रेखीराम राना
तानसेन, जेठ २९ गते । पाल्पामा डुबेर एक जना भारतीय युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत महाराजगन्ज बोधनियथाना बसहिया बस्ने २३ वर्षका मुकुन्द शर्मा रहेको प्रहरीले जनाएको छ ।
नेपाल घुम्न आएका भारतीय नागरिकको पाल्पा तिनाउ–३, स्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर सोमबार साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।
तीन जना साथीसँगै पौडी खेल्ने क्रममा डुबेका शर्मालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको थियो । अस्पतालमा पुर्याएपछि चिकित्सकले शर्माको मृत्यु भएको घोषणा गरेको श्रेष्ठले बताउनुभयो ।
यसअघि जेठ २६ र २७ गते पनि तिनाउ नदीमा डुबेर भारतीय नागरिकको मृत्यु भएको थियो । उक्त क्षेत्र डुबेर मृत्यु हुने अत्यधिक सम्भावित स्थान भएपनि मानिसले अटेर गरेर पौडी खेल्न जाने गरेको प्रहरीले जनाएको छ । यो वर्ष तिनाउ क्षेत्रमा डुबेर सात जनाको मृत्यु भइसकेको छ ।