• १२ मंसिर २०८१, बुधबार

एमाले रुपन्देहीको दशौं अधिवेशन सुरु

एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट : उपाध्यक्ष पौडेल

blog

एमाले रुपन्देहीको दसौँ जिल्ला अधिवेशन उद्घाटनमा मन्तव्य व्यक्त गर्दै उपाध्यक्ष विष्णु पौडेल। तस्बिर : लक्ष्मण पौडेल

भैरहवा, जेठ २३ गते। नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी रुपन्देहीको १० औँ जिल्ला अधिवेशन बुधबारदेखि सुरु भएको छ। अधिवेशनको एमाले केन्द्रीय उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभएको छ।

अधिवेशनको उद्घाटनमा पार्टी अध्यक्ष केपी शर्मा ओली आउने भनिए पनि कार्यव्यस्तताका कारण भन्दै अनुपस्थित हुनुभयो। बिहीबारसम्म सञ्चालन हुने अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने छ।

अधिवेशनको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले मुलुकको विद्यमान सङ्कट समाधान र जनआकाङ्क्षा सम्बोधनका लागि एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभयो। उहाँले एमालेले नेतृत्व गर्न पाए एक दशकमै मुलुकको कायापलट गर्ने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, “संविधानले प्रदान गरेको अधिकार नागरिकले कहिले उपभोग गर्न पाउँछन् ? आजको अहम् प्रश्न यहीँ हो। जिम्मेवारी पनि यही हो।” नेता पौडेलले एमालेले नेतृत्व गर्न नपाएका कारणले मुलुक पछि परेको र नागरिकहरूमा तमाम समस्या उत्पन्न भएको बताउनुभयो।

पौडेलले भन्नुभयो, “संविधानले प्रदान गरेको अधिकारलाई व्यवहारिक बनाउन राष्ट्रिय शक्तिको मियोका रूपमा र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न जरुरी छ।” मुलुकका सफल  अर्थमन्त्रीका रूपमा लिइने नेता पौडेलले समाज बदल्ने र उत्पादनका क्षेत्रलाई सक्रिय बनाउने अभियानको नेतृत्व एमालेले गरिरहेको बताउनुभयो।

विभेद र असमानतालाई अन्त्य गरेर समतामूलक समाज निर्माणका लागि एमालेको अगुवाइ जरुरी रहेको बताउँदै नेता पौडेलले सोही अनुसारको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, “संविधानको कार्यान्वयन गर्दै समृद्ध नेपाल सुखी जनताको राष्ट्रिय आकाङ्क्षा र लक्ष्यलाई साकार पार्ने गरी अगाडि बढ्नु नै आजको आवश्यकता रहेको छ।”

अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले कार्यकर्ताले एमालेको जिल्ला अधिवेशनलाई उत्सवको रूपमा लिनुपर्ने भन्दै नेतृत्व चयनमा खिचातानी नगर्न आग्रह गरे। 

उहाँले स्वार्थ भन्दा माथि उठेर पार्टी सङ्गठन निर्माण र मुलुक रूपान्तरणको अभियानमा लाग्न पनि कार्यकर्तालाई आग्रह गर्नुभयो।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्यालले एमाले नै देशको भरपर्दो पार्टी रहेको बताउनुभयो। “गएका उपनिर्वाचनको परिणामले पनि एमाले नै देशको बलियो र भरपर्दो पार्टी भएको पुष्टि भएको छ”–उहाँले भन्नुभयो।

एमाले रुपन्देहीले विगतमा राष्ट्रलाई नै सन्देश दिने काम गरेको भन्दै उहाँले अब पनि नेतृत्व चयनका माध्यमबाट राष्ट्रव्यापी सही सन्देश पुर्‍याउने बताउनुभयो।

एमाले पोलिटब्युरो सदस्य लीला गिरी, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेललगायतले पार्टी सङ्गठनलाई बलियो बनाएर मात्र देश निर्माणमा जुट्न सकिने बताउनुभएको थियो। अधिवेशन उद्घाटन सत्रमा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसी, सचिव यज्ञ गैरेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

जिल्लाको १६ पालिकाका १५५ वडा, २३ जनसङ्गठनबाट र आयोजक कमिटीबाट चयन भएका कुल ८५३ जना प्रतिनिधि अधिवेशनमा सहभागी छन्।

अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित १४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ। बन्दसत्रमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस गरिएको छ। रुपन्देहीमा एमालेका १७ हजार ९८ पार्टी सदस्य सङ्गठित रहेको र उत्तिकै सङ्ख्यामा शुभेच्छुक रहेको अध्यक्ष तेजेन्द्र केसीले बताउनुभयो।