नारद कोहार
तौलिहवा, वैशाख १४ गते । लुम्बिनीसहित विभिन्न बौद्ध स्थलमा २५६६औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस विशेष कार्यक्रम गरेर मनाउने तयारी गरिएको छ । विगत दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण स्थगित हुँदै आएको बुद्धजयन्ती तथा लुम्बिनी दिवस यस पटक विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने तयारी भएको लुम्बिनी विकास कोषले जनाएको हो ।
विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले ‘त्रि–संयोग दिवस’का नामले महTवपूर्ण दिनका रूपमा लिने गरेका छन् ।
यस पटक बुद्धजयन्तीका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा तीन दिनसम्म विशेष कार्यक्रम गरी मनाइने लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य रामनरेशप्रसाद कोहारले बताउनुभयो ।
जेठ २ गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुनेछ । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हरेक वर्ष संसारभरबाट लाखौँको सङ्ख्यामा तीर्थयात्री, पर्यटक तथा अध्येताले लुम्बिनीको भ्रमण गर्छन् । त्यसबाहेक बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताएको तिलौराकोट दरबार क्षेत्रमा पनि पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।
विकास कोषका कार्यकारिणी सदस्य कोहारका अनुसार बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा जेठ १ गते गौतमबुद्धको मावली देवदह तथा अस्तुधातु राखिएको स्थल नवलपरासीको रामग्राममा विशेष कार्यक्रम गरिनेछ । जेठ २ गते बुद्धजयन्ती विशेष समारोह लुम्बिनीमा आयोजना हुनेछ । यहाँ आयोजना हुने मूल समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई निमन्त्रणा गर्ने कार्यक्रम छ । जेठ ३ गते बुद्धले २९ वर्ष बिताएको पवित्रस्थल कपिलवस्तुको तिलौराकोटमा रथयात्रा गर्ने कार्यक्रम तय भएको छ ।
बुद्धजयन्ती तथा लुम्बिनी दिवस मनाउनका लागि विभिन्न उपसमिति बनाएर तयारी थालिएको विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । कोरोना महामारीका कारण दुई वर्षसम्म बुद्धजयन्ती मनाउन नपाएकाले यस पटकको कार्यक्रम विशेष हुने उहाँको भनाइ छ ।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                -original-thumb.jpg) 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                