• १३ साउन २०८१, आइतबार

मनोनयन फिर्ता लिन अपिल गरिने

blog

अशोक अधिकारी

ललितपुर, वैशाख १४ गते  । सत्ता साझेदार पाँच दलले गठबन्धनका साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय संयन्त्र ‘निर्वाचन तयारी तथा अनुगमन समिति’का संयोजक रामचन्द्र पौडेलका अनुसार बुधबार शीर्ष नेताहरूले साझा उम्मेदवारबाहेक अन्य नेताहरूले दर्ता गरेको मनोनयन फिर्ता लिन आग्रह गर्नुहुनेछ ।

उहाँले भन्नुभयो, “साझा उम्मेदवारबाहेकका साथीहरूलाई मनोनयन फिर्ता लिन आग्रह गर्छौं । पार्टीमा उहाँहरूले गर्नुभएको योगदानको मूल्याङ्कन हुन्छ । अहिलेलाई उहाँहरूले पार्टीलाई सहयोग गर्नुपर्छ । पार्टीको निर्णय मान्नुको विकल्प पनि छैन । यही आग्रह सबै साथीहरूलाई गर्छौं ।”

उहाँले गठबन्धनलाई बलियो बनाउनु अहिलेको आवश्यकता र जिम्मेवारी रहेको बताउँदै पार्टीको निर्णयविपरीत मनोनयन गरेका नेताहरूले वैशाख १६ गतेभित्र उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गर्नुभयो । नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेका छन् । 

नेपाली काँग्रेसले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ओलीको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “जिम्मेवार सपना त्यो होइन, जो उडन्ते गफ जस्तो हावामा उडिरहन्छ, सपना त्यो हो जो जिम्मेवार ढङ्गले धरातलमा उभिन्छ । जमिनमा टेकेर गर्न सकिने कामहरू मात्रै उल्लेख गरिएको काँग्रेसको घोषणापत्र ओलीजीलाई मन परेन, ठीकै छ तर, कम्तीमा विषयको बहसमा आउन चाहेकोमा उहाँलाई धन्यवाद छ ।”त्यसैगरी, काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको घोषणापत्रका सन्दर्भमा ओलीको अभिव्यक्ति खेदजनक भएको बताउनुभयो । 

काँग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “निर्वाचन आचारसंहिता लागू भइसकेपछि एमाले अध्यक्षले दिएको अभिव्यक्ति सामान्य अवस्थामा पनि बोल्न नहुने छ । यसप्रति काँग्रेस खेद प्रकट गर्दछ ।”

उहाँले काँग्रेसले शालिन ढङ्गले निर्वाचन अभियान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले काँग्रेसले स्थानीय आवश्यकता र नागरिकको चाहना सम्बोधन गर्ने गरी स्थानीय तहमा नै घोषणापत्र ल्याउने बताउनुभयो । 

यसैगरी, नेपाली काँग्रेसको सांस्कृतिक समन्वय प्रचार–प्रसार उपसमितिले गायक कृष्ण रेउले र गायिका प्रीति आलेको स्वर रहेको ‘काँग्रेस नै चाहियो’ शीर्षकमा चुनावी गीत सार्वजनिक गरेको छ । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई र उपसमिति संयोजक डीबी गुरुङले जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलनको नेतृत्व गरेको पार्टीलाई जिताउन देशव्यापी अभियान थालिएको बताउनुभयो ।

मल्ललाई कारबाही

नेपाली काँग्रेसले पार्टीको डडेल्धुरा जिल्ला कार्यसमितिका निवर्तमान सभापति तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई कारबाही गरेको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको विधानविपरीतका कार्य गरेकाले नेता मल्ललाई पार्टीको सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइएको हो ।