• ३ मंसिर २०८२, बुधबार

सल्यानमा अवैध रूपमा सञ्चालन भएका गाडी प्रहरी नियन्त्रणमा

blog

प्रतीक इच्छुक शर्मा

सल्यान, मङ्सिर ३ गते । सल्यान प्रहरीले जिल्लामा अवैध रूपमा सञ्चालन भई रहेका ४ वटा साना जिप गाडी नियन्त्रणमा लिएको छ । यी गाडीहरू भित्री सडकहरूमा अवैध रूपमा चलिरहेका थिए, र तिनीहरूको नम्बर प्लेट, इन्जिन नम्बर र च्यासिस नम्बरमा उल्लेखित विवरणसँग मेल नखाएपछि प्रहरीले विभिन्न मितिमा ती गाडीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले पत्रकार सम्मेलन आयोजना गर्दै गाडीहरूको विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, जिल्लाको शारदा नगरपालिका-१, श्रीनगर–रुकुमचोकस्थित सल्यान रुकुमको पक्की सडकखण्डमा नम्बर फरक देखिने गाडीहरू चलिरहेको बारेमा सूचनाका आधारमा चेकजाँच गरिएको थियो। चेकजाँचका क्रममा, केही गाडीमा इन्जिन र च्यासिस नम्बरहरू डिलिट गरिएको, केही गाडीमा नम्बर प्लेटमा अङ्क मिलान नभएको र केही गाडीमा बिलबुकमा भएका विवरण र गाडीमा भेटिएका नम्बरहरूमा ठुलो भिन्नता रहेको पाइएको छ।

प्रहरी निरिक्षक पुर्ण केसीका अनुसार नियन्त्रणमा लिइएका गाडीहरूको नम्बर मिलेको छैन र बिलबुकमा रहेको विवरण फरक देखिएको कारण ती गाडीहरू शङ्कास्पद अवस्थामै रहेको पाइएको हो। त्यसैले थप अनुसन्धानका लागि ती गाडीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीको अनुसन्धानका आधारमा, यी गाडीहरू अवैध रूपमा भित्र्याइएका, चोरी भएका वा नम्बर हेरफेर गरेर चलाइएका हुन सक्ने आशङ्का व्यक्त गरिएको छ। नियन्त्रणमा लिइएका गाडीहरू अब राजश्व अनुसन्धान विभागलाई पठाउने तयारी गरिएको छ। विभागमार्फत थप अनुसन्धान गरिने बताइएको छ।

नियन्त्रणमा रहेका गाडीहरूको आयु १० वर्षदेखि १८ वर्षसम्मको रहेको पाइएको छ।  सल्यानका  प्रहरी प्रमुख डिएसपी डा. हेम केसीले जिल्लामा अन्य गाडीहरू पनि अवैध रूपमा चलिरहेको हुन सक्ने आशङ्का छ, र त्यसका लागि कडाइका साथ चेकजाँच जारी राखिएको बताउनुभयो । उहाँका अनुसार अवैद्य सवारी साधन अनुसन्धान भई रहेको छ ।