• १८ फागुन २०८२, सोमबार

सल्यानमा कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलतर्फ प्रस्थान

blog

मतदान सामग्रीसहित मतदान अधिकृत मतदान स्थलतर्फ प्रस्थान गर्दै। तस्बिरः प्रतीक इच्छुक शर्मा

प्रतीक इच्छुक शर्मा 
सल्यान, फागुन १८ गते ।
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सल्यानमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षाकर्मी मतदान स्थलतर्फ प्रस्थान गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र र निर्वाचन सामग्री बुझेर कर्मचारीहरू जिल्लाका टाढा–दुर्गम मतदान केन्द्रतर्फ पनि कर्मचारीहरू प्रस्थान गरिसकेका छन्। दार्मा, कालिमाटी, कपुरकोट, कुमाख गाउँपालिका र वनगाड कुपिण्डे नगरपालिकाका कर्मचारी आजै मतदान स्थलतर्फ गएका छन् । सदरमुकाम खलंगाबाट नजिक रहेका सिद्धकुमाख, त्रिवेणी, छत्रेश्वरी गाउँपालिका र राजमार्गसँग जोडिएका वागचौर तथा शारदा नगरपालिकाका कर्मचारी भने सोमबार साँझसम्म मतदानस्थल पुग्ने कार्यक्रम छ ।

मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार मतपत्रसहित निर्वाचन सामग्री बुझेर मतदानमा खटिने ४३० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित १२२८ कर्मचारी परिचालित छन् ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन नेपाली सेना र नेपाल प्रहरीको संयुक्त सुरक्षा गस्ती सुरु गरिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले समन्वयात्मक रूपमा जिल्लाभर निगरानी थालेका छन् । प्रमुख जिल्ला अधिकारी महेन्द्र कुमार सापकोटाका अनुसार नेपाल प्रहरी ६६८, निर्वाचन प्रहरी १४०६, सशस्त्र प्रहरी ३०० र नेपाली सेना १३ स्थानमा परिचालित छन् ।

सल्यानमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११७ मतदान स्थल र २०५ मतदान केन्द्र तोकिएको छ, जहाँ एक लाख ६२ हजार ४४९ मतदाता मतदान गर्नेछन् । निर्वाचनलाई निष्पक्ष, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले सबै कर्मचारी र सुरक्षाकर्मी पूर्ण रूपमा परिचालित छन् ।