• १२ साउन २०८१, शनिबार

औषधी अभावमा स्वास्थ्य बिमाबन्द, बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चित

blog

स्वास्थ्य बिमा कार्यक्रम बन्दहुँदा सुनसान बीमा फाँट । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, जेठ ३० गते ।
 रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम दुई सातादेखि बन्द रहँदा बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चित रहेका छन् ।

अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत निःशुल्क पाइने औषधीको अभावले गर्दा बिमा फाँट नै बन्द भएपछि बिमित स्वास्थ्य सुविधा पाउनबाट वञ्चितभएका हुन् ।

अस्पतालमा दैनिक एक सयदेखि एक सय ३० जना बिमितले स्वास्थ्य सेवा लिँदै आएका अभिलेख छ । औषधी अभावले गर्दा बिमा फाँट नै बन्द भएपछि बाहिरको औषधी पसलमा महँगोमा औषधी किन्न बाध्य छन् बिमित ।

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । चन्द्रपुर–६ का पूर्व वडाध्यक्ष खड्ग बहादुर कुसुवारले भन्नुभयो, “सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत बिमा गर्ने कुनै पनि व्यक्तिले तोकिएको कुनै पनि अस्पतालबाट औषधी, ओपिडी सेवा, इमर्जेन्सी, ल्याब, सामान्य अपरेसनलगायतका उपचार प्राप्त गर्न सक्ने व्यवस्था हुँदा पनि चन्द्रनिगाहपुर अस्पतालमा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम औषधी अभाव मै बन्द रहनु जनस्वास्थ्यमा खेलबाड गर्नु नै हो ।”

यता अस्पतालका डाक्टर तथा ‘बिमाफोकल पर्सन’रुपेश साहले बिमाबाट वितरण गरिने औषधीको लागि दरभाउ पत्र प्रकाशन गर्न र त्यसको प्रक्रिया पुर्याउन अधिक समय लाग्ने गरेको कारण समयमा औषधी खरिद हुन नसकेकोले बिमा कार्यक्रम प्रभावित बनेको बताउनुभयो । साथै निःशुल्क वितरण गर्दै आएको औषधीमा बिमा बोर्डको निर्णयअनुसार बिमितले पाउने औषधीको कुल मूल्यमा दश प्रतिशत शुल्क लाग्ने भएपछि त्यसको ‘सफ्टवेयर’ निर्माणमा भएको ढिलासुस्तीले पनि बिमा फाँट बन्दगर्नु परेको उहाँको भनाइ छ ।

प्राविधिक वा व्यवस्थापकीय जुनसुकै कारणले बिमा बन्द भएपनि यही जेठ १ दरभाउपत्र प्रकाशन गरी औषधी खरिदको जिम्मा पाएका संस्थाले अहिलेसम्म औषधी उपलब्ध नगराउँदा त्यसको मार सर्वसाधारण जनतामाथि पर्न गएको बिमितको गुनासो छ । अस्पतालमा औषधोपचारका लागि पुग्नु भएका चन्द्रपुर–७ नयाँ बस्तीका ६७ वर्षीय लक्ष्मी साह (बिमित) ले समयमा स्वास्थ्य सेवा नपाउने भएपछि बिमा गर्नुको के अर्थ रह्यो र भन्ने प्रति प्रश्न गर्नुभयो ।

अस्पतालमा स्वास्थ्य विशेषज्ञको अभावले गर्दा संवेदनशील रोगका बिरामीले पाउनु पर्ने औषधी समेत पाएका छैनन् । मुटु रोग, माइग्रेन, श्वासप्रश्वासलगायतका बिरामीका लागि चाहिने आधारभूत औषधी बिमा कार्यक्रममा नभएको डा.साह बताउनुहुन्छ ।

स्वास्थ्य बिमा ऐनले प्रत्येक नागरिकलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भई स्वास्थ्य सेवा पाउने अधिकार सुनिश्चित गरेको छ । तरपनि सेवा प्रदायकले बिमित बिरामीलाई सहजरुपमा सेवा दिन नसक्नु, सेवाप्रदायक संस्थामा आवश्यक औषधी उपलब्ध नहुनु, जनतालाई स्वास्थ्य बिमा कार्यक्रमको फाइदा र कार्यक्रमको नियमबारे सूचित गराउन नसक्नु लगायतका कारणले स्वास्थ्य बिमा कार्यक्रममा जनताको उल्लेख्य सहभागिता हुन नसकेको जानकारहरू बताउँछन् ।

अस्पतालका सूचना अधिकारी दीपेन्द्र झाकाअनुसार यसै साताभित्र अस्पतालमा बिमा कार्यक्रमको औषधी उपलब्ध भई स्वास्थ्य सेवा प्रवाह हुने छ ।