• १२ साउन २०८१, शनिबार

बिजुलीको पोल सार्ने काम ६० प्रतिशत पुरा

blog

शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडा बजारमा राखिएका नयाँ पोलहरू । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, जेठ २९ गते । विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडकखण्डकाको मुख्य वाधकको रूपमा रहेको बिजुलीको पोल सार्ने कामले गति लिन थालेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरू धमाधम हटाउन थालेपछि विस्तारको काम गर्न सहज भएको छ । 

सडक खण्ड अन्तर्गतका संरचनाहरू हटाउने क्रममा तनहुँ वितरण केन्द्रले आफ्नो क्षेत्र बिजुलीका पोल धमाधम हटाएर नयाँ राखिरहेको छ । पहिला सुस्त गतिमा पोल स्थानान्तरण हुँदा प्रभावित भएकोमा हाल तीव्र रूपमा काम हुँदा तनहुँ क्षेत्रमा काम गर्न सहज भएको पृथ्वीराजमार्ग विस्तार पश्चिम खण्डका प्रमुख इन्जिनियर राजेश पौडेलले बताउनुभयो । पुरानो पोल हटाएर नयाँ संरचना बनाऊ काम हालसम्म ६० प्रतिशत सकिएको तनहुँ वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीले जानकारी दिनुभयो ।

सदरमुकाम दमौलीमा सडक सीमा भित्रका संरचना हटाउन ढिलाइ भएको प्रभावित भएको उहाँले बताउनुभयो । रेग्मी अनुसार नयाँ पोल राख्ने तथा प्रसारण लाइन सुधार अन्तर्गत ९६ करोड रुपियाँ लागतमा पोल सार्ने काम भइरहेको छ । ५२ करोड रुपियाँ सडक विस्तार आयोजनाको र बाँकी रकम नेपाल विद्युत प्राधिकरणको लागतमा भइरहेको छ । पहिला ११ मिटर अग्लो पोल भएकोमा हाल १३ मिटर अग्लो पोल राखिएको छ । 

तनहुँ वितरण अन्तर्गतको दुई खण्डका विभाजन गरी काम भइरहेको छ । आँबुखैरेनीदेखि गुणवादीसम्म झन्कार जेविले र थर्पुदेखि मनहरी सम्म विडारी कन्स्ट्रक्सने गरिरहेको छ। एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत नेपालका दुई ठुला सहर-काठमाडौँ र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तीमा चार लेनको बनाउने कार्य भइरहेको छ ।

वि.सं. २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर गरी ५० हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएका स्थानमा दुई तर्फी २३–२३ मिटर गरी ४६ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौंडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तार गरी सहरी क्षेत्रमा सर्भिसलेन सहित चार लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ ।