• ११ मंसिर २०८१, मङ्गलबार

प्राकृतिक विपत्तिको मारमा राउटे

blog

भगवतीमाई गाउँपालिका १ खोला किनारमा रहेको राउटे बस्ती । तस्बिर : कमल शर्मा

कमल शर्मा
दैलेख, जेठ २६ गते ।
 चिसो महिनामा औल (बेसी) बस्ने र गर्मी महिनामा लेकमा बस्ने राउटेका विशेषता हुन् । तर राउटेलाई अहिले लेक र बेसीमा बस्न कुनै भिन्नता छैन । जहाँ बसे पनि गर्मी हुने, पानी नपाइने समस्याले राउटे समुदाय खोलाका किनारमा बस्दै आएका छन् ।

गुराँस गाउँपालिका–१ महिन खोलामा भेटिएका राउटे समुदायका मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, ‘‘गाउँ–गाउँमा सडक पुगे, सडककै कारण पानीका मुहान सुके, वनजङ्गलमा आगलागी भएका कारण हामी जङ्गलका राजालाई जङ्गलमै बस्न कठिन भएको छ ।’’

राउटे मुखिया शाहीको यो भनाइले जङ्गलमै रमाएर बस्ने राउटे समुदायको जीवन कष्टकर बन्दै गएको सङ्केत गर्छ । राउटेका व्यवहार केही फेरिए पनि दुःख भने उस्तै छन् । उहाँले भन्नुभयो, ‘‘पहिला जस्तो काठका सामग्रीसँग अन्न साटफेर हुँदैन, जङ्गलमा पर्याप्त मात्रमा पानी पाइँदैन, जङ्गल छोडेर अन्य समुदायको नजिक बस्न थालेपछि झन् ठुलो समस्यामा छौँ ।’’

कर्णाली प्रदेश तथा सुदूरपश्चिमका पहाडी जिल्लाका जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे पछिल्लो समय वातावरण परिवर्तनमा आएको परिवर्तन प्रति दङ्ग छन् ।  विशुद्ध प्राकृतिक जीवन बिताउने घुमन्ते यो समुदाय अहिले जलवायु परिवर्तनको मारमा परेको छ । जलवायु परिवर्तनबारे शब्द ज्ञान नभए पनि राउटे समुदाय यसका असरसँग भने राम्ररी जानकार छ ।

राउटेका स्पष्ट तीन मान्यता छन् खेतीपाती नगर्ने, लेखपढमा नलाग्ने, एकै ठाउँ नबस्ने  । पर्यावरणीय प्रभावले आहारमा कमी हुनु, बाह्य समाजसँग घुलमिल बढ्नु र जीवनयापनका लागि परनिर्भरता बढ्नुले राउटे समुदाय अहिले सङ्कटमा छ ।

मुखिया शाहीले अहिले आफूहरूलाई जङ्गलमा बस्न गाह्रो भइरहेको बताउनुहुन्छ । ‘‘जङ्गलमै लामखुट्टे भेटिन थाले, पानीका मूल सुक्न थाले, कन्दमूल र बाँदर पनि पाइँदैनन् ।’’ उहाँले भन्नुभयो, ‘‘यिनै समस्याले चाँडो चाँडो बस्ती सर्न थालेका छौँ । समुदायका सदस्य बिमार पनि धेरै लाग्न थालेको छ ।’’

आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्छ । तापक्रम वृद्धि र वनजङ्गल विनाशले पानीका मुहान सुक्दै जानु तथा कन्दमूल र बाँदर लोप हुँदै जानुले उनीहरू सङ्कटमा मात्र परेका छैनन् परनिर्भर पनि बन्दै गएका छन् । कन्दमूल र बाँदरको सट्टा अहिले उनीहरू बजारको खाद्यान्न र खसी बाख्रामा भर पर्न थालेका छन् । राउटे समुदायका सदस्य पहिलेको तुलनामा बिरामी भएर थलिन पनि थालेका छन् ।

‘‘पहिले जङ्गलमै औषधीमूलक गथ्र्यौं, सन्चो हुन्थ्यो’’, मुखिया शाहीले भन्नुभयो, ‘‘अहिले धेरै बिरामी हुन्छौँ, जङ्गली औषधीले पनि काम गर्न छोड्यो ।’’ बदलिँदो खानपिन, लामखुट्टेको टोकाइलगायत कारणले उनीहरू समस्यामा छन् ।

‘‘अस्पताल त हाम्रा लागि होइनन्, अरूका लागि बनाइएका अस्पतालमा हामी जानु हुँदैन’’, मुखिया शाहीले भन्नुभयो, ‘‘हामीलाई जडीबुटीले निको हुन्थ्यो, अब त औषधी गर्ने जडीबुटी पनि जङ्गलमा पाइन छाड्यो ।’’

राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले बदलिँदो जीवनशैली र जलवायु परिवर्तनका कारण राउटेमा विभिन्न रोगको सङ्क्रमण देखिन थालेको बताउनुभयो ।

‘‘पैसा छोएमा पाप लाग्छ भन्ने यो समुदाय गाउँमा आएर आफूले तयार गरेका काठका भाँडाकुँडासँग धान र अन्य खाद्यान्न साटेर लैजान्थे । राउटे बस्तीमा महिलाले काठको ओखलमा धान कुट्थे । तर अहिलेको पुस्ताले परम्परागत काठका भाँडा बनाउन जान्दैन ।,’’ सोसेक नेपालद्वारा सञ्चालित राउटे परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले भन्नुभयो, ‘‘पैसा छोए पाप लाग्छ भन्ने समुदाय अहिले पैसाका लागि मरिहत्ते गर्छ । अहिले सरकारले दिने मासिक भत्ता, काठका सामग्री बिक्रीबाट भएको आम्दानी र मागेको पैसाले उनीहरू मदिरा र सुर्तीजन्य पदार्थहरू सेवन गर्छन् । यसै कारण उनीहरूमा अहिले रोग प्रतिरोधात्मक क्षमता कम हुँदै गएको छ ।’’

फिरन्ते जीवन बिताइरहेको राउटे समुदायको सङ्ख्या अहिले १३७ मात्रै छ ।  दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई स्थायी परिचयपत्र दिएको छ । स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवाआमाको नाम र पतिपत्नीको नाम उल्लेख छ । यसै कारण गुराँस गाउँपालिकाले राउटेलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्छ । सरकारले राउटेका लागि उमेर हद नतोकी बच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मासिक दुई हजार रुपियाँका दरले भत्ता दिँदै आएको छ ।