चन्द्र पन्दाक
ताप्लेजुङ, असार २३ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालयले एसइईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान सार्थ बधाई ज्ञापन गरिएको छ । यसवर्ष अर्थात २०८१ को एसइईमा जिल्लाकै सर्वोकृष्ट नतिजा ल्याउन सफल भएको गोन्पा विद्यालयबाट उत्तीर्ण भएका विद्यार्थीलाई सम्मान गरिएको हो ।
आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी एसइई उत्तीर्ण विद्यार्थीलाई कदरपत्र र नगद पुरस्कारद्वारा सम्मान गरिएको प्रधानाध्यापक पासाङ रिता शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार गोन्पा विद्यालयबाट एसइईमा सहभागी भई ३.९१ जिपिएसहित जिल्लाकै उत्कृष्ट बन्न सफल लाके शेर्पा, ३.८६ जिपिए प्राप्त गरेर जिल्लाकै दोस्रो बन्न सफल प्रितम गुरुङसहितका सबै विद्यार्थीलाई सम्मान गरिएको छ ।
एसइई उत्तीर्ण विद्यार्थीसँगै विद्यालयका सम्पूर्ण शिक्षकलाई समेत कदरपत्रद्वारा सम्मान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । आयोजित कार्यक्रमकाबिच एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा लगायतले सम्मान गर्नुभएको छ ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराई, हाङ्देवाका वडा अध्यक्ष लक्षमण गुरुङ, स्थानीय अभिभावक लगायतको उपस्थिति रहेको थियो । फुङ्लिङ नगरपालिका–९ हाङ्देवाको बुङ्कुलुङस्थित साङ्क देछ्योलिङ गोन्पा विद्यालय पहिलो पटक विद्यालय शिक्षा परीक्षा (एसइई) मा सहभागी भएको हो ।
सो विद्यालयबाट एसइईमा सहभागी शतप्रतिशत अर्थात ११ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन् । यसै विद्यालयका लाके शेर्पा र प्रितम गुरुङ जिल्लाकै सर्वोत्कृष्ट प्रथम र दोस्रो नतिजा ल्याउने विद्यार्थी बनेका छन् । विद्यालय र सिर्जनशील बाल क्लबको संयक्त आयोजित कार्यक्रमकाबिच एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान साथै बधाई ज्ञापन गरिएको पनि प्रधानाध्यापक शेर्पाले जानकारी दिनुभयो ।