• १२ साउन २०८१, शनिबार

सडक कालोपत्रे भएपछि कृषक उत्साहित

blog

कालोपत्रे गरिएको सडक र ताजा तरकारी उत्पादनको पकेट क्षेत्र सल्यान गाउँ । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य  
म्याग्दी, जेठ २९ गते । 
सडक कालोपत्रे भएसँगै बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका-७ धाइरिङका युवा कृषक टेकनारायण आचार्यलाई ताजा तरकारी बेनी बजार पुर्‍याउन सहज भएको छ ।

घर माथिको सडक कालोपत्रे भएर नियमित रूपमा सवारीसाधन गुड्न थालेपछि आचार्यलाई खेतबारीमा उत्पादन भएको तरकारी बेनी पुर्‍याउन सहज भएको हो । आचार्यका साथै यहाँ व्यावसायिक ताजा तरकारी खेती गर्दै आएका करिब एकसय घरधुरीलाई सडक कालोपत्रे भएपछि तरकारी बजार पुर्‍याउन कालोपत्रे सडक वरदान साबित भएको छ । 

कृषक आचार्यले भन्नुभयो, ‘‘सडक कालोपत्रे भएसँगै गाउँको मुहार फेरिएको छ । ताजा तरकारी ढुवानीमा सहज भएको छ । कृषकहरू उत्साहित भएका छन् ।’’

बेनी–मालढुङ्गा सडक खण्डमा पर्ने मिलनचोकदेखि सल्यान–गुन्टेखेत–घायेखेत–धरापानी ठोटनेरी जोड्ने सडकको ट्रयाक खुलेको १५ वर्षपछि सडक स्तरोन्नतिसहित मिलनचोकदेखि सल्यानसम्म कालोपत्रे भएपछि यहाँका कृषकले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहज भएको हो । कृषि उत्पादन बजार पुर्‍याउन छिटो र भाडादर पनि सुलभ भएपछि कृषकहरू खुसी भएका छन् ।


सडक कालोपत्रेसँगै कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ कृषक आचार्यले भन्नुभयो, ‘‘सडक कालोपत्रे भएपछि कृषि उत्पादन बजार पुर्‍याउन निकै सहज भएको छ । बेनीका व्यवसायीहरू गाडी लिएर गाउँ आउन थालेका छन् । उत्पादित कृषि उपज खेतबारीबाट नै बिक्री भएको छ । हाम्रा लागि कालोपत्रे सडक वरदान साबित भएको छ ।’’

कच्चीसडकमा बर्खामा हिलो र हिउँदमा धुलो उडाउँदै गाडी हिँड्थे अहिले सडक कालोपत्रे भएसँगै हिलो र धुलोबाट सल्यानका स्थानीयहरूले मुक्ति पाएका छन् । यातायात सहज भएसँगै कृषि उत्पादनमा पनि वृद्धि भएको छ । पहिलो चरणमा मिलनचोक देखि सल्यानसम्म करिब ४ किलोमिटर सडक फराकिलो, नाली निर्माण र कालोपत्रे भएपछि गाउँमा रौनक छाएको छ । सडक कालोपत्रेसँगै स्थानीयको दैनिकी समेत सहज भएको कृषक एकनारायण पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सडक कालोपत्रे नहुँदा धेरै सास्ती भोग्नुपर्‍यो । उत्पादित ताजा तरकारी बजार लैजान समस्या थियो । अहिले सडक सहज भएसँगै दिनमा दुईपटक सम्म बेनीबाट तरकारी लिन गाडीहरू आउने गर्दछन् । तरकारी बोकेर बजार जानुपर्ने अवस्थाको अन्त्य भएको छ । यसले किसानको समय र पैसाको पनि बचत भएको छ ।’’

यो सडक खुलेको डेढदशकपछि सडक स्तरोन्नतिसँगै कालोपत्रे भएपछि गाउँलेको जनजीवन फेरिएको जलजला गाउँपालिका ७ का वडाध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो । सडक कच्ची हुँदा कृषि उत्पादनको बजारीकरणमा निकै समस्या हुने गरेको थियो उहाँले भन्नुभयो, ‘‘सडक कालोपत्रेसँगै कृषि उत्पादनले बजार पाएको छ । सुलभ भाडादरमा कृषि उपज बजारमा पुगेको छ । तरकारी खरिद गर्न दिनमै दुईतिनपटक गाडीहरू आउन थालेपछि कृषकहरू उत्साहित छन् । गाउँबाट तरकारी बिक्री हुनथालेपछि किसानको समयको पनि बचत भएको छ ।’’

सडक कालोपत्रे भएपछि तरकारी लगेर बजार जानआउन पनि चाँडो भएको कृषक झलक पौडेलले बताउनुभयो । पहिले तरकारी लगेर बेनी पुग्न करिब एक घण्टा लाग्थ्यो अहिले १५ मिनेटमै पुग्न सकिने भएको उहाँले बताउनुभयो ।

पहिलो चरणमा मिलनचोकदेखि सल्यानसम्मको ३ दशमलव ५ किलोमिटर दूरीको सडक कालोपत्रे गरिएको छ । सल्यानको ठुलो पहिरोभन्दा माथिदेखि घाखेत–ठाट्नेरी तर्फको सडकखण्डमा स्तरोन्नतिको काम भइरहेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

मिलनचोकदेखि ठोड्नेरी जोड्ने १० किलोमिटर दूरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न २०७६ मङ्सिर ६ गते २८ करोड १३ लाख रुपियाँमा हिमदुङ एन्ड थोकर प्रा.लीले ठेक्का सम्झौता गरेको थियो ।  गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय मार्फत सञ्चालित यो सडक २०७८ मङ्सिर ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । दुईवर्ष ढिला गरी सडक कालोपत्रे हुनथालेको हो । 

योजनाअन्तर्गत ५ मिटर २५ सेन्टिमिटर चौडाइमा डिबिएसटी कालोपत्रे गरिएको छ । सडक कालोपत्रेसँगै ताजा तरकारी खेतीको पकेट क्षेत्रका रूपमा रहेको धाइरिङका किसानहरूले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने वडाध्यक्ष आचार्यले बताउनुभयो ।