• १९ असार २०८१, बुधबार

धितालका जनयुद्धकालिन पुस्तकको संवाद

blog

नेत्र शाही 

जुम्ला, जेठ २९ गते । जुम्ला निवासी वरिष्ठ पत्रकार मनऋषि धितालका जनयुद्धकालिन पुस्तकको संवाद गरिएको छ । काठमाडौँमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमोचित गर्नुभएको पुस्तकहरू गुफा प्रेसका चिठी, जेलयात्रा, गण्डकयात्रा, पिलियात्रा, राजमार्ग यात्रा, वेनियात्रा र आधार यात्रा पुस्तकको संवाद गरिएको हो । 

लेखक धितालको गृह जिल्ला जुम्ला पत्रकार महासङ्घको हलमा गरिएको संवाद कार्यक्रममा स्थानीय शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्व, राजनैतिक दल, प्रशासन, बुद्धिजीवीले धितालको कृति निकै महत्त्वपूर्ण रहेको बताएका छन् । माओवादीले थालेको जनयुद्धमा होमिएका धितालले तत्कालीन जनयुद्धमा भएका क्रियाकलाप तथा इतिहासका रूपमा लिपिबद्ध भएकोमा पुस्तकहरूको आफैमा महत्त्व रहेकोमा जोड दिइएको छ । 

पुस्तकको टिप्पणी गर्दै जुम्ला बहुमुखी क्याम्पसका प्रमुख डा. ओम प्रकाश आचार्यले पुस्तक आफैँमा इतिहासको जीवित दस्ताबेज भएको बताउनुभयो । उहाँले पिलीयात्रा पुस्तक पश्चिम नेपालमा भएको तत्कालीन घटना भएको बताउँदै घटनाको विषयमा तत्कालीन समयमा भएका गतिविधिको उल्लेख गर्नुभयो । उहाँले पुस्तकमा कर्णाली क्षेत्रमा भएको ठुलो घटना जनयुद्धको अन्तिम समयमा भएको बताउनुभयो ।  

राष्ट्रिय समाचार समितिका प्रमुख शेरबहादुर सिंहले गुफा प्रेसका चिठीको टिप्पणी गर्नुभयो । उहाँले युद्धमा एक साथी अर्कोमा सञ्चार गर्न, दुख, सुख, रोदन र क्रियाकलापको विषयमा सञ्चार गरिरहेको पाइने बताउनुभयो । २५३ वटा विभिन्न जनयुद्धको मोर्चामा लागेका व्यक्तिका पत्रको सङालो गुफा प्रेसका चिठी रहेको बताउँदै यसले पुरानो सञ्चार माध्यमको उजागर र दस्तावेजीकरण गरेको जोड दिनुभयो ।

लेखक तथा साहित्यकार खडानन्द चौलागाईँले धितालको जेल यात्राको टिप्पणी गर्नुभयो । उहाँले आन्दोलनमा उत्रिदा जेल भुक्तान गरेको विषय निकै सङ्घर्षको कथा रहेकोमा बताउनुभयो । उहाँले पुस्तकको डिजाइन, आकार, कभर पेजमा तस्बिर निकै राम्रो भएको बताउँदै पुस्तकमा केही अनुच्छेद लामो भएकोले अनुच्छेद छोटो हुन आवश्यक रहेको सुझाव दिनुभयो । 

कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक मीनराज शर्माले राजमार्ग यात्रा पुस्तकको समीक्षा गर्नुभयो । उहाँका अनुसार राजमार्ग क्षेत्रमा भएका तत्कालीन गतिविधिको विषयमा पुस्तकले प्रष्ट्याएको छ । शर्माले किताबमा तत्कालीन समयको राजमार्गयात्रा सहितको समग्र पुस्तकमा हामी देशका लागि दौडिरहेका र लडिरहेका सन्देश संस्कृति ढङ्गबाट पनि प्रस्तुत भएकोमा जोड दिनुभयो । 

नेकपा माओवादी केन्द्रका बुद्धिजीवी सङ्गठन जुम्लाका अध्यक्ष हिक्मत बुढ्थापाले किताबले आफैँमा त्यसवेलाका गतिविधिका विषयमा जोड दिइएको बताउँदै यसको सबल पक्षमा जनयुद्ध आफैमा एउटा अवस्था थियो । यसको इतिहास प्रकाशित भएको छ, पुस्तकमा तत्कालीन समयका भाषामा केही सुधार्नुपर्नेमा जोड दिनुभयो । 

पुस्तकको समीक्षा गर्दै प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेले तत्कालीन अवस्थामा भएका र लागेका कुराहरूलाई दस्तावेजीकरण आफैँमा महत्त्व भएको बताउँदै लेखकलाई विकास र समृद्धिको क्षेत्रमा कलम चलाउन अनुरोध गर्नुभयो । उहाँले यतै धेरै मिहिनेत गरेका किताब हरेकले राख्नुपर्न सुझाव दिनुभयो । 

नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महतले हरेक वेलाका क्रान्तिलाई सघाउने केही दस्ताबेजको महत्त्व भिन्नै हुने भएकाले त्यसवेलाको समयमा भएका काममको लेखक धितालले गरेको मिहिनेतका लागि बधाई दिनुभयो । उहाँले अव हरेक क्षेत्रबाट समाजवादी यात्राका लागि सबैले सघाउनुपर्नेमा जोड दिनुभयो । नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज बिर्खबहादुर शाहीले युद्धमा भोगेका विषयमा लेखकले थालेको इतिहास पढ्न पाउने अवसर जनयुद्धका डायरी पुस्तकले दिने बताउँदै त्यतिवेला भिरपाखा, खोलानाला सहित अनेकन् दुख पुस्तकले दर्साएकोमा जोड दिनुभयो । उहाँले नेपाल कम्यूनिष्ट पार्टीले थालेको जनक्रान्तिमा समेत १२ जना सहिद भएको बताउँदै पछिल्ला विषयमा सबैको ध्यान हुन आवश्यक रहेको छ ।  

क्रान्तिकारी कम्यूनिष्ट पार्टीका जिल्ला इन्चार्ज प्रेम प्रकाश ओलीले धितालका प्रकाशित किताबको अवस्था युद्धमा भोगेका कारण आज अध्ययन गर्न पाइने अवसरका लागि धन्यवाद ज्ञापन गर्नुभयो । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनका कर्णाली अध्यक्ष देवेश्वर गिरीले विद्यालय स्तरमा समेत किताब पुग्न आवश्यक रहेको छ । 

लेखक मनऋषि धितालले आफू जन्मेको स्थानमा किताबको संवाद तथा शुभकामनाको प्रेरणा भिन्नै रहेको जोड दिँदै धन्यवाद ज्ञापन गर्नुभयो । २४ वर्षको युवा जेलमा बस्दा देखी आन्दोलनको पृष्ठभूमिमा लाग्दाका कैयौँ सङ्घर्ष डायरीमा रहेको बताउनुभयो । उहाँले बेनी यात्रामा जुम्ला, सिञ्जा र सिमिकोटको यात्रा समेत उल्लेख रहेको जानकारी दिनुभयो । उहाँले किताब प्रकाशन, लेखनमा सघाउनेलाई धन्यवाद दिँदै गृह जिल्लाले दिएको प्रेरणाका विषयमा धन्यवाद ज्ञापन गर्नुभयो । कर्णाली संवाद कार्यक्रमका अध्यक्ष तथा इलाका संरक्षक खेमराज लकाईले कर्णालीका गाउँका आथित्यता देख्दा गर्व लागेको बताउँदै लेखक धिताल पूर्ण संवेदना सहितको मानव रहेको आफूले महसुस गरेको छु । उहाँले जर्मनी सहित विश्वमा भएका दुखत घटनाको इतिहास रहेको बताउँदै नेपालमा जनयुद्धको इतिहास पुस्तकबाट जानकारी हुनेमा जोड दिनुभयो ।