• १३ साउन २०८१, आइतबार

प्राधिकरणको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा

blog

काठमाडौँ, जेठ ३१ गते । नेपाल विद्युत् प्राधिकरणले अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । भविष्यमा व्यावसायिक कम्पनीलाई समेत सेवा उपलब्ध गराउन सक्ने गरी काठमाडौँको स्युचाटारस्थित भार प्रेषण केन्द्र परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न अन्तर्राष्ट्रियस्तरको डेटा सेन्टर सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । 

‘प्री फेब्रिकेटेड कन्टेनर’ प्रयोग गरी तयार गरिएको तीन तलाको भवनको माथिल्लो तलामा डेटा सेन्टर सञ्चालनमा ल्याएको हो । 

डेटासेन्टरका लागि तोकिएको टियर ३ अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गरी निर्माण गरिएको यो पूर्वाधारमार्फत प्राधिकरणले आफ्नो सेवा प्रवाहलाई डिजिटल तथा आधुनिक बनाउने उद्देश्यले डाटा सेन्टर सञ्चालनमा ल्याएको हो । डिजिटल एनइए कार्यक्रम अन्तर्गत निर्माण गरिएका डेटा सेन्टरमा प्राधिकरणका सूचना प्रविधिसँग सम्बन्धित सर्भरलगायतका सबै डेटाहरू एकीकृत भण्डार गरी क्रमशः राख्ने तयारी प्राधिकरणको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेटा सेन्टर सञ्चालनमा आएसँगै प्राधिकरणले अब डाटा भण्डारणका लागि आफ्नो छुट्टै क्लाउड बनाउन लागिरहेको जानकारी दिनुभयो । 

घिसिङले डेटा सुरक्षाका लागि नवलपरासीको सुनवलस्थित न्यु बुटवल सबस्टेसनमा विपत् रिकभरी सेन्टर निर्माण गर्ने प्रक्रिया अगाडि बढेको पनि जानकारी दिनुभयो । उक्त विपत् रिकभरी सेन्टर निर्माण नहुन्जेल हाल प्राधिकरणको प्रधान कार्यालयमा रहेको पुरानो डाटा सेन्टरलाई रिकभरी सेन्टरका रूपमा सञ्चालन गरिने छ ।   

सञ्चालनमा ल्याइएको नयाँ डाटा सेन्टरमा ४० वटा सूचना प्रविधि र्‍याक छन् । जसमा ३६ वटा सर्भर र चार वटा नेटवर्क र्‍ याक छन् । टियर ३ मापदण्डका लागि तोकिएका सर्तहरू पूरा गर्न आवश्यक व्याकपसहितको अविच्छिन्न विद्युत् आपूर्ति (एन प्लस वान पावर सप्लाई), चिस्यान (कुलिङ), स्वचालित अग्नि नियन्त्रण, सिसिटिभी निगरानी, सञ्चालन तथा सुरक्षाको अनवरत निगरानीलगायतको व्यवस्था गरिएको छ । अविछिन्न विद्युत् आपूर्तिका लागि बहुवैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । 

डाटा सेन्टरका अतिरिक्त सेन्टरबाट काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई स्वचालित बनाउन निर्माणाधीन भूमिगत वितरण प्रणालीलाई अनुगमन, नियमन  र नियन्त्रण गर्न सकिने पूर्वाधार संरचना निर्माण गरिएको छ । यसमा उपत्यकाका सबस्टेसन तथा स्विचिङ स्टेसनहरू जोडिने छन् । 

केन्द्रबाटै ११ केभीभन्दा मुनिको ग्राहकको घरसम्म पुग्ने विद्युत् वितरण प्रणालीको व्यवस्थापन, अनुगमन र नियन्त्रण गर्न सकिने छ । डाटा सेन्टर परिसरमा तीन वटा विद्युतीय गाडी एकैपल्ट चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याइएको छ ।

केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी यानताई डोङफाङ विज्डम इलेक्ट्रिक कम्पनी लिसँग जुलाई २०२१ मा ठेक्का सम्झौता भई सोही वर्षको नेभेम्बरबाट काम सुरु भएको थियो । सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैङ्कको सहुलितपूर्ण ऋणमा निर्माण गरिएको सेन्टरको अनुमानित लागत करिब एक अर्ब ४० करोड रुपियाँ छ ।