• २१ असार २०८१, शुक्रबार

३७ वर्ष बित्दा पनि बनेन गीताचौर-रावतकोट सिँचाइ आयोजना

blog

३७ वर्षदेखि अलपत्र रहेको गिताचौर–रावतकोट सिँचाइ आयोजना (१४ किलोमिटर मध्ये चार किलोमिटर सम्म आएको पानी । तस्बिर : कमल शर्मा

कमल शर्मा 

दैलेख, जेठ ३२ गते । तत्कालीन गाउँ विकास समिति (रावतकोट, वडालम्जी, भैरीकालीकाथुम, बाँसी, रानीवनका) किसानहरुलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले ३७ वर्षअघि सुरु गरिएको गीताचौर-रावतकोट सिँचाइ आयोजना निर्माण सम्पन्न हुन सकेको छैन । 

२०२२ सालबाट सुरु गरी २०४४ साल (२२) वर्ष लामो विस्तृत सर्वेक्षण पश्चात आठ सय ३२ घरधुरीको चार सय ३५ हेक्टर जनिममा सिँचाइ पुर्‍याउने उद्देश्यले सुरु गरिएको आयोजना सङ्घीय सरकारले बजेट विनियोजन कम गर्ने, उपभोक्ता समितिले श्रमदान नगर्ने, र ठेकेदारले काम नगर्ने समस्याका कारण ३७ वर्षअघि सुरु भएको आयोजना निर्माण हुन सकेको छैन । 

३७ वर्षअघि ६ करोड ३१ लाख लागतमा बनाउन लागेको सिँचाइ आयोजनामा अहिलेसम्म धन्नै पाँच करोड रकम खर्च भईसकेको खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालय दैलेखले जनाएको छ । खानेपानी सिँचाइ तथा र्जा विकास कार्यालय दैलेखका प्रमुख टोपेन्द्र मल्लले संघिय सरकारले बजेट विनियोेजन गर्दा कम गर्ने र उपभोक्ताहरु श्रमदान गर्न समस्या मान्ने गरेका कारण आयोजना निर्माण सम्पन्न हुन नसकेको बताउनुभयो । उहाँले यो आर्थिक वर्षमा आएको ८० लाख बजेटमा चार किलोमिटर सिँचाइ कुलो निर्माण गरी पानी सञ्चालन गरिएको बताउनुभयो । उहाँले तत्कालीन समयमा गरिएको सर्वेक्षण र त्यसैका आधारमा निर्माण गरिएको प्राविधिक स्टमेटले आयोजना निर्माण हुन नसक्ने भन्दै त्यसका लागी पुन प्राविधिक स्टमेट तयार गरी बजेट विनियोजन गरेको खण्डमा आयोजना निर्माण गर्न सकिने बताउनुभयो । 

उहाँका अनुसार तत्कालीन समयमा निर्माण जिल्लामा लिएका निर्माण कम्पनीले काम नगरेका कारण आयोजनाले गति लिन सकेन । निर्माण कम्पनीले बनाएको सिँचाइ कुलोको संरचना भत्किएर पुरानै अवस्थामा आएको छ । निर्माण सम्वद्ध पक्षले सिँचाइका लागि पर्याप्त पानी नभएको, उपभोक्ताको असहयोग, माओवादी द्वन्द्व कारण जनाउँदै बिच बिचमा आयोजनाको निर्माण कार्य रोकेको थियो । 

सुरुका वर्षमा पानीको स्रोत नपुग्ने भन्दै सिँचाइ कार्यालयले सवा दुई करोडको काम बिचमै रद्द गरेको थियो । कामै सम्पन्न नगरि बजेट सकाउन उपभोक्ता समिति र ठेकेदारहरुले उपभोक्ताले सहयोग नगरेको कारण देखाएपछि करिव ६ वर्ष काम उक्त आयोजनामा बजेट विनियोजन भएको थिएन । 

तत्कालिन सिँचाइ कार्यालयले २०४७ सालमा पुनःटेण्डर आव्हान गरि काम सुचारु गर्न निर्माण कम्पनीलाई जिम्मा दिएको थियो । यस अवधिमा कार्यालयका प्राविधिक र निर्माणकर्ता बिचको मिलेमतो कारण आधा काम गरी सम्पन्न भएको फरफारक गरि प्रतिवेदन बुझाउने र रकम भुक्तानी लिने गरेको कारण आयोजना निर्माण सम्पन्न हुन नसकेको स्थानीयले बताएका छन् । आयोजनाको प्रारम्भिक चरणका कामै नगरि २०४९ देखि २०५६ सालसम्म २ करोड ९७ लाख खर्च भैसकेको जनाइएको छ ।  

आयोजनाप्रति समुदायको अपनत्व बढाउने नीति अनुसार स्थानीयले शेयर लगानी गर्नुपर्ने कार्यालयले प्रस्ताव गरेपछि २०५५ सालमा रावतकोटका बासिन्दाले एक लाख धरौटी उठाएर बैँकमा राखेको भएपनि अहिले त्यो रकम कहाँ छ भन्ने एकिन हुन नसकेको तत्कालीन आयोजनाका अध्यक्ष तिलक प्रसाद रिजालले जानकारी दिनुभयो । उहाँले गिताचौर–रावतकोट सिँचाइ आयोजना निर्माण सम्पन्न गर्न तीन ठाउँमा तीन वटा ठेकेदारले निर्माणको जिम्मा लिएपनि उनीहरुको लापारबाहीका कारण आयोजना निर्माण हुन नसकको बताउनुभयो । उहाँले सिँचाइ कुलो निर्माणको अन्तीम तयारी थियो । साइफण्ड जडान गरी पानी पास हुन नसकेपछि त्यो आयोजना निर्माण हुन सकेन । 

तत्कालीन जिल्ला विकास समितिको समन्वयमा दैलेख जिल्लाका ५५ गाउँविकास समितिका अध्यक्ष र उपाध्यक्षहरुलाई बोलाएर श्रमदान गरिएको अध्यक्ष रिजालले बताउनुभयो । २०४४ सालदेखि पहिलो स्व टिकाराम बिष्ट, दोस्रो खड्क बहादुर थापा र तेस्रोमा तिलक रिजाल अध्यक्ष भएर काम ग¥यौं । पछिल्लो मेरो कार्यकालमा आयोजना निर्माणले गति लिएको भएपनि ठेकेदारले नै विभिन्न कारण देखाएर काम नगरेपछि आफुले नागरिकहरुलाई लगाएर आयोजना निर्माणको कही काम गरेको थिए । तत्कालीन खानेपानी कार्यालयले काम गरेको रकम भुक्तानी नदिएपछि सर्वोच्च अदालतमा मुद्धा पुगेको र सर्वोच्च अदालतले समेत कार्यादेश नलिएर काम गरेको भन्दै कार्यालयले पैसा नर्तिनु पर्ने निर्णय गरेपछि अध्यक्षको हैसियतले ३२ लाख ८० हजार रकम कामदारको आफुले व्यक्तिगत तिरेको उहाँको भनाइ छ । 

उहाँले आठ सय नागरिकलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना सुरु गरेको र आफ्नो समेत रकम कामदारलाई दिनुपरेको भन्दै भैरवी गाउँपालिकामा निवेदन र आयोजनाका सम्पूर्ण विवरण पेश गरेको भएपनि गाउँपालिकाले समेत बजेट अभाव देखाउँदै पन्छिएको बताउनुभयो । उहाँले भन्नुभयो, "तत्कालीन गाउँपालिका अध्यक्ष प्रेम बुढालाई आयोजना निर्माणका लागी बजेट व्यवस्थापन गर्न आग्रह गर्दा सुनुवाइ भएन ।" 

भैरवी गाउँपालिकाका-१ का आशाराम थापाले आफुहरुको उपभोक्ता समितिले ८० लाख को काम गरेपछि चार किलोमिटरसम्म पानी ल्याउन सफल भएको बताउनुभयो । उहाँले पहिला बनाएको सिचाई कुलो केही सडक हान्दा भत्कीएको र केही पहिरो गएर भत्कीएका कारण चार किलोमिटर सम्म मात्र पानी सञ्चालन गरिएको बताउनुभयो । गिताचौर-रावतकोट सिँचाइ आयोजना निर्माण हुने र सिचाई सुविधा पाउने त्यहाका नागरिकको आशमा तुसारापात भएको छ । 

भैरवी गाउँपालिका-१ का श्याम महताराले भन्नुभयो हाम्रो बाजे, बुवाले आयोजना निर्माण भई सिचाई गरौँला भन्ने आशमा प्राण त्याग गर्नु प¥यो, हामीले पनि देख्न र त्यसको प्रयोग गर्न पाउन मुश्किल छ ।