• १२ असार २०८१, बुधबार

‘पालिकामै रोजगार मेला गर्छौं’

blog

लेखनाथ समाचारदाता

लेखनाथ, जेठ २२ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राम्रो तयारीबिना केही ठाउँमा गरिएका कार्यक्रमले अपेक्षित नतिजा निकाल्न नसक्ने बताउनुभएको छ । उहाँले कामदारले योग्यता अनुसारको काम र रोजगारदाताले योग्य जनशक्ति पाउने वातावरण सिर्जना गर्न सरकारले भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । 

मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा सोमबार सुरु भएको श्रमाधान रोजगार मेलामा उहाँले यस्तो बताउनुभएको हो । 

“पूर्वतयारीबिना गरिएका कार्यक्रम प्रभावकारी हुन सक्दैनन्,” उहाँले भन्नुभयो, “आगामी दिनमा संयुक्त रूपमा तीन वटै सरकार मिलेर पालिका स्तरमै कार्यक्रम गरिने छ ।” मानिसले रोजगारी नपाउने र रोजगारदाताले जनशक्ति नपाउने अवस्था रहेको भन्दै उहाँले त्यसलाई समाधान गर्न श्रमाधान रोजगार मेलाको अवधारणा ल्याएको सुनाउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि र उद्योगलाई उपेक्षा गर्दा बरोजगारीका साथै युवा पलायन बढेको तर्क गर्नुभयो । बेरोजगारी नेपालको मुख्य समस्या भएको औँल्याउँदै उहाँले थप्नुभयो, “गाउँमा जग्गा बाँझै छन्, युवालाई पलायन हुनबाट रोक्न तिनै तहबाट प्रयास पनि भएको छ तर सफल हुन सकेको छैन ।”

मेलामा ४१ स्टल छन् । यहाँ वैदेशिक रोजगार विभाग, सिजी ग्रुप इसेवा, होङ्सी सिमेन्ट, सामाजिक सुरक्षा कोष, एनएमबी बैङ्क, पोखरा महानगर, नेपाल उद्योग वाणिज्य महासङ्घ, होटल सरोवर, नेपाल उद्योग परिसङ्घलगायतले स्टल राखेका छन् । दुईदिने मेलामा रोजगारीका बहुआयामिक पक्षबारे छलफल हुने छ । 

जानकारहरूले सिप विकास तथा क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा, सुरक्षित आप्रवासन, श्रम कानुन, रोजगारदाता तथा रोजगार खोजीबारे बहस गर्ने छन् । सोमबार श्रम आप्रवासन : कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसर, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा छलफल भएको छ ।  

मेलामा जागिरको खोजीमा रहेका युवायुवती र काम खोज्दै रहेका कामदारसँगै रोजगारदाताको जमघट छ । मेलामा भेटिनुभएकी रूपा गाउँपालिकाकी मुस्कान गुरुङले आफू तीन वर्षदेखि काम खोजिरहेको जनाउँदै काम नपाए विदेश जानुपर्ने अवस्था आइपर्ने सुनाउनुभयो । 

गण्डकीबाट बेरोजगार र विद्यार्थी विदेश जाने क्रम बढेको छ । चालु वर्ष श्रम स्वीकृति लिएर रोजगारीका लागि बाहिरिनेको गण्डकीवासीको सङ्ख्या एक लाख नाघेको छ । चालु आवमा १० हजार ७०२ महिला र ९५ हजार ३४२ पुरुष गरी एक लाख छ हजार ४४ जना गण्डकीका ११ जिल्लाबाट रोजगारीका लागि विदेश उडेका छन् । कास्कीबाट चालु आवको यो अवधिमा मात्र १२ हजार ३३४ विदेश पुगेका छन् ।