• १२ साउन २०८१, शनिबार

विश्वका चुनौतीको विश्वव्यापी समाधान आवश्यक छ : उपराष्ट्रपति यादव

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति रामसहाय प्रसाद यादव।

काठमाडौँ, जेठ २९ गते। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पछिल्लो समय विश्वले सामना गर्दै आएका चुनौती–जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता–विशाल र जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यी चुनौतीको विश्वव्यापी समाधान आवश्यक रहेको बताउनुभएको छ।  

नेपाल खुला विश्वविद्यालय तथा मध्यपश्चिम विश्वविद्यालयको संयुक्त आयोजनामा मंगलबार ललितपुरमा ३० औँ अन्तर्राष्ट्रिय दिगो विकास अनुसन्धान सम्मेलनको समुद्घाटन गर्दै उहाँले उक्त आवश्यकता औँल्याउनुभएको हो।  

‘नवीकरणीय ऊर्जा प्रवर्द्धन, वन संरक्षण, दिगो कृषि र पर्यटनमार्फत ग्रामीण समुदायलाई सशक्तीकरण गर्ने नेपालको प्रयास वातावरणसँग सुमधुर सम्बन्ध कायम गर्ने केही महत्त्वपूर्ण उदाहरण हुन्’ उहाँले भन्नुभयो, ‘विश्व नै जलवायु परिवर्तन लगायतका समस्याको चपेटामा परेकाले एउटा देशको प्रयासले मात्र पुग्दैन। कुनै पनि राष्ट्रले विश्वव्यापी चुनौतीलाई एक्लै सम्बोधन गर्न पनि सक्दैन। त्यसैले विश्वका चुनौतीको विश्वव्यापी समाधान आवश्यक छ।’

उपराष्ट्रपति यादवले यो सम्मेलन विश्वव्यापी सहयोगको भावना अभिवृद्धि गर्दै सुनौलो र दिगो भविष्य निर्माणका लागि साझा प्रतिबद्धताका साथ अघि बढ्न उत्प्रेरित गर्नसक्ने विश्वास व्यक्त गर्नुभयो। ‘नेपालको समृद्ध संस्कृति र प्राकृतिक वैभव स्थलमा भइरहेको यो जमघटले मानव सभ्यता र प्रकृतिबिचको सन्तुलन कायम गर्ने साझा सूत्र पत्ता लगाउन सक्नुपर्दछ’, उहाँले भन्नुभयो, ‘दिगो विकासप्रति हाम्रो प्रतिबद्धता छँदै छ, सिङ्गो पृथ्वीको संरक्षण गर्दै भावी पुस्ताको भविष्य सुरक्षित राख्न पनि हामी कटिबद्ध छौँ।’ 

उपराष्ट्रपति यादवले पछिल्लो समय विश्वले सामना गर्दै आएका चुनौती– जलवायु परिवर्तन, वातावरणीय ह्रास, सामाजिक असमानता र आर्थिक अस्थिरता–विशाल र जटिल रहेको उल्लेख गर्दै भन्नुभयो, ‘यद्यपि, यी चुनौतीहरू भित्र समाज र अर्थतन्त्रलाई समान र दिगो रूपमा रूपान्तरण गर्ने महत्त्वपूर्ण अवसर पनि रहेका छन्।’

उहाँले विभिन्न अनुसन्धान पृष्ठभूमि सहितका विज्ञ यो सम्मेलनमा आ–आफ्ना ज्ञान, रणनीति र अनुसन्धान साझा गर्न भेला भएको जानकारी पाएर आफूलाई खुसी लागेको बताउनुभयो। 

‘म तपाईँ प्रत्येकलाई सक्रिय रूपमा छलफलमा संलग्न हुन, आफ्ना वैज्ञानिक तथ्य साझा गर्न र नवीन समाधान प्रस्तुत गर्न आग्रह गर्दछु’, उहाँले भन्नुभयो, ‘परम्परागत ज्ञान प्रणालीको महत्त्व, नवीकरणीय ऊर्जाको भूमिका, संरक्षण प्रयासको आवश्यकता र दिगोपनलाई सम्बोधन गर्न अत्याधुनिक प्रविधिलाई पनि आत्मसात् गर्दै अगाडि बढ्न आवश्यक छ।’ 

उहाँले नेपाल दिगो विकास क्षेत्रको समस्याको समाधान र सहयोगको पक्षमा रहेकोसमेत बताउनुभयो।