• ११ असोज २०८१, शुक्रबार

गुल्मीमा घरेलु हिंसासम्बन्धी ७५ उजुरी

blog

रमेश विश्वकर्मा
गुल्मी, जेठ २६ गते ।
 गुल्मीमा चालू आर्थिक वर्ष २०८०/०८१ को हालसम्म घरेलु हिंसासम्बन्धी ७५ वटा ठाडो उजुरी परेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा परेका ७५ वटा ठाडो उजुरीमध्ये ५२ वटा उजुरीको मिलापत्र भइसकेको छ । गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले प्रस्तुत गर्नुभएको तथ्याङ्कमा १९ वटा उजुरीलाई सम्बन्धित निकायमा पठाइएको छ भने चार वटा उजुरी बाँकी देखिएको छ ।

प्रस्तुत तथ्याङ्क अनुसार यस वर्षको हालसम्म ३० वटा अन्य ठाडो उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् । जसमध्ये २८ वटा उजुरीको मिलापत्र भइसकेको छ भने दुई वटा उजुरीलाई सम्बन्धित निकायमा पठाइएको छ । गत आर्थिक वर्ष २०७९÷०८० मा घरेलु हिंसा सम्बन्धी ठाडो उजुरी ११४ दर्ता भएका थिए । जसमा ७१ वटा उजुरी मिलापत्र र ४३ उजुरीलाई सम्बन्धित निकायमा पठाइएको थियो । अन्य ठाडो उजुरी २८ वटा दर्ता भएका थिए । जसमा २६ वटा उजुरी मिलापत्र र दुई वटा उजुरीलाई सम्बन्धित निकायमा पठाइएको थियो । गत वर्ष जिल्ला प्रहरी कार्यालय गुल्मीमा पुरुष पीडित सम्बन्धी ५ वटा निवेदन दर्ता भएका थिए । जसमध्ये दुई वटा निवेदनलाई मिलापत्र र तीन वटा निवेदनलाई सम्बन्धित निकायमा पठाइएको थियो ।

यस वर्षको हालसम्म यस जिल्लामा १०८ जना महिला बालक बालिका तथा ज्येष्ठ नागरिक हराएको तथ्याङ्कमा देखिएको छ । ६५ जना महिला, १६ जना बालक, २१ जना बालिका र ६ जना ज्येष्ठ नागरिक हराएका छन् । जसमा पाँच जना महिला फेला पर्न सकेका छैनन् । गतवर्ष १३२ जना महिला बालक बालिका तथा ज्येष्ठ नागरिक हराएका थिए । ८५ जना महिला, १० जना बालक, ३६ जना बालिका र एक जना ज्येष्ठ नागरिक हराएका थिए । जसमध्ये सात जना महिला फेला परेका थिएनन् ।

जिल्ला प्रहरी कार्यालयले यस वर्षको हालसम्म बेवारिसे अवस्थामा फेला परेका पाँच जना महिला, पाँच जना बालक, पाँच जना बालिका र एक जना ज्येष्ठ नागरिक (पुरुष) को उद्धार गरेको छ । गतवर्ष पनि आठ जना महिला महिला, एक जना बालक, सात जना बालिका गरी १६ जनाको उद्धार गरेको छ । जसमा चार जना महिला, दुई बालक र चार बालिकालाई सेफहाउसमा राखिएको छ भने दुई जना महिलालाई मानवसेवा आश्रममा पठाइएको छ ।

यस वर्षको हालसम्म गुल्मी जिल्ला अस्पतालमा वरिष्ठ नर्सिङ अधिकृतद्वारा एक जना महिला र पाँच जना बालिकालाई परामर्श दिइएको छ । गुल्मी अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) सँगको समन्वयमा यस वर्षको हालसम्म १३ जना महिला, तीन जना बालिका र चार जना ज्येष्ठ नागरिक गरी २० जनालाई सामान्य उपचार (घाउ जाँच) गरिएको छ । गतवर्ष १४ जना महिला र एक जना ज्येष्ठ नागरिक गरी १५ जनाको सामान्य उपचार (घाउ जाँच) गरिएको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै, यस वर्षको हालसम्म गुल्मी जिल्लामा ३८ जना झुन्डी आत्महत्या, दुई जना विष सेवन गरी आत्महत्या, तीन जना हाम फाली आत्महत्या, १० जना फुटकर ज्यान र १९ जना भवितव्य ज्यान गरी ७२ मुद्दा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी दर्ता भएको उल्लेख छ । यी सबै मुद्दाको फर्छ्यौट भएको छैन । गत वर्ष ३६ जना झुन्डी आत्महत्या, नौ जना विष सेवन गरी आत्महत्या, दुई जना हाम फाली आत्महत्या, सात जना फुटकर ज्यान र २६ जना भवितव्य ज्यान गरी ८० मुद्दा महिला बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी दर्ता भएको उल्लेख छ ।