• १२ साउन २०८१, शनिबार

सङ्गीतको सुर सिकाउँदै छ दशक

blog

काठमाडौँ, जेठ २८ गते । नेपालका मूर्धन्य सङ्गीतकार, गायकगायिकाले सङ्गीतको सुर सिकेको कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयले ६१ औँ वार्षिक उत्सव मनाएको छ । नातिकाजी, शिवशङ्कर, तारादेवी, शम्भुजित बाँस्कोटालगायत सयौँ सङ्गीत अनुरागीले कलानिधिबाटै सङ्गीत र गायन कलामा उपाधि लिनुभएको थियो । कलानिधि सङ्गीत विद्यालयको नाम २०२० सालमा परिवर्तन भई कलानिधि इन्दिरा सङ्गीत महाविद्यालय भएको थियो । 

महाविद्यालयले ६१ औँ वार्षिक उत्सवका अवसरमा सर्जकलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार आयोजित वार्षिक उत्सवमा विशेष सङ्गीत स्रष्टा सम्मान र उत्कृष्ट विद्यार्थी पदक वितरण गरिएको छ । हरेक वर्ष प्रदान गरिने ३१ हजार रुपियाँ राशिको कलानिधि आइडल पुरस्कार रमेश सेन्चुरीलाई प्रदान गरिएको छ । 

कार्यक्रममा विकासनाथ योगी, सरोजनी तण्डुकार, केपी पौडेल, राजेन्द्र श्रेष्ठ, रमना श्रेष्ठ, मनोज गुरुङ, सुरेश घिमिरे, नूतन प्रधान, नवराज घोरासैनी, विजय सिटौला, वसन्तलाल श्रेष्ठ, गङ्गाबहादुर केसी, उन्नतिशिला बोहरा, परशुराम पौडेल र नरेशरामभक्त माथेमालाई सम्मान प्रदान गरिएको छ ।

सन् २०२२/२३ का सर्वोत्कृष्ट विद्यार्थी भरत अधिकारी, कृष्ण लुइँटेल, समुद्र भट्टराई, सङ्गीता ढकाल, विपुल खतिवडा, प्रवीण रसाइली, सुनामी बिसी, आग्रिया सिंह, सनिरा महर्जनलाई गोल्ड मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नृत्य निर्देशक भैरवबहादुर थापाले नेपाली गीत/सङ्गीतको क्षेत्रमा कलानिधि महाविद्यालयले पु¥याएको योगदानबारे चर्चा गर्नुभयो । उहाँले नेपाली सङ्गीतको विकासमा ६१ वर्षदेखि सक्रिय कलानिधिले नेपाली सङ्गीतमा सयौँ प्रतिभा जन्माएको चर्चा गर्नुभयो । 

कलानिधिका महासचिव रामचन्द्र अन्जानका अनुसार द्वारिकाभक्त माथेमाको अध्यक्षतामा कलानिधि महाविद्यालय स्थापना भएको थियो । १० जना व्यक्तिको उपस्थितिमा सङ्गीत महाविद्यालय स्थापना भएको थियो । महाविद्यालय स्थापना भएको समय नेपालमा आधिकारिक रूपमा सङ्गीतको पठनपाठन गर्ने कुनै निकाय थिएन ।