• १२ साउन २०८१, शनिबार

फाँटभरी काँक्रो खेती (फोटो फिचर)

blog

काँक्रो खेतीमा रमाउँदै कृषक । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २८ गते । काँक्रोले भरिएको सुन्दर फाँट । फाँटदेखि माथि चिटिक्क परेको गाउँ । हालै मात्र कालोपत्रे भएको सडक । यो दृश्य पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित सल्यानको फाँट हो । सल्यान गाउँ ताजा तरकारी र बिउ उत्पादनको पकेट क्षेत्र हो ।  

 अहिले काँक्रो खेतीले सल्यानको फाँट भरिएको छ । समथर फाँटमा काँक्रो पाकेर पहेँलपुर देखिएको छ । यतिखेर यहाँका किसानहरूलाई काँक्राबाट बिउँ निकाल्ने चटारो छ । म्याग्दीको बेनीसँग सिमाना जोडिएको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यानका किसानहरूले लगाएको काँक्रोका साथै अन्य ताजा तरकारीले फाँटको सौन्दर्ययता बढाएको छ । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँटमा काउली, बन्दागोभी, काँक्रो र गोलभेँडा लगायतका तरकारीले सुन्दर देखिएको छ । 

यहाँका करिब एक सय २० घरधुरीले बिउँ उत्पादनका लागि भक्तपुर लोकल जातको काँक्रो खेती गरेका छन् । सल्यान बिउँ उत्पादनको पकेट क्षेत्र हो । यस वर्ष करिब एक करोड पचास लाख रुपियाँभन्दा बढीको काँक्राको बिउँ उत्पादन हुने अनुमान गरिएको अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो । 


उहाँले भन्नुभयो, "अघिल्लो वर्ष भन्दा यस वर्ष काँक्रो खेती राम्रो भएको छ । यसपालि काँक्रोको बिउँ प्रतिकेजी ८ देखि १० हजार रुपियाँमा बिक्री हुन्छ । पोखरा, काठमाडौँका व्यवसायीहरूले बिउँको अग्रिम माग गरेका छन् ।" रोग किराको प्रकोप बढ्ने र नियन्त्रणका लागि कृषि ज्ञान केन्द्रबाट प्राविधिक सहयोग नपाएको उहाँको गुनासो छ ।

काँक्राको बिउँ बिक्री गरेर हरेक वर्ष यहाँका किसानले कम्तीमा तीन लाखदेखि १० लाख रुपियाँसम्म आम्दानी लिने गरेको उहाँले बताउनुभयो । 

"यो वर्ष काँक्राको बिउले राम्रो मूल्य पाउने आशा गरेका छौँँ", युवा किसान टेकनारायण आचार्यले भन्नुभयो, "काठमाडौँका व्यापारीले प्रतिकेजी ८ देखि १० हजार रुपियाँ सम्ममा खरिद गर्दछौँ भनेर फोनमार्फत माग गर्न थालेका छन् । उत्पादित बिउँले राम्रो मूल्य पाउने भएपछि किसानहरू उत्साहित भएका छन् ।" यहाँ किसानले २० वर्षदेखि निरन्तर रूपमा काँक्रो र गोलभेँडाको बिउ उत्पादन गरेर राम्रो आम्दानी लिने गरेका छन् ।