• १२ साउन २०८१, शनिबार

सवारी ज्यान मुद्दामा फरार दुई प्रतिवादी पक्राउ

blog

राजु लामिछाने

रुकुमपश्चिम, जेठ ३२ गते । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएका दुई जनालाई पक्राउ गरिएको हो । 

कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार रुकुमपश्चिमको आठविसकोट नगरपालिका –१२ निवासी ४६ वर्षीय कर्णबहादुर ओली भन्ने कर्ण ओली र बर्दियाको बाँसगढी नगरपालिका –१ बस्ने २२ वर्षीय मदन परियारलाई पक्राउ गरिएको हो । ओलीलाई आठविसकोट नगरपालिका –१० स्थित गिजाबाट र परियारलाई मुसिकोट नगरपालिका –१ खलङ्गा बजारबाट पक्राउ गरिएको हो । 

प्रहरी निरीक्षक शाहीका अनुसार रुकुम जिल्ला अदालतको मिति २०७७ चैत ४ गतेको फैसला अनुसार ओलीलाई सवारी ज्यान मुद्दामा छ महिना कैद सजाय तोकिएको छ । त्यसैगरी परियारलाई पनि २०८१ वैशाख २७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा एक महिना कैद सजाय तोकिएको छ । फैसलायता दुबै जना फरार थिए । 

जिल्ला प्रहरी कार्यालयले अदालतका फैसला कार्यान्वयन गर्ने क्रममा ओलीलाई जेठ ३१ गते बेलुका र परियारलाई आज बिहान पक्राउ गरेको हो । पक्राउ गरेका दुबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालतमा पठाइएको प्रहरीले जनाएको छ ।