• १२ मंसिर २०८१, बुधबार

मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण

blog

मौवाफाँटमा निर्माण भएको बहुउद्देश्यीय भवन । तस्विरः ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, जेठ २७ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बहुउद्देश्यीय भवन निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार, चन्दा सहयोग र श्रमदान गरी ५५ लाख ४८ हजार ४९ रुपियाँ लागतमा एक तले बहुउद्देश्यीय सभाहल सहितको भवन निर्माण गरिएको हो । 

गाउँमा सामाजिक कार्यहरु गर्न, बैठक तथा अन्य कार्यक्रम आयोजना गर्न सहज होस् भनेर बहुउद्देश्यीय मगर समाज भवन निर्माण गरिएको मौवाफाँट मगर समाजका अध्यक्ष यामकुमारी गर्वुजाले जानकारी दिनुभयो । उहाँका अनुसार भवन निर्माणमा २५ लाख ९ हजार ४४९ व्यक्तिगत चन्दा सङ्कलन गरिएको र मौवाफाँटमा रहेका २३ घरधुरी मगर समुदायले  ४ लाख ६९ हजार तीन सय बराबराको श्रमदान गरेका छन् । 

भवन निर्माणमा रघुगङ्गा गाउँपालिकाको १० लाख, वडा कार्यालयमार्फत १ लाख, तत्कालीन प्रदेश सभा सदस्य विनोद केसीको सिफारिसमा प्रदेश सरकारबाट ८ लाख बजेट उपलब्ध भएको समाजका निवर्तमान अध्यक्ष मेखबहादुर गर्वुजाले जानकारी दिनुभयो । 

वि.स. २०७७ सालदेखि निर्माण सुरु भएको भवन बनाउन १ रोपनी ९ आना जग्गा खरिद गरिएको थियो । मुख्य सडकबाट भवन परिसरसम्म ७ सय मिटर सडकको पहुँचमार्ग निर्माण गरिएको छ । बहुउद्देश्यीय भवनमा करिब तीनसय ५० जना क्षमताको सभाहल निर्माण गरिएको छ ।

भवन परिसरमा शौचालय, खानेपानी र मैदानको समेत व्यवस्था छ । भवन निर्माण भएपछि सभा, समारोह, तालिम, बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमसँगै विवाह, वर्तबन्ध लगायतका संस्कारजन्य कार्यक्र गर्न समेत सहज हुने मौवाफाँट मगर समाजका सचिब थम बुद्धुजाले बताउनुभयो ।

भवनको शनिबार उद्घाटन गरिएको छ । मौवाफाँट मगर समाजका संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक सुवेदार दलप्रसाद गर्वुजाले भवनको उद्घाटन गर्नुभयो । कार्यक्रमा रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, नेकपा (एमाले) म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल मगर संघ म्याग्दीका उपाध्यक्ष खम थापा मगर लगायतले भवन निर्माण भएपछि सामाजिक कार्यहरु गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।