• २ असार २०८१, आइतबार

नर्सिङ काउन्सिलद्वारा जिता बरालको नर्सिङ लाइसेन्स खारेज

blog

काठमाडौं, वैशाख १४ गते । नेपाल नर्सिङ काउन्सिलले नर्स जिता बरालको नर्सिङ लाइसेन्स (नाम दर्ता प्रमाणपत्र) खारेज गरेको छ । मङ्गलबार बसेको बोर्डको बैठकले बरालको नर्सिङ लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो ।

बुधबार काउन्सिलले विज्ञप्ति जारी गर्दै  नर्स बरालको नाम काउन्सिलको दर्ता किताबबाट हटाउने निर्णय गरेको हो ।

विज्ञप्तिमा ट्रमा सेन्टरका निमित्त मेसु डा. सन्तोष पौडेलले गराएको जानकारी तथा आवश्यक कारवाहीका लागि पठाएको पत्रको आधारमा बोर्डसमक्ष पेश हुँदा जाँचबुझ समिति गठन गरेको र उत्त समितिले नर्सिङ सेवामा आँच आउने कार्य गर्न नहुने भन्ने व्यावसायिक आचारसंहिता उल्लङ्घन गरिएको ठहर गर्दै कारवाही सिफारिस गरेको थियो ।

काउन्सिलको चैत १३ मा बसेको बोर्ड बैठकले काउन्सिलको दर्ता किताबबाट खारेज गर्ने निर्णय गरेको विज्ञप्तिमा  उल्लेख  छ । काउन्सिलका अनुसार बरालको दर्ता नम्बर ८८९४ थियो ।

नर्स बरालले विसं २०७७ असोज ६ गते जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारले काठमाडौं ल्याएपछि बराल ट्रमा सेन्टरमा पुगेर हङ्गामा गर्नुभएको थियो ।

उहाँले अस्पतालको आकास्मिक कक्षमा छिरेर चिकित्सक तथा नर्सहरुमाथि जाइलाग्ने तथा तोडफोड गर्ने, अश्लील शब्द बोल्ने लगायतका कार्यहरु गर्नुभएको थियो ।

उहाँले जथाभावी बोल्दै अभद्र व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो । सो घटनापछि ट्रमाका तत्कालीन निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले बराललाई कारवाही गरिपाउँ भन्दै उजुरी दिनुभएको थियो ।

काउन्सलको छानबिनका क्रममा बरालले काउन्सिलको आचारसंहिता उल्लङ्घन गरेको देखिएपछि काउन्सिलले दर्ता किताबबाट नाम हटाउने निर्णय गरेको हो ।