अमरराज नहर्की
तनहुँ, जेठ ३१ गते । विश्व बैङ्कको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र कार्यको शिलान्यास गरिएको छ । व्यास नगरपालिका–११ घाँसीकुवा, पोल्याङमा नगर प्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमकाबिच बिहीबार शिलान्यास गर्नुभएको हो ।
सो अवसरमा नगर प्रमुख न्यौपानेले सहरीकरण बढ्दै जाने क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने क्रममा पराशर मार्ग छनोटमा परेको बताउनुभयो । सडक सञ्चालनमा आएपछि बजार सम्मको सहज र छिटो पहुँच गर्नुका साथै सामाजिक सेवा प्रदान गर्ने नगर प्रमुख न्यौपानेको भनाइ छ । स्थानीयलाई रोजगारमा प्राथमिकता दिन नगर प्रमुख ठेकेदारलाई आग्रह गर्नुभएको थियो ।
आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाडौँले टेण्डर प्रक्रिया पूरा गरी निर्माण थालिएको हो । पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अधेंरी भन्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० किलोमिटर कालोपत्र गरिनेछ । व्यास नगरपालिको ७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको व्यास नगरपालिकाका इन्जिनियर डा. राजु पौडेलले जानकारी दिनुभयो ।
व्यास नगरपालिकाका वडा नम्बर ११ का वडाध्यक्ष दलबहादुर दुराले कालोपत्रे कार्यको सुरुवात भएसँगै स्थानीयमा उत्साह छाएको बताउनुभयो । कृषि उपजलाई बजारसम्म लैजान र सो क्षेत्रका बासिन्दालाई, हिलो, धुलो र खाल्टाखुल्टी नभएको यात्रा सहज बनाउने भएको उत्साह छाएको दुरा बताउनुहुन्छ ।
नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीका अनुसार यो आयोजनाको लागि निर्माण कम्पनीले मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु ४० करोड ८३ लाख, ३५ हजार नौ सय २१ रुपियाँमा उक्त निर्माण कम्पनीले ठेक्का पाएको छ । वि.सं. २०८२ असारसम्ममा आयोजना सम्पन्न हुनेछ । पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्ग गरी तीन वटा मार्गका लागि प्रस्ताव पेस गरेकामा उक्त आयोजना छनोटमा परेको नगरपालिकाले जनाएको छ । नगरपालिकाभित्र विभिन्न अध्ययन तथा अवलोकन पश्चात् उक्त आयोजना छनोट गरेको हो ।
छनोट पश्चात् सहरी विकास मन्त्रालयले बजेटका लागि विश्व बैङ्कसँग सम्झौता गरेपछि नगरपालिकाले बोलपत्र आह्वान गरी टेण्डर प्रक्रिया अघि बढाएको थियो । शिलान्यास कार्यक्रममा व्यास नगरपालिकाको उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरे लगायतले दिगो विकासको लागि गुणस्तरको निर्माण हुनु पर्ने भएकोले उपभोक्ताले विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो ।