• ७ साउन २०८१, सोमबार

थुप्रिँदै विदेशी मुद्रा, दस महिनामै थपियो चार खर्ब

blog

काठमाडौँ, जेठ २९ गते । कुनै समय छ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । सञ्चिति खस्किएर टाट पल्टिएको श्रीलङ्कासँग तुलना हुने गरेको अवस्थाबाट नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा पुगेको राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदनले देखाएको छ । 

प्रतिवेदनका अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा नियमित रूपमै थुप्रिन थालेको छ । चालु आवको वैशाखसम्मको तथ्याङ्क समेटेको उक्त प्रतिवेदनले समीक्षा महिनासम्म मुलुकसँग १९ खर्ब ४२ अर्ब ४० करोड रुपियाँ अर्थात्  १४ अर्ब ५४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । यस्तो सञ्चितिमध्ये २२.१ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ भने बाँकी अमेरिकी डलर रहेको छ । 

चालु आव १० महिनामै मुलुकसँग चार खर्ब रुपियाँभन्दा बढी विदेशी मुद्रा थपिएको प्रतिवेदनमा उल्लेख छ । २०८० असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँ विदेशी मुद्रा रहेको पछिल्ला १० महिनामा २६.२ प्रतिशतले सञ्चिति बढेको हो । 

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग मात्रै १७ खर्ब २२ अर्ब दुई करोड रुपियाँ रहेको छ भने राष्ट्र बैङ्कबाहेकका बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ९३ अर्ब ५९ करोड रुपियाँ विदेशी मुद्रा सञ्चित छ । सञ्चित कुल विदेशी मुद्राबाट अहिलेको औसतमा १२ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कको अनुमान छ । त्यस्तै उक्त सञ्चितिले १५ महिना तीन दिनको वस्तु आयात धान्न पुग्ने प्रतिवेदनमा उल्लेख छ । 

घट्दो आयात र बढ्दो विप्रेषणका कारण पछिल्लो समय विदेशी मुद्रा थुप्रिँदै गएको देखिन्छ । राष्ट्र बैङ्कका अनुसार वैशाखसम्म मुलुक भित्रिने विप्रेषण १९.२ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपियाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो आप्रवाह २३.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । 

समीक्षा अवधिसम्म आयात विगतको तुलनामा २.४ प्रतिशतले घटेर १३ खर्ब तीन अर्ब रुपियाँ पुगेको छ । त्यस्तै निर्यात पनि ३.६ प्रतिशतले घटेर एक खर्ब २६ अर्ब रुपियाँ कायम भएको छ । बाह्य अर्थतन्त्रमा देखिएको सुधारले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम अर्थात् शोधनान्तर स्थिति पनि मजबुत अवस्थामा देखिन्छ । राष्ट्र बैङ्कका अनुसार २०८१ वैशाखसम्म तीन खर्ब ९२ अर्ब रुपियाँले शोधनान्तर स्थिति बचतमा छ । त्यस्तै आयात निर्यातसहित कारोबार समेटिने चालु खाता पनि बचतमा रहेको प्रतिवेदनले देखाउँछ । तथ्याङ्क अनुसार वैशाखसम्म एक खर्ब ९३ अर्ब रुपियाँले मुलुकको चालु खाता बचतमा छ । 

मूल्यवृद्धि ४.४ प्रतिशत मात्रै 

वैशाखमा मूल्यवृद्धिदर विगतको तुलनामा कम तहले मात्र बढेको राष्ट्र बैङ्कले जनाएको छ । उक्त महिना उपभोक्ता मूल्यवृद्धि ४.४० प्रतिशत मात्र रहेको उल्लेख छ । जब कि गत वर्ष वैशाखमा यस्तो दर ७.४१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थको मूल्यवृद्धि ६.२७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मूल्यवृद्धि २.९६ प्रतिशत मात्रै रहेको छ । 

भौगोलिक रूपमा हिमालको मूल्यवृद्धि सबैभन्दा कम अर्थात् ४.२२ प्रतिशत रहेको छ । त्यसपछि काठमाडौँ उपत्यकामा ४.३० प्रतिशत तराईमा ४.३२ प्रतिशत र पहाडमा ४.७० प्रतिशतको मूल्यवृद्धि रहेको केन्द्रीय बैङ्कले जनाएको छ ।