• २६ असोज २०८१, शनिबार

रातो मच्छिन्द्ननाथ बुंग जात्राको तयारी (फोटो फिचर)

blog

ललितपुरस्थित पुलचोकमा बन्दै गरेको रातो मच्छिन्द्रनाथको रथको यो तस्बिर फोटो पत्रकार मनोजरत्न शाहीले खिच्नुभएको हो । ८–१५ एमएमको ‘फिस आई’ लेन्सले सडकमा सुतेर यो तस्बिर कैद गरिएको हो ।

काठमाडौं, वैशाख १ गते। वैशाख २१ गतेदेखि रातो मच्छिन्द्ननाथको रथ जात्रा सुरु हुँदैछ। मच्छिन्द्ननाथलाई रथमा भने वैशाखको १७ गते नै राखिन्छ। ललितपुरको पुल्चोकमा रथ जात्राको लागि रथ बनाउने काम भइरहेको छ। नेवारी पात्रोको तिथिअनुसार मच्छिन्द्ननाथको रथ 'पारु' दिनदेखि निर्माण गर्न सुरु गरिन्छ। त्यसको निर्माण १५ दिनमा सक्नुपर्ने परम्परा रहेको निर्माणका सहायक नाइके प्रेम महर्जनले जानकारी दिनुभयो। 

मच्छिन्द्ननाथको महास्नानपछि बाराहीले रथ निर्माणको काम सुरु गर्ने गर्छन्। यसरी रथ जात्रा सञ्चालनका लागि धेरै समूह र गुठी संलग्न भए पनि रथ निर्माणका लागि भने बाराहीले मात्र काम गर्ने महर्जनले बताउनुभयो।

'महास्नानको भोलिपल्ट रथ निर्माण गर्ने स्थानमा खाल्डो खनिसकेपछि बाराहीहरुले रथमा रहने काठ सम्बन्धी काम शुरु गर्छन्', उहाँ भन्नुहुन्छ, 'याःक ख’ सम्मको काठको काम सकिसकेपछि ञवाले त्यसमा फेरि एक तल्ला थप्ने र बेत, डोरी, ‘लसी’ अर्थात् नेपाल भाषामा १६ वटा लामो काठ बनाउने कामलाई पूर्णता दिन्छन्।  

रथमा रहेको अधिकांश काठको काम बाराहीले गर्छन्। यस वर्ष रथमा रहेको ‘धःमा’ (रथको अगाडिको भागको भैरव भएको लामो काठ) पनि नयाँ फेरिएको छ। रथ बनाउने काममा ३५ जना खटिएका छन्। 'यहाँ कसैलाई फुर्सद छैन', उहाँ भन्नुहुन्छ, 'काम चाँडै बनाउन पनि नहुने र ढिलाे सक्न पनि नहुने खालको छ।' 

यसरी मच्छिन्द्ननाथको रथारोहणको दिन ‘बायम्व’ पनि राख्ने गर्छन्। भोटो जात्राको दिन 'ञवाल'ले 'बायम्व'को माथि रहेको स्वयम्भूनाथको मूर्ति निकालेपछि 'बायम्व' खसालिन्छ। त्यो खसालिएको 'बायम्व' घोप्टो परे पानी पर्ने र नपरेमा पानी नपर्ने धार्मिक विश्वास छ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।