काठमाडौँ, मङ्सिर ३ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले सङ्कटासन्न वर्ग, क्षेत्र र समुदायलाई केन्द्रित गरेर शीतलहर र हिमपात पूर्वतयारी र प्रतिकार्य थाल्न निर्देशन दिनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित ‘विपद् संवाद’ कार्यक्रममा उहाँले शीतलहर र हिमपातबाट आउनसक्ने स्वास्थ्य समस्यासँग जुध्न आवश्यक औषधी र जनशक्तिलाई तयारी अवस्थामा राख्न निर्देशन दिनुभएको हो ।
सरकार एक्लैले यो चुनौती व्यवस्थापन गर्न नसक्ने उल्लेख गर्दै गृहमन्त्री अर्यालले राष्ट्रिय तथा अन्तरराष्ट्रिय संस्था, संयुक्त राष्ट्र सङ्घीय निकाय, सञ्चार जगत्, स्थानीय समुदाय, नागरिक समाज र निजी क्षेत्रीच बलियो साझेदारी आवश्यक भएको बताउनुभयो । “राहत मौज्दात, जीवन रक्षक सामग्री, न्यानो कपडा र खाद्यान्न भण्डारणमा साझेदारितालाई प्रोत्साहन गर्नुपर्छ”, उहाँले भन्नुभयो ।
गृहमन्त्री अर्यालले शीतलहर र हिमपातजस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई वैज्ञानिक र प्रभावकारी ढङ्गबाट व्यवस्थापन गर्ने उद्देश्यले पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना जारी गरिएको स्पष्ट पार्नुभयो । “सुरक्षा, जीविकोपार्जन, स्वास्थ्य सेवालगायत सूचकमा यी प्रकोपले गहिरो प्रभाव पार्ने गरेका छन्”, उहाँले भन्नुभयो, “मानव जीवन र सम्पत्तिको सुरक्षा सबैको साझा उत्तरदायित्व हो, प्राधिकरणको नेतृत्वमा जारी भएको कार्ययोजना कार्यान्वयनमा तीनै तह, गैरसरकारी संस्था, नागरिक समाजको भूमिका उत्तिकै महत्त्वपूर्ण छ ।”
प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले हिमपात र शीतलहरबाट मानवीय क्षति नहोस् भन्ने उद्देश्यले दुई कार्ययोजना ल्याएको बताउनुभयो । “सरोकारवालासँगको छलफलपछि तयार गरिएको यो कार्ययोजना मार्गदर्शन हो, यसआधारमा जिल्ला र स्थानीयस्तरमा योजना बनाउन सकिन्छ”, उहाँले भन्नुभयो । प्रमुख भट्टले शीतलहर र हिमपातबाट हुने मानवीय क्षति शून्य बनाउने जिम्मेवारी पूरा गर्नेगरी पूर्वतयारी र प्रतिकार्य गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई आग्रह गर्नुभयो ।
पूर्वतयारी र प्रतिकार्यमा प्रजिअ सक्रिय
‘भर्चुअल’ माध्यमबाट छलफलमा सहभागी प्रमुख जिल्ला अधिकारीहरूले शीतलहर र हिमपातको जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरिएको जानकारी दिनुभयो । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जिल्लामा शीतलहरबाट दुई हजार आठ सय ७७ घरपरिवार प्रत्यक्ष प्रभावित हुने पूर्वानुमान गरिएको जानकारी दिँदै प्रभावितलाई कम्बल र दाउरा वितरण गर्ने तयारी गरिएको बताउनुभयो ।
“वन क्षेत्र कम भएकाले दाउराको अभाव छ, जाडोमा ‘टायर’ बाल्ने चलन रहेछ, यसपटक टायरको विकल्प दिने छौँ”, उहाँले भन्नुभयो, “शीतलहर र बाक्लो हुस्सुका हुनसक्ने सडक दुर्घटना रोक्न विशेष अभियान सञ्चालन गर्ने छौँ ।” विगतमा शीतलहरबाट बच्नका लागि मादक पदार्थ र लागु औषध सेवन गर्ने गरेका पाइएको उल्लेख गर्दै उहाँले यस वर्ष यही मङ्सिर १५ देखि त्यसविरुद्ध पनि अभियान सञ्चालन गरिने बताउनुभयो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले शीतलहरबाट प्रभावित हुनसक्ने सङ्ख्या पहिचान गर्ने र स्थानीय कार्ययोजना निर्माणको काम थालिएको बताउनुभयो । “डिभिजन वन कार्यालयको सहयोग र स्थानीय तहको समन्वयमा प्रभावित क्षेत्रमा दाउरा वितरण गर्ने तथा राजमार्गमा सवारी दुर्घटना हुन नदिन सचेतना कार्यक्रम गर्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो ।
मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिमपातबाट जिल्लाको पर्यटन व्यवसाय प्रभावित हुने जनाउँदै पर्यटकलाई पथप्रदर्शन बिना त्यस्ता क्षेत्रमा जान नदिइने तयारी गरिएको बताउनुभयो। “मनाङको जनसङ्ख्या पाँच हजार छ सय ५८ हो, हिमपातका समयमा यहाँका स्थानीय प्रायः जिल्ला बाहिर रहने गरेका छन्, हिमपातमा फसेका पर्यटकको उद्धारलाई नै प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो ।
सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डेले जिल्लाको ७० प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने जानकारी दिँदै हिमपात पूर्वतयारी र प्रतिकार्य योजना निर्माण गरी कार्यान्वयन गर्ने तयारी गरिएको बताउनुभयो ।
हिमपातबाट २९ र शीतलहरबाट २१ जिल्ला प्रभावित हुने
सरकारले हिउँदका महिनामा हिमाली तथा उच्च पहाडी र तराई-मधेशका जिल्लामा हुने हिमपात र शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि बेग्लाबेग्लै राष्ट्रिय कार्ययोजना–२०८२ जारी गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँगको छलफल र परामर्शपछि उक्त कार्ययोजनाको मस्यौदालाई अन्तिम रूप दिएको हो ।
कार्ययोजनामा हिमपातबाट हिमाली तथा उच्च पहाडी २९ जिल्ला र हिमपातबाट तराई, मधेशका २१ जिल्ला प्रभावित हुनसक्ने औँल्याइएको छ । कार्ययोजनामा ती जिल्लामा विशेष सावधानी र हिमपात तथा शीतलहरबाट हुने सक्ने जोखिम न्यूनीकरण गर्न विशेष रणनीतिक कार्य समावेश गरिएको छ ।
सरकारले हिमपात र शीतलहरबाट हुनसक्ने सम्भावित क्षति तथा जनजीवनमा पर्ने असर न्यूनीकरण गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय कार्य योजना जारी गर्न लागेको हो । प्राधिकरणका अनुसार हिमाली तथा उच्च पहाडी जिल्लामा सामान्यतयः मङ्सिरदेखि फागुनसम्म भारी हिमपात र तराई-मधेसका जिल्लामा शितलहरको बढी प्रभाव हुने गरेको छ ।
कोशी, मधेस, गण्डकी, लुम्बनी र सुदूरपश्चिम प्रदेशका जिल्लाहरू शीतलहरबाट बढी प्रभावित हुने अनुमान गरिएको छ । कोशीका झापा, सुनसरी र मोरङ, मधेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा, गण्डकीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), लुम्बिनीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुरमा शीतलहको प्रभाव पर्ने छ ।
उदयपुर, मकवानपुर, सिन्धुली र सुर्खेतमा पनि शीतलहरको सामन्य प्रभाव पर्न सक्ने अनुमान छ । कार्ययोजना अनुसार हिमपातबाट कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र उच्च पहाडी जिल्ला बढी प्रभावित हुने अनुमान छ । कोशीको ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, तेह्रथुम, र भोजपुरको माथिल्लो क्षेत्र बढी प्रभावित हुने आँकलन गरिएको छ । यस्तै बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा र धादिङ, गण्डकीको गोरखा, मनाङ, मुस्ताङ, बागलुङ र कास्की तथा लुम्बिनीको रुकुमपूर्वमा हिमपातको प्रभाव पर्ने छ ।
कर्णालीको डोल्पा, जुम्ला, मुगु, हुम्ला र कालीकोट तथा सुदूरपश्चिमको बाजुरा, बझाङ, दार्चुला, बैतडी र डडेलधुरा जिल्ला हिमपातबाट बढी प्रभावित हुने आँकलन गरिएको छ । रासस