लक्ष्मण पौडेल
भैरहवा, वैशाख १३ गते। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ की स्वेताकुमारी हरिजनले २१ वर्षकै उमेरमा वडा सदस्यमा उम्मेदवारी दिनुभएको छ। 
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उहाँले एमालेका तर्फबाट मंगलबार सिद्धार्थनगर नगरपालिका–६ को वडा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो।
स्वेताले दलित महिला सदस्यको रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो। रुपन्देहीका १६ वटा पालिकामा करिव २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उहाँ नै सबैभन्दा कान्छी उम्मेदवार हुन्ुहुन्छ। 
पिछडिएको समुदायका लागि केही गर्नसक्छु भनेर उम्मेदवारी दिएको स्वेताले बताउनुभयो। उहाँले पार्टीले आफूलाई उम्मेदवार बनाएकोमा धन्यवादसमेत दिनुभएको छ। ‘पार्टीले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ, यो आम युवाप्रतिको विश्वास हो, म यो विश्वासलाई टुट्न दिने छैन’, उहाँले भन्नुभयो। 
स्वेता स्नातक तहमा अध्ययनरत हुनुहुन्छ। विकासमा युवाको भूमिका महत्वपूर्ण रहने उहाँको भनाइ छ। सिद्धार्थनगर–६ मा एमालेबाट वडाअध्यक्षमा रामदयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराउनुभएको हो।
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                