• १० साउन २०८१, बिहिबार

पुरानो हुँदैमा भत्काउनु पर्दैन घर

blog

प्रकृति अधिकारी

ललितपुर, वैशाख १४ गते । पुरानो घरलाई भत्काएर सोही स्थानमा नयाँ घर निर्माण गर्ने सोच्दै हुनुहुन्छ ? पुरानो घर प्रबलीकरण गर्न मिल्ने वा नमिल्ने भन्ने बारेमा प्राविधिकलाई देखाउनुहोस् । प्राविधिकले मिल्ने सल्लाह दिएमा घर निर्माण गर्नुभन्दा प्रबलीकरण गर्दा एक तिहाइ कम खर्च गरे पुग्नुका साथै पुरानो घर उत्तिकै बलियो हुनेछ ।

नेपाल आवास पुनर्निर्माण परियोजनाअन्तर्गत भारतीय सरकारको सहयोगमा हरिहर भवनस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पस, संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडीपी) र भवन विभागको संयुक्त सहकार्यमा धक्का मापन (सक टेबल) परीक्षण गर्दा प्रबलीकरण गरिएको घर बलियो हुने प्रमाणित भएको छ ।

यस्तो परीक्षण पुल्चोक क्याम्पसमा गरिएको थियो । सक टेबल टेस्टका नेतृत्वकर्ता इन्जिनियर दिवस दाहालले यस्तो परीक्षण नेपालमा पहिलो पटक गरिएको बताउँदै भन्नुभयो, “घर पुरानो हुँदैमा भत्काउनु आवश्यक छैन । नयाँ बनाउन खर्च बढी लाग्छ तर प्रबलीकरण गरिएमा खर्च जोगिनुका साथै पुरानै घरलाई बलियो र सुरक्षित बनाउन सकिन्छ । यो प्रमाणित भएको छ ।”

परीक्षणका क्रममा छ मिटर लम्बाइ र करिब साढे तीन मिटर चौडाइ भएको फलामे टेबुलमा दुईवटा नमुना घर निर्माण गरिएको थियो । घरमा प्रयोग गरिएको ढुङ्गा, माटो र काठ गोर्खाको पालुङ्टारबाटै ल्याइएको थियो । “स्थानीय निर्माण सामग्रीबाट बनेका गोर्खाका घर कति भूकम्पप्रतिरोधी छन् भन्ने परीक्षण गर्न त्यहीँबाट निर्माण सामग्री ल्याइएको थियो,” उहाँले भन्नुभयो । 

नमुनाका रूपमा माटोको जोडाइबाट बनाइएका घर निर्माणकर्ता पनि गोर्खाका डकर्मी थिए । एउटा घरलाई त्यत्तिकै छाडियो भने अर्काे घरलाई तार आदिबाट बन्धन गरी प्रबलीकरण गरिएको थियो । फलामे टेबुलको नजिकै दुई सय मेट्रिक टन तौल भएको फलामे पेन्डुलमलाई फलामे सिक्रीको सहायताले टेबुलमा धक्का दिन थालियो । सुरुमा पाँच डिग्रीको कोणबाट धक्का दिन थालियो ।

विभिन्न डिग्रीको कोणबाट लगातार धक्का दिन थालियो र १०औँ पटकको “४० डिग्रीको कोणसम्म धक्का दिँदा पनि प्रबलीकरण गरिएको घरमा सामान्य चर्काइबाहेक खासै क्षति भएन,” इन्जिनियर दाहालले भन्नुभयो, “यस परीक्षणबाट मर्मत वा प्रबलीकरण गरेर पुराना घरलाई प्रयोग गर्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।” परीक्षणका क्रममा कुन कोणबाट धक्का दिँदा त्यसले कति रेक्टर स्केलको कम्पन सिर्जना गर्छ भन्ने परीक्षण गरिएको थिएन । 

विशेष गरी माटोको जोडाइ भएका वा ग्रामीण क्षेत्रमा रहेका घर प्रायः मापदण्डअनुसार बनेका छैनन् । प्रबलीकरण गरेमा २०७२ सालको जस्ता भूकम्पको धक्का त्यस्ता घरले मजाले सहन सक्ने यस परीक्षणबाट पुष्टि भएको छ । “ढुङ्गा–माटोका घरलाई बचाउन सकिँदैन भन्ने धारणालाई यस परीक्षणले चिर्न सकेको छ,” उहाँले थप्नुभयो, “प्रबलीकरण गर्ने वा नगर्ने भनी प्राविधिकबाट क्षति वर्गीकरण गराउनुपर्छ ।” 

तीन ग्रेडसम्मको क्षति भएका घरलाई प्रबलीकरण गर्न सकिने उहाँले बताउनुभयो । चौथो ग्रेडका क्षतिअन्तर्गत गारो नै भत्किएको हुन्छ । २०७२ सालको भूकम्पपछि क्षतिग्रस्त भएका अधिकांश पुराना दरबारलाई प्रबलीकरण गरिएको छ । धक्काका कारण प्रबलीकरण नगरिएको घर पूर्ण रूपमा ध्वस्त भयो ।