• १३ साउन २०८१, आइतबार

राष्ट्रिय वाणिज्य बैङ्कबाट स्टार्टअप उद्यम कर्जा

blog

काठमाडौँ, जेठ २९ गते । स्टार्टअप उद्यम कर्जाका लागि सिफारिस गरिएका परियोजनालाई कर्जा लिनका लागि राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि सिफारिसमा परेका १८३ वटा परियोजनालाई कर्जा लिनका लागि सम्बन्धित जिल्लाको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालय तोकिएको हो ।

प्रतिष्ठानले सिफारिसमा परेका परियोजनामा प्रस्तावकहरूलाई व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान, भ्याट दर्ताको सङ्कलन प्रमाण नागरिकताको सक्कल प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोट साइजको तीन प्रति फोटो र फर्म वा कम्पनीको छापसहित तोकिएको बैङ्कको शाखा कार्यालयमा उपस्थित हुन सूचना प्रकाशित गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम अन्तर्गत उद्यम कर्जा प्रवाह गर्न १८३ वटा परियोजनाको प्रस्ताव छनोट गरेको छ । छनोटमा परेका परियोजनाले तीन प्रतिशत ब्याजमा पाँचदेखि २० लाख रुपियाँसम्म कर्जा प्राप्त गर्ने छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०’ मार्फत एक जनालाई तीन प्रतिशत ब्याजमा अधिकतम २५ लाख रुपियाँसम्म कर्जा प्रवाह गर्न सक्ने व्यवस्था गरेको छ ।

 बैङ्कले कर्जा प्रवाह गर्दा बढीमा पाँच लाखसम्मको कर्जाको हकमा एक किस्ता, १५ लाखसम्मको कर्जा दुई किस्ता र त्यसभन्दा माथिको कर्जा तीन किस्तामा प्रवाह गर्ने कार्यविधिमा उल्लेख छ । कर्जाको सुरक्षणका लागि प्रतिष्ठानले प्रवाहित कर्जाको २५ प्रतिशत रकम स्वीकृत बजेटको सीमाभित्र रही स्टार्टअप उद्यम कर्जा सुरक्षण कोषमा राख्नुपर्ने व्यवस्था रहेको छ । योग्य प्रस्तावकको सूचीमा परेको ३९४ वटा परियोजना प्रस्तावमध्ये सबै प्रक्रिया पूरा गरी १८३ वटा परियोजनाको प्रस्ताव उद्यम कर्जाका लागि छनोटमा परेको हो ।

प्रतिष्ठानका अनुसार स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका थिए । यसमध्ये मूल्याङ्कन समितिले सबै प्रक्रिया पुगेका ३९४ परियोजनालाई छनोट गरेको हो । यसमध्ये पनि सबै प्रक्रिया पूरा गरी मूल्याङ्कनका आधारमा सर्ट लिस्ट गर्दा १८३ वटा परियोजना प्रस्ताव कर्जाका लागि योग्य भई सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ ।

कर्जाका लागि छनोट भएका परियोजना प्रस्तावकलाई आगामी असार २३ गतेसम्म सम्बन्धित राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा सम्पर्क गर्न प्रतिष्ठानले सूचना जारी गरेको छ । उक्त अवधिमा सम्पर्क नगरेको अवस्थामा परियोजनाको प्रस्ताव स्वतः खारेज हुने व्यवस्था गरिएको छ ।

बैङ्कमा सम्पर्क गर्नका लागि व्यवसाय दर्ता र नवीकरणको सक्कल प्रमाणपत्र, प्यान भ्याट दर्ताको सक्कल प्रमाणपत्र, नागरिकताको सक्कल प्रमाणपत्र, आर्थिक वर्ष २०७९/८० को कर चुक्ताको प्रमाणपत्र, आधिकारिक व्यक्तिको पासपोर्ट साइजको तीनप्रति फोटो र फर्म वा कम्पनीको छापसहित उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ । उद्यम कर्जाका लागि कृषि, हाते कागज, बेकरी, फुटवेयर, डेरी, ड्राई क्लिनर्स, टेक्नोलोजी, स्लेट र ढुङ्गा काट्ने, रेडिमेड, हस्तकला तथा गार्मेन्ट, मेटल, टुरिजम, पशुपन्छीपालन, फर्निचरलगायतका विषयमा परियोजना प्रस्ताव स्वीकृत भएको छ ।

स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबिच गत माघ २४ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।