• १२ साउन २०८१, शनिबार

किसानलाई बाली भित्र्याउन चटारो

blog

नवलपुरको कावासोतीमा हिउँदे धान भित्र्याउँदै किसान ।

मीना कंडेल

कावासोती, जेठ ३२ गते । पूर्वी नवलपरासीका किसान यतिखेर हिउँदे बाली भित्र्याउन व्यस्त रहेका छन् । कहिँ हिउँदे धान त कहिँ मकै भित्र्याउन किसानलाई भ्याइनभ्याइ भएको छ । 

्असारमा फेरि बर्खे धान रोप्नुपर्ने भएकाले पनि किसानलाई हिउँदे बाली भित्र्याउन चटारो भएको हो । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु नगरपालिका र विनयी त्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकामा दुई बाली धान लगाउन मिल्ने स्थान र सिमसार क्षेत्रका किसानले हिउँदे बाली (चैते धान) लगाउने गरेका छन् ।

कृषि ज्ञान केन्द्र नवलपुरका कृषि अर्थविज्ञ सञ्जय ढकालले कृषि ज्ञान केन्द्रले चैते धान उत्पादन हुने सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माणगरी सिँचाइ, मल, बीउ, यान्त्रिकीकरण लगायतमा ५० प्रतिशत अनुदान दिने गरेको बताउनुभयो । 

चैते धान प्रवर्धनका लागि कृषि ज्ञान केन्द्रले दुई करोड ७० लाख रुपियाँ विनियोजन गरी कार्यक्रम गरेको अर्थविज्ञ ढकालले बताउनुभयो । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले गत वर्ष जिल्लामा एक हजार दुईसय १० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो । 

जसमा ६ हजार एकसय २३ मेट्रिक टन धान उत्पादन भएको थियो । अहिले एक हजार तीनसय २५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले एकसय १५ हेक्टर क्षेत्रफल विस्तार भएको छ । यस वर्ष ६ हजार सातसय ५५ मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान छ । चैते धानका रूपमा चैत ५, हर्दिनाथ–१ सहित स्थानीय जातको धान रोप्ने गरिएको छ । 

यसैगरी जिल्लामा यस वर्ष चार हजार पाँचसय ६२ हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएको छ । जसबाट  १३ हजार पाँचसय ८५ मेट्रीक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । गत वर्ष  चार हजार पाँचसय ७० हेक्टर क्षेत्रफलमा हिउँदे मकै खेती गरिएकोमा १३ हजार पाँच सय ३० मेट्रीक टन मकै उत्पादन भएको थियो । 

जिल्लाको गैडाकोट, देवचुली, कावासोती र मध्यबिन्दुमा हिउँदे मकै लगाउने भए पनि  गैँडाकोट ६, ७ र ८ नम्बर वडालाई मकैको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । गैँडाकोट नगरपालिका कृषि विकास शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको ५, ६, ७, ८ र ९ नं वडामा बेमौसमी मकै उत्पादन हुने गरेको बताउनुभयो । 

बाह्रैमास मकै उत्पादन हुने भएकाले पनि यहाँका स्थानीय मकैको व्यापार राम्रो छ । यहाँ ६६ हेक्टर क्षेत्रफलमा हिउँदे मकै लगाउने गरिएको छ । प्रतिहेक्टर चारसय ६२ मेट्रिक टन उत्पादन भएको शर्माले बताउनुभयो ।