• १ साउन २०८१, मङ्गलबार

आफ्नै स्वभावको मान्छे

blog

काठमाडौँको अनामनगर बस्नुहुन्थ्यो उहाँ । संसद् सचिवालयमा जागिर । घरबाट धेरै टाढा पनि थिएन । अनामनगर बस्ने धेरै छन्, जागिर खाने कर्मचारी पनि  त्यत्तिकै छन् । राधेश्याम भट्टराई अलि भिन्न । शालीन पाराले सिर्जनामा रमाएर बस्ने सर्जक । उहाँका दाजु खेमरञ्जन भट्टराई लामिडाँडे पनि उस्तै । लेख्ने, छपाउनेबाहेक साहित्यमा अरू कुरामा पटक्कै चासो देखिएन उहाँहरूको । अरूको पनि त्यति चासो देखिएन । आफ्नै पारामा हिँड्नेहरू हम्मेसी अरूका नजरमा पर्दैनन् । त्यसैले त्यति लेखिएन पनि उहाँहरूको बारेमा । 

दाजु खेमरञ्जन भट्टराईको निधन भएको १० महिना पनि नबित्दै भाइ राधेश्याम भट्टराईको पनि निधन भयो । खोटाङ लामिडाँडाका यी दुवै दाजु भाइ । दुवैसँग उत्तिकै चिनाजानी । उहाँहरूका पिता माताका एघार जना सन्तान, यीमध्ये कलम चलाउने भएको नाताले उहाँहरू दुवै जना परिचित धेरैका लागि । मेरा लागि पनि परिचित । अर्को पुस्ता उहाँहरूको छोरा, मेरा मित्र गोरखापत्रका प्रधान सम्पादकमा कार्यरत शिवकुमार भट्टराईसँग पनि उत्तिकै निकटता । अक्षरको साधनामा लाग्ने परिवारका रूपमा चिन्थेँ, चिन्छु पनि । लेखनको केन्द्रबिन्दु राधेश्याम भट्टराई जसको बारेमा लेख्न आग्रह गर्नुभएको थियो साहित्यकार दाजु महेश प्रसाईले –राधेश्याम भट्टराई स्मृति ग्रन्थका लागि । साहित्य साधनामा जीवन बिताएर पनि चर्चा र प्रचारबाट टाढा रहनुभएका वा पारिनुभएका राधेश्याम भट्टराईको निधन भएको डेढ वर्षपछि उहाँलाई सम्झेर उहाँप्रति श्रद्धा भाव प्रकट गर्न, उहाँप्रति सम्मान प्रकट गर्न, उहाँलाई स्मरण गर्न थालेको सत्कार्यले मूर्त रूप लिएपछि बृहदाकारमा सम्झनामा राधेश्याम स्मृति ग्रन्थ प्रकाशमा आएबाटै थाहा हुन्छ, उहाँप्रतिको विविध क्षेत्रका मानिसको आदर भाव, श्रद्धाभाव ।

राधेश्याम भट्टराईको थातथलो खोटाङको लामिडाँडा, रावा हो, यही उहाँको जन्म भयो विसं २००२ सालको असार १९ । बुवा घरको परिवेश, आरम्भिक शिक्षाले नै साहित्यको मार्गमा उहाँ डोरिनुभयो । त्यसमा पनि बुवा देवीप्रसाद भट्टराई स्वयं कवि हुनुभएको र आमा वृन्दालक्ष्मीले घरमा भानुभक्तीय रामायण लय हाली हाली पढेको सुनेकाले पनि होला राधेश्याम भट्टराईको रुचि काव्यतिर बढी मात्रामा हुन गयो ।  लेख्नलाई त उहाँले कथा, निबन्ध, समालोचना, बाल साहित्य र अनुवादमा पनि कलम चलाउनु भयो तर काव्य–कविता उहाँको लेखनको केन्द्र बन्न पुगे र यसैबाट बढी परिचित हुन सक्नुभयो । १७ वर्षको उमेरमै गीत लेखेर साहित्यमा देखापर्नुभयो उहाँ । केटाकेटी उमेरदेखि नै सिर्जना र साधनामा बढी रुचि लिने उहाँले जीवनलाई विविध किसिमले बाँच्न जान्नुभयो, यसो भनौँ, अक्षरको साधना, समाजसेवा, सरकारी सेवामा उहाँका जीवनका उर्वर समय व्यतित भए । यसले गर्दा साहित्यमा उहाँले चाहे जति समय दिन सक्नुभएन । सरकारी सेवामा सचिवसम्म बन्नु भनेको रामै्र सफलता मान्नु पर्छ तर उहाँ यसलाई अस्थायी रूपमा हेर्नुहुन्थ्यो । साहित्यकार नगेन्द्रराज रेग्मीलाई दिनुभएको अन्तर्वार्तामा उहाँले भन्नु पनि भएको छ– आजकाल मात्र होइन म सधैँ साहित्यकार कम जागिरदार बढी हुँदै आएको छु । मेरो जिन्दगी मूलतः नोकरीको चाकरीमै बित्दै आएको छ । ...किनभने सचिवको निर्यात यान्त्रिक प्रव्रिmयामा जेलिएको हुन्छ, खिया लाग्नासाथ त्यसको अवसान हुन्छ (निवृत हुनासाथ कुनै मानभाउ हुँदैन (तर सफल साहित्यकार कहिल्यै मर्दैन सधैँ अजर अमर रहन्छ । 

पुस्तकालय खोल्ने, आफ्नै गाउँका केटाकेटीलाई पढाउने, विभिन्न सङ्घ संस्थामा रहेर सव्रिmय हुनु नै उहाँको सामाजिक व्यक्तित्वको पाटो बन्न पुग्यो । समाज सेवाले सन्तोष दियो होला, सरकारी सेवाले परिवार पाल्न र जीवन बाँच्न टेवा दियो होला । साहित्यले उहाँलाई सन्तुष्टि दियो, नाम दियो, अहिले उहाँलाई सम्झनुको कारण पनि यही हो । यही साहित्यको नाताले, सन्दर्भले पहिलो पटक भेटेको हुँ उहाँलाई उहाँकै निवास अनामनगरमा । २०४४ सालको पुस २२ गते पहिलो साक्षात्कार भएको हो उहाँसँग । त्यतिबेलै हो उहाँसँग बसेर साहित्यका सन्दर्भमा धेरै कुरा गरेको । 

पहिलो पटक भेट्दा अनामनगरको बाटो साँगुरो थियो । अनाम गाउँभन्दा पनि हुने खालको । अहिलेको अनामनगर धेरै परिवर्तन भयो । छिचोलिनसक्नु । नामै नभएकाहरूले नाम कमाएर कहाँ कहाँ पुगिसक्दा पनि उहाँ त्यही थलोमा भेटिनु भएका राधेश्याम भट्टराई पनि उस्तै पहिलेकै अनामनगर जस्तै अर्थात् स्वभावमा उही सरलता, निरन्तर सिर्जना र आफ्नैखाले जीवन बाँचेर जीवन बिताउनुभयो उहाँले । २०४१ सालमै हलेसी काव्य लेखेर चर्चामा आइसक्नुभएका उहाँले लेखनका बलमा आफूलाई अघि बढाउनुभन्दा लेखनलाई अघि बढाउनतिर लाग्नु भयो । समाजबाट केही लिऊँभन्दा पनि समाजलाई केही दिऊँ भन्ने सोच थियो उहाँको । कविता लेखनबाट विद्यार्थी अवस्थादेखि पुरस्कार पाउँदै आउनुभएका राधेश्याम भट्टराईले महेन्द्र विद्या भूषण पदक, जनसेवा पदक, गोरखादक्षिणबाहु पहिलो, दीर्घ सेवा पट्ट, वीरेन्द्र ऐश्वर्य सेवा पदक आदिबाट सम्मानित उहाँ साहित्यमा नामबाटै सम्मानित बनिसक्नु भएको थियो ।  

सम्बन्धित सङ्घ संस्थाहरूले आफ्ना गतिविधिलाई अझ ब्यापक, प्रेरणादायी र आस्थावान बनाउन सक्नु पर्छ । कला, साहित्य, संस्कृतितर्फ उन्मुख भएका साधकहरू हरितन्नम भएपछि, टाट पल्टिएपछि र गरिबीको सगरमाथाले किचेपछि मात्र उच्चकोटीको साहित्य जन्माउन सक्छन् भन्ने भावनाले ग्रस्त भई सरस्वतीका छोराछोरीलाई हेप्ने र तुच्छ ठान्ने प्रवृत्तिको जरो नउखेलिएसम्म अपेक्षित विकासको परिकल्पना गर्न सकिँदैन । यस क्षेत्रमा साधनारत स्रष्टाहरू पटुका कसेर पनि आआफ्नो पारख देखाउन जुर्मुराइरहन्छन्, मात्र उनीहरूलाई समाजको न्यानो माया चाहिन्छ ।

स्रष्टाहरूप्रति सम्मानको भावले हेर्ने उहाँले साहित्य समाजका बारेमा आफ्नो धारणा अभिव्यक्त गरेको चार दशक छोइसक्दा पनि खासै परिवर्तन भएको छैन हाम्रो सोच र दृष्टिमा । 

हलेसी (तीर्थ काव्य)–२०४१, साठी थुँगा (मुक्तक सङ्ग्रह)–२०५१, मेरो देश : मेरो सपना (कविता सङ्ग्रह)–२०५७, नयाँ पसल (कविता सङ्ग्रह)–२०६९ पशुवध नगरौँ (काव्य)– सम्पादन–२०६३ राधेश्याम भट्टराईका यिनै कृतिले उहाँलाई विशेषत : कविता र काव्यको क्षेत्रमा सुपरिचित गराएको छ, स्मरण गराएको छ । लेख्नु मौन बस्नु भने जस्तै हो उहाँको साधना । ११ वर्षको उमेरमै वैवाहिक जीवनमा बाँधिएकी जीवन सङ्गिनीको निधन, सन्तान नहुनु जस्ता दुःख पिरले पनि राधेश्याम भट्टराईको कलम रोकिएन ।  विसं २०७९ को असोज ५ गते ७७ वर्षको उमेरमा उहाँको निधन हुन पुग्यो, एउटा अपत्यारिलो निधन तर स्विकार्नैपर्ने यथार्थ । सरल स्वभाव र सरल जीवन बाँचेर  साहित्यमा आफ्नै स्थान बनाउनुभएका राधेश्याम भट्टराई नेपाली साहित्यले खास गरी काव्य क्षेत्रले सम्झिरहने नाम हो ।