• २९ पुस २०८१, सोमबार

सुनसान बन्दै अन्नपूर्ण पदमार्ग

blog

मनाङ खण्डको अन्नपूर्ण पदमार्गमा घट्न थाल्याे पर्यटकको सङ्ख्या । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट
मनाङ, जेठ २५ गते ।
पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्त्वपूर्णमध्ये एक मानिने मनाङ खण्डको अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् । १० दिनअघि दैनिक २५० को हाराहारीमा आउने पर्यटकको सङ्ख्या अहिले ह्वात्तै घटेको छ । वर्षा सुरु हुन थालेपछि १५ देखि २५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।

वर्षा सुरु हुन लागेपछि यति बेला दैनिक १५ देखि २५ जनासम्म पर्यटक आउने गरेका केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘केही १० दिन अघिसम्म २५० जना आउने गरेकामा उक्त सङ्ख्याबाट घटेर दैनिक ४०/५० को हाराकारीमा आएको थियो । त्यो सङ्ख्या पनि घट्दो क्रममा नै थियो ।’’

मङ्गलबार पदमार्गका लागि नौ जना मात्र पर्यटक आएकामा त्यसबाट पनि घटेर शुक्रबारसम्म आइपुग्दा चार जनामा सीमित भएको गुरुङले जानकारी दिनुभयो ।

भदौ लागेपछि पुनः पर्यटकीय चहलपहल सुरु हुने भन्दै भदौअघि पर्यटक आगमन कम हुँदै जाने उहाँको भनाइ छ । विगतमा यस पदमार्गमा दैनिक पाँच/छ सय पर्यटक आउने गर्दथे । कोरोना महामारीपश्चात् थलिएको यस क्षेत्रको पदमार्गमा महामारीपछि पुरानो गतिमा पर्यटक आगमन हुन सकेको छैन । विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल हुने यस पदमार्गमा पर्यटक घट्न थालेसँगै पदमार्गसँगै आसपासका होटल, रेस्टुरेन्ट सुनसान हुन थालेका पर्यटन व्यवसायीको भनाइ छ ।

च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले पर्यटक आगमन भइरहँदा दैनिक ३०–४० हजार रुपियाँ आम्दानी हुने भन्दै यति बेला पर्यटक घट्दा पाँच–१० हजार मात्र हुने गरेको बताउनुभयो । बर्खा लागेपछि झन् आम्दानी ठप्प हुने उहाँको भनाइ छ ।

त्यसै, अर्का पर्यटन व्यवसायी रामबहादुर गुरुङले भन्नुभयो, ‘‘एक हप्ताअघिसम्म केही पर्यटक होटलमा आए पनि त्यसयता व्यापार ठप्पै भएको छ ।’’ यस वर्षको पर्यटनको याममा आठ लाख हाराहारीमा आम्दानी भएको जनाउँदै उहाँले वर्षाभरि सोही रकमले घरखर्च चलाउने बताउनुभयो । उहाँका अनुसार भदौ लागेपछि पुनः पर्यटक आगमन हुने र व्यापार व्यवसाय चलायमान हुनेछ ।

बर्खा लागेसँगै बाटो अप्ठ्यारो, बाढी पहिरो आउनेलगायत समस्या हुने भएकाले पर्यटक ठप्प हुने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख गुरुङले सन् २०२४ को जनवरीदेखि जुन ४ सम्म यस पदमार्गमा १० हजार २७९ जना विदेशी पर्यटक आएका जानकारी दिनुभयो । उक्त अवधिमा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका एक हजार ४९, इजरायलका आठ सय ३१, जर्मनीका सात सय ७१, चीनका छ सय ९६ रहेका गुरुङले जानकारी दिनुभयो ।

सन् २०२३ को जनवरी १ देखि जुन ४ तारिखसम्म नौ हजार दुई सय ४१ जना पर्यटक आएका थिए । पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको संस्कृति, परम्परा र रहनसहन, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट मुस्ताङ, कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङे चौतारमा छ । पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । यस पदमार्गमा विगतको तुलनामा कोरोनापश्चात् कम पर्यटक आगमन हुन थालेका छन् । आर्थिक मन्दी, पदमार्ग जीर्ण, सडकले केही ठाउँमा पदमार्ग मासिनुलगायत कारणले कम पर्यटक आएका हुन सक्ने पर्यटन व्यवसायी बताउँछन् ।