• १२ असोज २०८१, शनिबार

अङ्ग्रेजीमा ‘जनताको छोरो’

blog

काठमाडौँ, जेठ २३ गते । पूर्वप्रधान सेनापति छत्रमानसिंह गुरुङको ‘जनताको छोरो’ पुस्तकको अङ्ग्रेजी संस्करण ‘सन अफ द पिपुल’ सार्वजनिक भएको छ । ‘जनताको छोरो’ मा पूर्वप्रधान सेनापतिको आत्मकथा, अनुभव र अनुभूति पढ्न पाइन्छ । 

पूर्वप्रधान सेनापति गुरुङ, नेपाली सेनाका पूर्वउपरथी ओमबहादुर पुन र व्यवसायी मीनबहादुर गुरुङले संयुक्त रूपमा सो संस्करण सार्वजनिक गर्नुभएको हो । व्यवसायी मीनबहादुर गुरुङले पुस्तकले स्वदेशमै थुप्रै सम्भावना भएको र केही गर्न सकिने सन्देश दिन सफल भएको चर्चा गर्नुभयो । सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङले जीवनका अनुभूति, अनुभव र आत्मकथालाई पाठकसम्म ल्याएकामा लेखक गुरुङलाई बधाई दिनुभयो ।

डा. प्रतीकमान सिंह गुरुङले अङ्ग्रेजी संस्करणमा पुस्तक प्रकाशन गर्नुको औचित्य चर्चा गर्दै बुवाका भोगाइ नयाँ पुस्ताका लागि प्रेरक बन्ने र विश्वव्यापी बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रबलमान गुरुङले पितासँगका रमाइला तथा अविस्मरणीय क्षण सम्झँदै भावी पुस्ताले पुस्तकबाट धेरै कुरा सिक्न सक्ने बताउनुभयो । पुस्तकको अङ्ग्रेजी अनुवाद चिरनजङ्ग थापाले गर्नुभएको छ ।