर बस यात्राको क्रममा खर्खरे डाँडै भरि बिछ्याईएका पानीका पाईप तथा ती पाईपहरुले सिँचित गरेर बचाइरहेका वोट बिरुवाहरु देखेपछि विश्वास गर्न बाध्य भइयो कि यो कुनै सपनाको कुरा हैन, चीन सरकारले अवलम्बन गरेको ‘हरित विकास’ को नयाँ मोडेल रहेछ । चीनको सबभन्दा कम विकसित प्रान्त भनिने सिजाङ प्रान्तमा निर्माण गरिएको व्यवस्थित सहरीकरण र बस्ती निर्माण अर्को लोभलाग्दो पक्ष हो । नौ लाख ७० हजार वर्ग किलोमिटर क्षेत्रफल रहेको सिजाङ प्रान्त भौगोलिक रुपमा पहाडी पठार क्षेत्र हो । यहाँका पहाडहरु प्रायः बसोबासयोग्य छैनन् । मानव बस्ती सबै समथर भूभागमा रहेको छ । सायद त्यहीँ भौगोलिक बनावटले गर्दा पनि होला, यहाँका आवासीय क्षेत्र र खेतियोग्य क्षेत्र निकै व्यवस्थित छ । रोचक पक्ष चीनमा सबै प्रकारका जमिनको स्वामित्व राज्यको हुन्छ । जमिन प्रयोग गर्न किसानले कर तिर्नु पर्दैन तर कुनै उद्योग वा व्यापारिक प्रयोजनका लागि जमिन प्रयोग गर्दा पनि निश्चित कर तिर्नुपर्छ । अझ रोचक पक्ष के छ भने जमिन आफ्नो नाममा नभए पनि कुनै कारणवस उक्त जमिन राज्यले प्रयोग गर्नु परेमा जमिन उपभोग गरिरहेका नागरिकलाई राज्यले उपयुक्त क्षतिपूर्ति दिनुपर्छ दिन्छ । भू–उपयोगको यही नीतिका कारण चीनमा व्यवस्थित र एकीकृत बस्ती निर्माण, सहरीकरण र तीब्र औधोगीकरण सम्भव भएको छ । 


सिचाङ विज्ञ प्राध्यापक सु वेनहुईले जानकारी दिनुभए अनुसार  सन् २०१५ अगष्टमा सिचाङबारे बेईजिङमा आयोजित सिपिसि केन्द्रीय समितिको सम्मेलनले यस क्षेत्रको विकासबारे एक व्यवस्थित नीति पारित गरेको थियो । सन् २०१२ मा मात्र आठ हजार ५६८ यूआन प्रतिव्यक्ति आय भएको यस क्षेत्रका जनताको जीवनस्तर उकासिएर सन् २०२२ मा आईपुग्दा २६ हजार ६७५ युआन भएको छ । 

सिचाङको विकासका लागि सरकारले गरेका प्रयत्नहरुको अर्को उदाहरण हो केसोङ गाउँ । सन् २०१२ यता २४२ घर रहेको केसोङ गाउँको विकासका लागि मात्र तीन करोड युआन खर्च गरिएको छ । अहिले यहाँको ९० प्रतिशत कृषि प्रणालीलाई मेसिनाईज (यन्त्रिकरण) गरिएको छ । सन् २०१७ सम्म आईपुग्दा प्रत्येक २४२ घरपरिवारमध्ये ११५ घरपरिवारसँग सबै प्रकारका सवारी साधन रहेको तथ्याङ्क छ । 

सबै प्राथमिक विद्यालयमा खाना, खाजा तथा आवास निःशुल्क गरिएको छ भने गरिबी निवारण गरेर पूर्णतः शुन्यमा झारिएको छ । जसले बौद्ध धार्मिक समुदायको एक मुख्य थलो तथा भौगोलिक रुपमा विकट भनेर चिनिने तिब्बत हाल सुखी र खुसी ‘सिजाङ’को रुपमा नयाँ ढङ्गले अगाडि बढिरहेको छ । सिजाङ प्रान्तीय सरकारका उपाध्यक्ष लाङ फुकुन भन्नुहुन्छ, ‘‘उन्नत जीवनस्तरका लागि नागरिकहरुको समृद्ध जीवन नै हाम्रो मूल ध्येय हो ।” 

बजार अर्थतन्त्रको बादशाह हाङचौ 

चीनमा विकास भइरहेको खुला र नीजि अर्थतन्त्रको वास्तविक आकार र प्रभाव बुझ्न चच्याङ प्रान्तको राजधानी हाङचौ मात्र पर्याप्त नहोला तर यहाँ प्रयोग प्रविधि र यहाँको बजार धेरै हदसम्म यसको प्रतिविम्बन हो । अधिकारीहरुले जानकारी दिए अनुसार यहाँका करिब आठ करोड मानिस देश तथा विदेशमा विभिन्न व्यापार व्यवसायमा संलग्न छन् । यहाँ निजी क्षेत्रको अर्थतन्त्र कति धेरै फस्टाएको छ भन्ने त आलेखको शुरुवातमै उल्लिखित आँकडाले स्पष्ट पारिसकेको छ । 

विश्व प्रसिद्ध चिनियाँ व्यापारी ज्याक माको नेतृत्वमा स्थापित ‘अलि बाबा ग्रुप’को केन्द्रीय कार्यलयसमेत रहेको यो हाङचौमा निजीकरण र बजार व्यापारको थप अर्को आविष्कार हो ‘एक्स२७ पार्क’ । यो पार्क आफैँमा कुनै बगैँचा नभएर व्यापारका लागि निर्माण गरिएको एउटा ठुलो भवन हो जहाँ चिनियाँ युवा विभिन्न ब्रान्डका सामानहरु बेच्ने नयाँ प्रविधि प्रयोग गरिरहेका छन्, ‘लाईभ स्ट्रिमिङ’ । 

लाईभस्ट्रिमिङ अर्थात् विभिन्न सामाजिक सञ्जाल तथा अनलाईन प्लेटफर्महरुबाट ग्राहकहरुलाई सामानहरु प्रत्यक्ष देखाउने र उनीहरुको माग अनुसार घरमै वा तोकिएको स्थानमा सामान पु¥याई दिने । व्यापारका लागि प्रविधिको यो गजबको प्रयोग चीनमा अहिले फष्टाउँदो छ । यो पार्कमा चीनका विभिन्न ‘सेलिब्रेटी’देखि सामाजिक सञ्जालमा कहलिएका पात्रहरुसमेत आएर प्रत्यक्ष व्यापारमा संलग्न हुन्छन् । 

सहरभित्रका सडक भए पनि कुनै जङ्गलभित्र यात्रा गरिरहेको जस्तो हरियालीयुक्त सडक चच्याङ प्रान्तअन्तर्गत रहेका हाङचौ सहरको विशेषता हो । आकाश छेँडुला झैँ गरेर उभिएका गगनचुम्बि भवनहरु, १६ लेनसम्मका फराकिला सडक, ट्राफिक धेरै हुने ठाउँमा तल तला गरेर निर्माण गरिएका ‘फ्लाई ओभर’, लामो यात्राका लागि तीब्र गतिको रेल, जुनसुकै घरमा पनि दमकल, गाडी वा अन्य सुविधा पुग्न सक्नेगरी निर्माण भएका आवासीय क्षेत्र, खेतिपाती र उद्योगका लागि छुट्टाछुट्टै क्षेत्र त चीनले देशभर अबलम्बन गरेको नीति नै भयो । यी सबै सहरी क्षेत्रमा देखिने सामान्य दृश्य हुन् । हाङचौ तथा बेईजिङ सहरका सडकहरुमा पैदल यात्रुहरु निकै वा खासमा देखिँदैन थिए । अधिकारीहरुका अनुसार यहाँका सार्वजनिक सवारी निकै व्यवस्थित छन् । सडकका दायाँ बायाँ निश्चित ठाउँहरुमा सयौँको सङ्ख्यामा साईकलहरु राखिएका हुन्छन् । नेपालमा प्रचलित पठाओ जस्तै निजी कम्पनीद्वारा प्रवर्धित यस्ता साईकल स्मार्ट फोन प्रयोगकर्ताले निश्चित शुल्क तिरेपछि त्यसलाई आफ्नो गन्तव्यसम्म पुगेर त्यहीँ नजिकै रहेको अर्को स्टेशनमा छोड्न सक्छ, जहाँबाट पुनः अर्को प्रयोगकर्ताले यो साईकल प्रयोग गर्नसक्छ । 

विकास, विचार र नेतृत्व 

प्रत्येक देशको आफ्नै मौलिकता हुन्छ, त्यसको आफ्नै इतिहास, भौगोलिक अवस्थिति, सामाजिक संरचना, साँस्कृतिक तथा देश निर्माणको आफ्नै इतिहास हुन्छ र त्यसै अनुसार उसले आफ्नो शासन व्यवस्था छनौट गर्नुपर्छ भन्ने चीनको मूल अवधारणा छ । चिनियाँ विशेषतासहितको समाजवाद र चिनियाँ विशेषतायुक्त आधुनिकीकरण यसैको उपज हुन् । कुनै पनि देशले अर्को देशको ‘विकास मोडेल आयात गर्नुहुँदैन’ भन्ने भावनाबाट प्रेरित चिनियाँ अधिकारीहरु देश विकासका लागि स्थिर सरकार, सौहार्दपूर्ण सामाजिक सद्भाव, शक्तिशाली नेतृत्व र सुखी जनतालाई विकासको आधारभूत आवश्यकता ठान्छन् । 

यही भावनाबाट प्रेरित सिपिसिका अधिकारीहरु चीनको विकासका लागि समर्पित पार्टी र पार्टी नेतृत्वप्रति ठुलो श्रद्धाभाव राख्छन् । अधिकारीहरुका अनुसार करिब ९० प्रतिशत जनता सिपिसिको नेतृत्वप्रति पूर्णत विश्वास गर्छन् । यहाँका साहित्य तथा हरेक सामाजिक कार्यहरुमा सिपिसिलाई जनताको सहारा, सबै दुःख तथा आपतहरुको समाधानकर्ताको रुपमा व्याख्या गरिन्छ । यसैमा आधारित रहेर नयाँ चीनको स्थापनाका लागि माओत्सेतुङले विजारोपण गर्नुभएको नीतिगत जग (सन् १९४९–१९७८), त्यसलाई हुर्काउन देङस्याओपिङले लिनु भएको खुलापनको नीति (सन् १९७८–२०१२) र वर्तमान राष्ट्रपति सि चिनफिङले सन् २०१३ मा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्व सम्हाल्नुभएपछि विकास गर्नुभएको अवधारणा कोशेढुङ्गाको रुपमा हेरिएको छ । कतिपय मिडियाले व्याख्या गरेजस्तो चीनमा देङ्स्याओपिप्रति बढी माओत्सेतुङप्रति कम श्रद्धाभाव छ भन्ने भाष्य गलत भएको चिनियाँ अधिकारीहरु बताउँछन् । उनीहरु दुबैको आ–आफ्नै र उत्तिकै भूमिका रहेको उनिहरुको बुझाई छ । 

प्राचीन कालदेखि चीन सँधै नेपालको असल छिमेकी रहेको छ र रहिरहने छ । कुनै पनि देशको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अङ्गिकार गर्दै विश्वभर असल र शक्तिशाली देशको रुपमा सम्मान पाइरहेको चीन यहीँ विचारका कारण सबैको नेतृत्वकर्ता बन्ने दौडमा छ । नेपाललाई पनि उसले सँधै त्यसैगरी हेरिरहेको छ । बेईजिङमा नेपाली भ्रमण टोलीका सदस्यहरुसँग निकै खुला र सहज ढङ्गले प्रस्तुत हुनुभएका सिपिसिका उपविदेश मन्त्री सुन हाईयानले भन्नुभयो, ‘‘कुनै बेला तँपाईहरुलाई केही समस्या परे, उत्तरतिर हाम्रो एक छिमेकी मित्र पनि छ भनेर सम्झिनु होला ।’’ वर्षौँदेखि शान्ति र स्थायित्वका कारण तीब्र विकास, मौलिकतासहितको आधुनिकीरणको गतिमा आगाडि बढिरहेको चीनको नेतृत्व जनतालाई खुसी र सुखि राख्नु नै सबैभन्दा पहिलो काम हो भन्ने मान्यता राख्छन । त्यहीँ कारण कतिपय सन्दर्भमा पृथक मानिने सिचाङ (तिब्बत)लाई उसले दिलोज्यान दिएर नयाँ ढङ्गले विकासको गतिमा अगाडि बढाइरहेको छ । बहुसाँस्कृतिक तथा बहुभाषिक नेपालले यस्ता पक्षहरुबारे ध्यान दिन जरुरी छ । 

लेखक बाट थप