• ३२ जेठ २०८१, शुक्रबार

देशप्रेमका विलक्षण आदर्शवादी कवि

blog

पं. दीपनारायण मिश्र (२ मार्च १९३५–९ मे २०१९) नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा भीष्मपितामहका रूपमा चिनिने र भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका लागि अहोरात्र सकारात्मक भूमिका निर्वाह गर्ने आदर्शवादी कवि हुन् । ‘अजामिल’ (खण्डकाव्य, २०१५) नमक कृतिका साथ नेपालीय भोजपुरी साहित्य जगत्मा प्रवेश गरेका मिश्रका अँजुरी के फूल (२०३९), फूलझरी (२०४६), दोहा नीति सार (२०४९), ए घरी के घरनी (२०६०), असली नेता हम कहाईं (२०६०) र ससुरार (२०७०) नामक काव्यकृतिहरू प्रकाशित छन् । यसका साथै यिनका हिन्दी र भोजपुरीमा एक एक गरी दुई वटा कथा सङ्‍ग्रहहरू उत्सर्ग (२०४८) र करनी भरनी (?) का साथै फुटकर आलेख, कविता र दोहाहरूसमेत प्रकाशित छन् । नेपालीय आधुनिक भोजपुरी साहित्य जगत्मा नौ वटा कृति दिएका मिश्रमा भोजपुरी रचना परिचय, नेपाल में भोजपुरी (निबन्ध), कहल कहावत (भोजपुरी लोको‍क्ति सङ्ग्रह), नेपाल के महापुर (जीवनी), महात्मा बुद्ध (जीवनी), अउर भाषा के पांत में भोजपुरी, नेपाल के भोजपुरी साहित्यकार र ईश वन्दना (संस्कृत पद्य) आदि कृतिहरू प्रकाशनको बाटो कुरिरहेका छन् । आफ्ना यी प्रकाशित कृतिहरूको आधारमा यिनी मूलतः कवि नै देखिन्छन् । यिनका कथा वा कविता जुन विधाका रचनामा, सामाजिक परिवेशको जीवन्त चित्रण भेटिनुका साथै समाजबाट हराउँदै गएको प्रेम, त्याग, तपस्या, भाइचारा, देशप्रेम आदिप्रति गहिरो चिन्ता भेटिन्छ । साथै यिनी आफ्ना अधिकांश रचनाका माध्यमबाट समाजमा आदर्शवादको स्थापना गर्नका लागि सन्देश दिइराखेका भेटिन्छन् । यसै सन्दर्भमा यिनको देशप्रेमकेन्द्रित राष्ट्रिय भावभूमिमा लेखिकएका कविताहरूको मात्र विश्‍लेषण गरिएको छ ।  

पण्डित मिश्रका कवितामा प्रयुक्‍त देशप्रेम

पण्डित दीपनारायण मिश्रको काव्य सिर्जनयात्रा विसं २००९, वीरगन्जमा ठाकुरराम कलेज (हाल ठाकुरराम बहुमुखी क्याम्पस) को स्थापना, त्यसमा हिन्दी विषयको प्राध्यापन गर्नका लागि भारतबाट रामदेव द्विवेदी ‘अलमस्त’ को आगमन र उनको पहलमा वीरगन्जमा हिन्दी र भोजपुरी कवि सम्मेलनको आरम्भ भएपछि सिर्जित साहित्यिक वातावरणबाट भएको देखिन्छ । ‘अलमस्त’ का काव्यप्रतिभाबाट प्रभावित भएर काव्य सिर्जन गर्न थालेको बताउनु स्वीकार गर्नुहुने कवि मिश्र (आपन कहनाम, सनेस; २०४६; क) को साहित्यिक यात्रा उनको जीवनको अन्तिम पहरसम्म चलेको पाइन्छ । जातिगत तथा शैक्षिक संस्कारले पनि होला, पं. मिश्रको काव्य सिर्जको मुख्य उद्देश्य समाजमा आदर्शवादको पुनस्र्थापना थियो । यद्यपि उनको समय आलोचनात्मक यथार्थवादको सीमामा हिँडिरहेको देखिन्छ । नेपाली र हिन्दी साहित्यमा यथार्थवाद, प्रगतिवादको बोलबाला चलिरहेको अवस्थामा पं. मिश्रका आदर्शवादी भावभूमिमा लेखिएका कविताको सान्दर्भिकता के कति थियो वा छ, यसबारे चर्चा परिचर्चा चलिरहन्छ । तर उनले नेपालमा भोजपुरी भाषा र साहित्यको संरक्षण तथा संवर्धनका निम्त गरेका कार्यहरू स्तुत्य छन् । साहित्यको विधागत कसीमा कस्दा पं. मिश्र कहाँ पुग्छन् वा उनको साहित्य सिर्जनाले के कस्तो प्रभाव पार्दछ भन्ने तर्क आफ्नो ठाउँमा होला तर उनले नेपालीय भोजपुरी साहित्यका लागि जे जति कार्य गरेका छन् । त्यसलाई इमानदारिताको कसीमा कसेर भन्ने हो भने उनी नेपालीय भोजपुरी साहित्यका एक सच्चा सपुत हुने कुरामा कुनै दुविधा छैन । त्यसैले उनलाई आदरपूर्वक दिएको पगरी ‘भीष्मपितामह’ उपयुक्‍त लाग्छ । 

कवि मिश्रको मन मस्तिष्कमा देशप्रेम चुर्लुम्म डुबेको पाइन्छ । यसको प्रमाण उनका देशप्रेमको भावभूमिमा उभेर लेखिएका कविताहरू हुन् । उनले आफ्नो एक काव्यकृति ‘अँजुरी के फूल’ लाई ‘नेपाल राष्ट्रिय भोजपुरी कविता सङ्कलन’ नै उद्‍घोष गरेर प्रकाशित गराएको देखिन्छ । विसं २०३९ मा भोजपुरी पुस्तक माला, रेशमकोठी, वीरगन्जले प्रकाशमा ल्याएको यस काव्यकृतिमा ‘नेपाल माई’, ‘जगत में सुनर आपन देश’, ‘हिमाल’, ‘नया वर्ष के शुभकामना’, ‘विनय’, मन हो अबहुँ अँखिया खोल’, ‘बुरा एकरा से का होला’, ‘पहिचान’, ‘के हमनी के राह देखाई’, ‘विधि के प्रपंच’, ‘मन के लालसा’, ‘शान्ति के सन्देश’, ‘राम राज’, ‘सच्चा सपुत’, ‘देशवासी से निहोरा’, ‘मानवता अब काँप रहल बा’, ‘कर्मवीर’, ‘विकास गीत’, ‘किसान भाई’ ‘प्रकृति के प्रिय–पात्र’, ‘देश में नयाँ जीवन लहरा दीं’, ‘बनऽ तु सच्चा वीर जवान’, ‘ना मालुम आगे का होई’, ‘राजमुकुट’, ‘राष्ट्रिय पर्व पुस १४ गते’, ‘पुष्पाञ्जली’, ‘विकास प्रेमी श्री ५ वीरेन्द्र’, उदार–राजमाता–ऐश्वर्यराजलक्ष्मी’, ‘प्रजावत्सल श्री ५ वीरेन्द्र’ ‘स्व. श्री ५ महेन्द्रप्रति’, ‘राष्ट्रिय पर्व’, श्री ५ त्रिभुवनप्रति’, ‘धरती के सरग बना देहलन’, ‘इ राष्ट्रिय पर्व महान’, ‘श्री पृथ्वीनारायण शाह देव’, ‘भानुभक्त’, ‘सीता मइया’, ‘भगवान् गौतम बुद्ध र ‘वीर बलभद्र थापा’ शीर्षकका उनन्चालिस वटा कविता सङ्कलित छन् ।

कवि ‘मिश्र’ पद्यकवि हुन् र यिनी छन्द वा लयमा कविता लेख्‍ने गरेको देखिन्छ । यिनका धेरै जसो कविता लयात्मक छन् र यिनका कविताको विषय धार्मिक चेतना, संस्कृतिप्रति प्रेम तथा देश–नरेशप्रति श्रद्धा भक्ति रहेको पाइन्छ । यहाँनिर कवि ‘मिश्र’ का देशप्रेमको भावभूमिमा लेखिएमा कविताहरूको सङ्‍क्षिप्त विश्लेषण यस प्रकार गरिएको छः

नेपाल माई यस काव्यग्रन्थको पहिलो कविता हो । ‘नेपाल माई’ अर्थात् ‘नेपाल आमा’ शीर्षक कविता तेह्र वटा बन्ध रहेका छन् । पहिलो बन्धमा नेपालको परिचय दिइएको छ, जसमा ‘नेपाल’ दुनियाँ चिरपरिचत देशको रूपमा, यसको तीनतिर भारत रहेको भन्दै यो हिमालको काखमा रहेको एउटा सुन्दर देश हो भनी गान गाइएको छः

हिमाल के गोद में बसल देश हमनी के 

जगवा में जाहिर नेपाल,

तीन ओर भारत के भूमि से जुड़ल देश

उत्तर में पुरहर हिमाल ।। (पृ.१)

यस कवितामा नेपालको मनोरम प्रकृति, वन, माछापुच्छ«े, मकालु, कञ्चनजङ्‍घा, मनासुलु, सगरमाथा, गणेश हिमाल, धवलागिरि, गौरीशङ्‍कर, अन्नपूर्णा चोटी, कोशी, बागमती, सेती, कर्णाली, गण्डकी, महाकाली आदिबारे सुन्दर चर्चा गरिएको छ । यति मात्र होइन, यस कवितामा कवि ‘मिश्र’ ले नेपालमा जन्मेर विश्वप्रसिद्ध भएका ऋषिमुनि तथा देशका निम्ति सहादत दिएका वीर सपुतहरूको समेत जीवन्त चित्रण गरेका छन् । कवि ‘मिश्र’ लेख्‍छन्ः

शुव्रmराज दशरथ थिरबम धर्मभक्त

कैयन अउर गङ्गालाल

देश लेल प्राण देके अमर सहिद भइले

माताजी के कइले ऊ निहाल

कालु आ दामोदर पाण्डे अमरसिंह कुलवीर

कइले रहले रण में कमाल

देशवा के रक्षा हेत एतना सजग रहले

नाही दुस्मन के चाल (पृ. २)

जगत में सुनर आपन देश शीर्षकको यस कविताले ‘अँजुरी के फूल’ मा दोस्रो कविताको रूपमा रहने श्रेय पाएको छ । शीर्षकले नै प्रस्तुत कविताको विषयवस्तु उजागर गर्दछ । ‘जगत् में सुनर आपन देश’ अर्थात् जगत्मा सुन्दर मेरो देश’ । 

भन्न आवश्यक छैन, यस कवितामा कविले आफ्नो देश ‘नेपाल’ को गरिमा गान गाएका छन् । पाँच छन्छमा विस्तृत प्रस्तुत कवितामा कविले बडो जीवन्ततापूर्वक नेपालको चित्र खिँचेका छन्ः


मइया के शिर मुकुट हिमालय पर्वतराज सोहावे

गण्डकी  कोशी पाँव पखारे,  चमरी  चँवर डोलावे

रछेंया  करसु  सदा एकरा के पाशपतनाथ महेश

जगत में सुनर आपन देश

एहि ठाँव से दया प्रेम के, जोति फइलल जग में

हिंसक भाव मेंठल दुनिया से शान्ति आइल सभ में 

मानव  मानवता  के समझल दुःख के ना लव लेश

जगत में सुनर आपन देश (पृ. ३)

हिमाल शीर्षक गीतिकाव्यमा कवि मिश्रले बडो सुन्दरतापूर्वक नेपालको शिर, गर्वसाथ हिमालयको रूप सौन्दर्य रेखाङ्‍कित गरेका छन् । यिनले नेपाललाई आर्यजाति र ऋषिमुनिहरूको देश भन्दै गरिमागान गाएका छन्ः

सुनर बड़ हमनी के हिमाल ।

हिम मंडित चोटी सभ बड़हन, थामस सउँस आकाश

गिरि गरिमा विश्व में फइलल, चाननि लखि लाजास

इहे अर्पण अर्पित कइली शिवजी के गले माल

सोहेला कइसन शिषर विशाल

आर्य जाति के गौरवगाथा निश सिन इहाँ सुनाला

दुनियाभरि के वीर बाँकुरा के मस्तक झुक जाला

चम चम चमकत उत्तर दिशा में रक्षक हमर हिमाल (पृ.४)

कवि ‘मिश्र’ को मन र मस्तिष्क देशप्रेमको भावनाले भरिभराउ देखिन्छ । उनको रगरगमा देशप्रेम दौडिरहेको पाइन्छ । उनले एक होइन कैयौँ कवितामा देशप्रेम व्यक्‍त गरेका छन् । कवि ‘मिश्र’ ले आफ्‍नो ‘विनय’ शीर्षक कवितामा माता गुह्येश्वरी र पशुपतिनाथसँग  आफ्नो देश नेपालको नाम चलाउन र गरिमा बढाउनका लागि वरदान माग्दै अनुनय विनय गर्छन्ः


हे  गुह्येश्वरी  मातु,  पशुपतिनाथ  सदा  तहरे गुन गाईं

बालक जानि के दीं वरदान कि आपन देश के नाम चलाईं

शास्त्र पढी हम ज्ञानी बनि अरू देश में ज्ञान के ज्योत जलाई

बुद्धि  विवेक  रहे  मन  में बल में ना कबो केहू से पछुआईं  (पृ. ७)

कवि ‘मिश्र’ ले ‘शान्ति के सन्देश’ नामक कविताका माध्यमले देशको कुना कप्चामा शान्तिको सन्देश छर्न चाहन्छ, सत्य जीवनको पाठ पढाउन चाहन्छ । सारा नेपालीलाई शोक र रोगरहित देख्‍न चाहन्छ । हेरौँः

गौतम के सन्देश सुनाईं हम नेपाली सभ के

पंचशील के राह बताईं शान्ति के पथ चल के

सत जीवन के पाठ पढ़ाईं फूल नेह के गमके

मिटे कुहासा गर द्वेषक अमन चाँद नभ चमके (पृ. १४)

कवि ‘मिश्र’ ले ‘देशवासी से निहोरा’ आफ्ना कविताका माध्यमबाट देशवासीहरूसँग आफ्नो देशको नाम चम्काउन, चलाउन तथा देशको संस्कृति, सभ्यता तथा धार्मिक चेतना आदि विश्वमा फैलाउन र नैतिक बललाई आफ्‍नो शक्ति र मानव सेवालाई आफ्‍नो भक्ति मान्नका निम्ति प्रार्थना गर्दछन्ः

नेपाली के नाँव चलइह

कृते संस्कृति तोहर हिन्दू धरम देश के मोहर

जग में एकरा के फइला के आपन जीवन सफल बनइह

नैतिक बल बा तोहर शक्ति मानव सेवा तोहर भक्ति

परमारथ के पथ अपना के सभ के बढिया राह देखइह

भृकुटी सीता के सन्तान जे देहलस दुनिया के ग्यान

लग में उनकर जोति जगाके सदा देश के जय जय गइह (पृ. १७)

आफ्ना देशवासीहरूसँग देशको नाम अगाडि बढाउनका निम्ति प्रार्थना गर्ने कविले देशमा आएको प्रजातन्त्रको खुसियाली नमनाउनु, यो कहाँ सम्भव छ र ? कवि ‘मिश्र’ ले फागुन सातलाई राष्ट्रिय पर्वका रूपमा मान्दै आनन्दित मनले यो पर्व मनाउन प्रार्थना गर्छन्ः


आईं ! हमनी पर्व मनाईं फागुन सात गते के

इहे दिन ह जहिया हमनी प्रजातन्त्र के पवनी

जन जीवन के सुन्दर सपना के साकार बनवनी

मिटल कुहासा ज्योति फइलल आशा भी लहराइल

एक समान सभ के उन्नति के अवसर इहवाँ आइल 

सभनी मिली के करीं प्रतिज्ञा देश विकास करे के (पृ.३५)


यसरी देशप्रेमको भावना हराइरहेको र मानवता नै काँपिरहेको देखेर कवि ‘मिश्र’ धेरै चिन्तित हुन्छन् । उनले मानवता अब काँप रहल बा शीर्षक कविताको माध्यमबाट आफ्नो चिन्ता यसरी व्यक्‍त गर्दछन् ।

दया, प्रेम, शान्ति  के  जगहा  खुनी  पंजा  नाच रहल बा

त्याग, तपस्या, शील, साधुता, दुनिया से अब भाग रहल बा 

निच कुकर्मी दुर्जन जन के भाग्य सितारा चमक रहल बा

दगाबाज  चोर  हत्यारा  धन  वैभव  से गमक रहल बा

भेष  भुसा  आ  खान पान में सगरे उलटा भाव भरल बा

ही  राह  चले  जे  चाहे  ओकर  बुद्धू  नाँव  परल  बा

रातो  दिन  जे  करे कमाई लुगा अन्न बिनु तरस रहल बा

कार  करे  कुछो  ना  कबहुँ  तबो  चमचा  चमक रहल बा (पृ. १८)


कतै देशप्रेमको गङ्गा बहाउने, कतै देश र देशका गर्व हिमालय, सगरमाथा, गौतम बुद्ध, भृकुटी, सीताको गुण गाउने, कतै मानवता हराएकोमा टाउको दुःखाइ मान्ने र कतै रातदिन श्रम गर्नेहरू भोकभोकै बस्ने र चमचाहरू रजाइँ गर्ने प्रवृत्ति बढेको देखेर रुने कवि ‘मिश्र’ देशका लागि विकास गीत गाउन सन्देश दिन्छन् । उनी आफ्नो ‘विकास गीत’ मा यसरी प्रखर भएका देखिन्छन् ः

आईं  आजु  देश  के  जगाईं  जा सजाईं जा ।

नहर बान्ह पइन ठाँव ठाँव में बनाईँ जा

पोढ़  बिज बोईं सभे खाद के मिलाईं के

उपज बढ़ा के देश से गरिबी के मिटाईं जा

आईं  आजु  देश  के  जगाईं  जा सजाईं जा । (पृ. २१)

देशभक्तहरू आज पहिचानहीन जीवन बाँच्न बाध्य देखिन्छन् । देशका यस्ता कैयौँ पुत्रहरूबारे आम नेपालीलाई थाहा छ, जसले विदेशको पैसो खाएर आफ्नो देश नाश गरिराखेका छन् । कवि ‘मिश्र’ ले आफ्ना यी दोहाहरूमा देशका यस्ता कुपुत्रहरूबारे आव्रmोश पोखेका छन्ः

पइसा खाय विदेश के, करे देश के नाश,

धाम  जमावस भोट के, नेता उहे कहास ।


देश के टुकड़ा जे कइल, धन जन के संहार,

उहे  दोसरा  देश  में,  पावे  बड़का प्यार ।   

(दोहा नीति सार, पृ.सं. ३६)

यसरी कवि ‘मिश्र’ ले आफ्ना कवितामा देशप्रेम र राष्ट्रितालाई विषयवस्तु बनाएका छन् भने कतिपय कवितामा समाज र देशबाट हराइरहेको मानवता, देशप्रेम आदिप्रति चिन्ता व्यक्‍त गरेका छन् । दीन दुःखी र परिश्रमीहरूको दशाप्रति चिन्तित हुने गरेका कवि ‘मिश्र’ ले आफ्ना अधिकांश कवितामा राष्ट्रियता र देशप्रेमलाई जीवन्त तरिकाबाट रेखाङ्‍कित गरेको पाइन्छ ।

निष्कर्ष

कवि पं. दीपनारायण मिश्र समकालीन कवि रामदेव द्विवेदी ‘अलमस्त’ बाट प्रेरित भए पनि उनको प्रवृत्तिबाट अलिक फरक प्रवृत्तिमा रमाउने र समाजमा आदर्शवादलाई स्थापना गर्न रुचाउने कवि हुन् । यिनी समग्र रूपमा घर, परिवार, समाज र देशमा भाइचारा, स्नेह, प्रेम, आदर्श, त्याग, तपस्या हेर्न चाहने र आदर्शवादको बाटोमा जीवन व्यतीत गर्न रुचाउने कवि हुन् । त्यसैले यिनका अधिकांश कवितामा देशप्रेम, भाइचाराको भावना गुम्फित पाइन्छ । प्रत्येक मानिसमा देशप्रेम हुनु पर्छ भन्ने निष्कर्ष यिनका कविताबाट निकाल्न सकिन्छ । 

 पोखरिया नगरपालिका, पर्सा

हाल : परवानीपुर, बारा