• ७ कात्तिक २०८१, बुधबार

दृश्य अवलोकन पूर्वाधारको निर्माण

blog

स्थानीयको सहयोगमा बनेको दृश्व अवलोकन पूर्वाधार उद्घाटन गरिँदै । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, जेठ ३२ गते । पाल्पाको सबैभन्दा अग्लो लेक कौडेलेकमा स्थानीय बासिन्दाले आफ्नै लगानीमा दृश्य अवलोकन पूर्वाधार बनाएका छन् । कौडेलेक नजिकै रहेको ओलेस गाउँका स्थानीय बासिन्दाको झण्डै १४ लाख लगानीमा दृश्व अवलोकन गर्ने पूर्वाधार बनाएका हुन् । 

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार नभएको अवस्थामा आफूहरूले चन्दा सङ्कलन गरेर दृश्य अवलोकन स्थल निर्माण गरेको स्थानीय बासिन्दा बताउँछन् । विगतमा ओलेसमा जन्मिएर हाल विभिन्न पेशा व्यवसाय क्रियाशिल तथा तथा भूतपूर्व सैनिक परिवारका सदस्यले दृश्व अवलोकन स्थल बनाउन चन्दा सङ्कलन गरेको स्थानीय बासिन्दा एवम् निर्माण समितिका अध्यक्ष भारतीय भूपूसैनिक हनेरी क्याप्टेन डुबलसिंह आलेले बताउनुभयो ।

कौडेलेकबाट तराईतिरका बुटवल, भैरहवा, सुनौली, भारतको गोरखपुरलगायतका सहरको अवलोकन गर्न सकिन्छ । यस्तै, उक्तरतर्फका दर्जनौँ हिमश्रृङ्खलाहरू पनि अवलोकन गर्न सकिने आलेले बताउनुभयो । यहाँ घुम्नका लागि विभिन्न स्थानबाट आउने पर्यटकले पर्यटकीय पूर्वाधारको अभाव महशुस गरेकाले आफूहरूले कौडेलेक (हुवाकोट)को घरबारसँगै दृश्य अवलोकन स्थल निर्माण गरेको जानकारी उहाँले दिनुभयो । 

दृश्य अवलोकन स्थल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने स्थानीय बासिन्दाको अपेक्षा रहेको छ । उक्त दृश्य अवलोकन पूर्वाधारको उद्घाटन गर्नुहुँदै लुम्विनी प्रदेशसभा सदस्य खेमबहादुर सारुले स्थानीय बासिन्दाले मनदेखि गरेको सहयोगले पर्यटकीय क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास गर्नुभयो । 

ओलेस गाउँ र कौडेलेकलाई जोडेर होमस्टेसहितको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले कौडेलेकलाई व्यवस्थित बनाउन स्थानीय सरकार सहयोग गर्न तयार रहेको जानकारी दिनुभयो । कौडे र ओलेस आएका पर्यटकलाई कला संस्कृति र बसाईको व्यवस्थापन गर्न स्थानीय बासिन्दा र पूर्वाधार निर्माणमा पालिकाको भूमिका रहने अध्यक्ष चिदीको भनाइ छ ।