• १३ असोज २०८१, आइतबार

मदानेद्वारा एकल पुरुष र महिलालाई भत्ता

blog

गुल्मीको मदाने गाउँपालिकाको कार्यालय । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, जेठ ३० गते । गुल्मीको मदाने गाउँपालिकाले एकल पुरुष र महिलालाई भत्ता दिने भएको छ । यस गाउँपालिकाले लोककल्याणकारी राज्यको अवधारणा अनुसार सामाजिक सुरक्षा कार्यक्रम मार्फत एकल पुरुष र महिलालाई भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पन्थीका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८०र०८१ को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत मदाने गाउँपालिकाको एकल पुरुष र एकल महिला कार्यविधि २०८० बमोजिम सामाजिक सुरक्षा कार्यक्रम मार्फत भत्ता प्रदान गर्न लागिएको हो ।

यस गाउँपालिकामा स्थायी रूपमा बसोबास गर्ने ४५ वर्ष पुरा भएका एकल पुरुष र ४० वर्ष पूरा भएका एकल महिलालाई भत्ता प्रदान गर्न लागिएको छ । कुनै कारणले विवाह नगरी बसेका त्यस्ता पुरुष र महिला भत्ता प्रदान गर्न लागिएको गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले बताउनुभयो ।

श्रीमान् र श्रीमतीको मृत्यु भई अर्को विवाह नगरेका, विवाह भएर सम्बन्ध विच्छेद गरी अर्को विवाह नगरी बसेका र १२ वर्षभन्दा बढी श्रीमान् र श्रीमती बेपत्ता भई एकल भएका पुरुष र महिलालाई एकल भएको महसुस नगराउनका लागि सामाजिक सुरक्षा कार्यक्रम मार्फत भत्ता दिन लागिएको हो । यहाँका सबै नागरिकको साथमा गाउँपालिकासँगै रहेको भन्दै एकल पुरुष र महिलालाई अहिले वार्षिक छ हजार रुपियाँ भत्ता उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।

वडाबाट अविवाहित एवम् एकल भएको प्रमाणित गर्नुपर्ने हुँदा यस गाउँपालिकाभित्रका सात वटै वडा कार्यालयले एकल भएका पुरुष र महिला सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको बताइएको छ । नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी, स्थायी रूपमा बसोबास गरेको खुल्ने कागजात र हालसालै खिचेको पासपोर्ट साइजको २ प्रति फोटो र व्यक्तिगत बैङ्क खाता खोली सोको एक प्रति चेक लगायतका कागजात वडामा उपलब्ध गराउनु पर्नेछ ।