• १७ असार २०८१, सोमबार

निर्वाचनमा उत्तेजक नहुन निर्देशन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा उत्तेजक नहुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मनमोहन अधिकारीको २३औँ स्मृति दिवसमा बोल्दै अध्यक्ष ओलीले कुनै राजनीतिक दलको घोषणापत्रमा अर्काे पार्टीलाई गाली गर्नु दुःखद कुरा भएको  बताउनुभयो । 

पार्टीको घोषणापत्रमा सभ्यता, शिष्टता, मर्यादाको कुरा हुुनुुपर्नेमा उहाँले जोड दिनुुभयो । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) पार्टी नभई केन्द्र मात्रै भएको आरोप लगाउनुुभयो । उहाँले चुनावी घोषणापत्र निकाल्न नसक्ने माओवादी केन्द्र पार्टी हुुन नसक्ने बताउनुभयो । 

यसैबीच नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेप्रति विपक्षीले फैलाएको भ्रम चिरेर जनतासामु जान नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सम्पर्क समन्वय कमिटीले मङ्गलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले ओली नेतृत्वको सरकारले गरेका कामका बारेमा जनतालाई बुझाएर जनमत आफ्नो पक्षमा पार्न निर्देशन दिनुभयो ।

उहाँले चुनावको समयमा एमालेविरुद्ध फैलाइने भ्रमप्रति नेता तथा कार्यकर्ता सबैै सचेत हुनुपर्ने बताउँदै जुनसुकै प्रकारका भ्रम चिर्न कसैसँग सोध्नु नपर्ने र दृढतापूर्वक प्रतिवाद गर्न निर्देशन दिनुभयो । महासचिव पोखरेलले दुई तिहाइ नयाँ मतदाताले एमालेतर्फ झुकाव राखेको दाबी गर्नुभयो । एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र निर्माणको पक्षमा लिएको अडानका कारण युवा पुस्तामा झुकाव बढेको दाबी उहाँको थियो ।