• १० मंसिर २०८१, सोमबार

जीवित देवी कुमारीको कथा ‘अग्निचक्षु’

blog

काठमाडौँ, जेठ २७ गते । जीवित देवी कुमारीको विषयमा आधारित नाटक हो, अग्निचक्षु । देवी कुमारीको समग्र मनस्थिति, किशोर मनोविज्ञान, समाजले उनलाई हेर्ने दृष्टिकोणलगायतलाई मिहिन ढङ्गले नाटकमा उतारिएको छ । नाटकमा जीवित कुमारी अष्टलक्ष्मी र उनका साथी बालाबिचको संवादलाई विशेष आकर्षक बनाइएको छ । कुमारीको प्रेम जीवनलाई मनमोहक ढङ्गले नाटकमा प्रस्तुतीकरण गर्दाको रौनकलाई कुमारीकै प्रेमीले आफ्ना आमालाई वृद्धाश्रममा पठाएकोलगायतका दृश्यले भावविह्वल बनाउँछ । 

समाजशास्त्र अध्ययन गर्दै गरेकी बालाले आफ्नो शोधकार्यको विषय कुमारी छनोट गरेकी छिन् । यसै सन्दर्भमा पूर्वकुमारी अष्टलक्ष्मी र उनीसँग जोडिएका व्यक्तिहरूसँग अन्तर्क्रिया गर्दै सन्दर्भ सामग्री जम्मा गरेकी हुन्छिन् । व्यक्तिगत स्वार्थ त्याग गरेर राष्ट्र (नेपाल मण्डल) जोगाउन गरेको मय्जुलानीको वीराङ्गनाको कथामा देखिन्छ । परापूर्वकालदेखि नै कुमारीप्रति श्रद्धा गर्दै आएको इतिहास पनि यसको सूक्ष्म विषय हो । मल्ल राजाहरूको आराधनाकी देवीका रूपमा कुमारीलाई लिँदै आएको इतिहास छ । विशेष गरी कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश तुलजा देवीसँग पासा खेल्ने, राज्य सञ्चालनको मार्गदर्शन लिन्थे भन्ने प्रसङ्ग नाटकमा देखाउन खोजिएको छ । 

पासा खेल्ने क्रममा एकदिन उनको देवीसँग कुदृष्टि परेकाले देवीले अब उप्रान्त प्रत्यक्ष दर्शन नदिने कुरा भएपछि जयप्रकाश विचलित हुन्छन् । उनले आफ्नो क्रियाकलापप्रति पश्चाताप गर्छन् । आफ्ना शिष्य जयप्रकाशको त्यो पश्चातापले देवीको मन पग्लिन्छ र नेवार जातिको कोखबाट कुमारीका रूपमा जन्म लिने छु, उनै जिउँदी कुमारीभित्र मेरो रूप हुने छ, तिनैलाई मेरो प्रतिमाका रूपमा लिनू भनेपछि जयप्रकाश मल्लले काठमाडौँको वसन्तपुरमा कुमारीघर बनाएर राजकीय सम्मानका साथ कुमारी राख्ने चलन चलाउँछन् । यो चलन अहिलेसम्म चलिआएको छ । नाटकको कथा यिनै कुरामा बुनिएका छन् । 

नाटककी प्रमुख पात्र अष्टलक्ष्मी सामाजिक खराब परिपाटीबाट विचलित देखिन्छिन् । उनी आफ्नो प्रेमी सुलभको खराब प्रवृत्ति अनि आफ्नो पारिवारिक मायाममताको अभावमा घरै छाडेर हिँड्ने मनस्थितिमा हुन्छिन् । बाला र चिताइदारको उत्प्रेरणाले समाज रूपान्तरणमा नारी शक्तिको महत्वबोध गराइएपछि अष्टलक्ष्मी समाजबाट हटेर हैन डटेर अगाडि बढ्ने मनस्थितिमा पुग्छिन् । 

चन्द्रप्रसाद पाण्डेले लेख्नुभएको नाटकको परिकल्पना तथा निर्देशन झकेन बिसीले गर्नुभएको छ । मञ्जु श्रेष्ठ, सङ्गीता उराँव, हेना नगरकोटी, कृष्णभक्त महर्जन, सविन कट्टेल, श्रीशेष श्रेष्ठ, धीरज थापामगर, शान्ता प्रजापति, राजेन्द्र डङ्गोल, एअरिका चौलागार्इंको अभिनय रहेको नाटकमा सङ्गीत परिकल्पना तथा संयोजन अनुप तिमिल्सिनाको रहेको छ । अनुपलाई प्रत्यक्ष सङ्गीतमा पूजा विश्वकर्मा, इन्द्रमान महर्जन, प्रतीक प्रजापति, ब्रोसिन ब्रोज महर्जनले सघाउनुभएको छ । नाटक जेठ ३२ सम्म बत्तिसपुतलीस्थित शिल्पी नाटक घरमा मञ्चन हुने छ ।