गुणबहादुर रोका
सुलीकोट, जेठ २९ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको केन्द्रमा रहेको माछीखोलामा प्रहरी चौकी निर्माण गरिएको छ । दिन रात नभनी जनताको सेवामा खटिने प्रहरीलाई आफ्नै बजेटमा माछीखोलामा प्रहरी चौकी भवन निर्माणमा धार्चे गाउँपालिकाले सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरी चौकी भवन निर्माणको लागि २०८० साल मङ्सिर ४ गते निर्माण कम्पनीसँग ३७ लाख ३३ हजार लागतमा सम्झौता भई २०८१ जेठ २५ गते सम्पन्न गर्नु पर्ने सम्झौता उल्लेख भएबमोजिम भवन निर्माण सम्पन्न भएको हो । त्यसै अनुरूप निर्माण कम्पनीले भवन सम्पन्न भएपछि प्रहरीको काम कारबाही चुस्त दुरुस्त बनाउन सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको छ ।
भवन १ रोपनी जग्गामा १ तलामा ५ वटा कोठा छ । त्यस भवनमा १ थुनुवा कक्ष, १ मेस, महिला प्रहरीलाई छुट्टै १ कोठा र पुरुष प्रहरीलाई १ कोठा छ । एक कोठा भने अफिसको रूपमा प्रयोग भएको छ ।
प्रहरीको आफ्नै नाममा रहेको जग्गामा गाउँपालिकाले भवन निर्माणमा सहयोग पुर्याएर महत्पूर्ण सहयोग पुगेको साथै धार्चे बासीको शान्ति सुरक्षामा कुनै कमी आउन नदिने जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख वासुदेव पाठकले बताउनुभयो । आफ्नै भवन भएपछि जनतालाई सेवा प्रवाहमा निकै सहजता भएको उहाँको भनाइ छ ।