• ६ असार २०८१, बिहिबार

मन्दिरको गौशालाबाट हराए ४५ गाई

blog

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ नन्कौपुरस्थित पोखरामाता (पोखराथान) मन्दीर । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ
खजुरा, जेठ ३० गते । 
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ नन्कौपुरस्थित पोखराथान (पोखरामाता) मन्दिरको गौशालाबाट गाईहरू हराएका छन् ।

सोमबार राती मन्दिरको गौशालामा रहेका करिब ४५ वटा गाईहरू हराएको मन्दिरका पुजारी राजकुमार चौधरीले जानकारी दिनुभयो । “मन्दिरको गौशालामा करिब ४५ वटा गाईहरू थिए, बिहान आफै चर्नका लागि बाहिरतिर जाने र दिनभरि चरेर साँझ परेपछि आफै गौशालामा गाई आउने गरेका थिए ।” उहाँले भन्नुभयो, ‘‘सोमबार साँझ पनि गाईहरू चरेर फर्के, तर मङ्गलबार बिहान गौशालामा एउटा पनि गाई थिएन, राति नै कसैले चोरेर लग्यो ।”

मन्दिरभित्रको खुल्ला क्षेत्रमा गाईहरू रातीमा आएर बस्ने गरेको उहाँले बताउनुभयो । गाई हराएको विषयमा आफूले स्थानीयबासीसँग छलफल गरेको तथा प्रहरी प्रशासनमा कतैपनि खबर नगरेको बताउनुभयो । उहाँले स्थानीय मिलेर गाईको खोजतलास गरिने बताउनुभयो ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष शोभाराम मौर्यले गत वैशाख १० गतेसम्म गाईको संरक्षण गरी सुरक्षा प्रदान गर्दै आए पनि वैशाख १० गतेपछि भने समितिले गाईको सुरक्षा तथा संरक्षणमा ध्यान नदिएको बताउनुभयो । उहाँले गाउँमा रहेका छाडा तथा खुल्ला गाईहरूलाई गौशालामा ल्याएर राखेर स्थानीयद्वारा पैसा तथा अन्न उठाएर गाइको रेखदेखका लागि गाई हेरालु राखिएको तर पछि गाउँलेहरूले अन्न तथा पैसा उठाउन छाडेपछि गाई हेरालु पनि गएपछि बेवारिसे जस्तो अवस्थामा गाईहरू रहेको जानकारी दिनुभयो ।

“गाउँमा कता कता बाट छाडा गाईहरू जम्मा हुन लागे, गाउँलेले लगाएका अन्नबाली खाएर नष्ट गर्न लागे, गाउँलेहरू भेला भएर दुई वर्षअघि मन्दिरमै छाडा गाईहरू राख्ने भनेर निर्णय गरियो र व्यवस्थापन समिति पनि गठन भयो ।,” अध्यक्ष मौर्यले भन्नुभयो, “दुई वर्षसम्म गाउँलेहरूले पैसा तथा अन्नबाली उठाउनुभयो, त्यसैबाट गाई हेर्नका लागि दुई जना गोठाला पनि राख्यौँ, बिहानदेखि साँझसम्म गोठालाले गाईहरू चराउन लैजाने र साँझ गौशालामा ल्याउने गरेका थिए, तर त्यसपछि गाउँलेले पैसा तथा अन्नबाली उठाउन छाडेपछि गोठालाहरू पनि गए, हामीसँग अन्य खर्च बेहोर्ने बाटो थिएन, त्यसपछि गाईहरू बेवारिसे जस्ता भएका थिए ।”

स्थानीयहरूले गाई चोरले रातीको समयमा गाईलाई भारततर्फ लगेर बिक्री गरेको हुन सक्ने आशङ्का गरेका छन् । तत्कालीन फत्तेपुर गाविसका उपाध्यक्ष स्थानीय लालीप्रसाद यादवले रातीको समयमा गाउँबाट तीन जना मान्छेले गाईलाई खेदेर भारततर्फ लगेको एक स्थानीयले आफूलाई बताएको जानकारी दिनुभयो । उहाँले गाई चोरले भारत लगेर गाईलाई बिक्री गरेको हुनसक्ने आशङ्का गर्नुभयो ।

राप्तीसोनारी गाउँपालिका वडा नं. ७ का अध्यक्ष रामलखन थारुले गाईलाई व्यवस्थित रूपले राख्नका लागि गौशाला व्यवस्थापनका लागि प्रदेश सरकारबाट दुई लाख ५० हजार रुपियाँको बजेट यस आर्थिक वर्षमा विनियोजित भए पनि व्यवस्थापन समिति क्रियाशील नहुँदा कार्यान्वयनमा नआएको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले मन्दिरको गौशालाको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकामार्फत दुई लाख ५० हजार रुपियाँ बजेट विनियोजन गरेको तर व्यवस्थापन समिति सम्झौतासमेत गर्न नगएका कारण कार्यान्वयनमा समस्या आएको बताउनुभयो ।

गाउँमा छाडा छोडिएका गाईहरूले गाउँलेका अन्नबाली नोक्सान गर्न थालेपछि गाउँलेहरू आफै मिलेर गौशाला व्यवस्थापन समिति गठन गरी गाईको संरक्षण गर्दै आएको तथा हाल आएर गौशाला व्यवस्थापन समितिले हेर्न छाडेपछि गाईहरू बेवारिसे जस्तो बनेको अध्यक्ष थारुले बताउनुभयो । गाई तस्करले रातीको समयमा चोरी गरी भारततर्फ नै लगेर बिक्री गरेको हुन सक्ने अध्यक्ष थारुले पनि आशङ्का गर्नुभयो ।