• २२ असार २०८१, शनिबार

विवादपछि प्रदर्शनीबाट हटाइयो कलाकृति

blog

काठमाडौँ, जेठ २२ गते । राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ मा राखिएको यादवचन्द्र भुर्तेलको ‘पोट्रेट’ कलाकृति विवादमा परेको छ । प्रदर्शनीमा राखिएको चित्रकलामा विवाद आएपछि प्रदर्शनीबाट सो कृति हटाइएको छ ।

कलाकार भुर्तेलको तामाङ पोसाक र गहना लगाएको महिलाको ‘पोट्रेट’ पेन्टिङ आफ्नो तस्बिरको हुबहु प्रतिलिपि उतारिएको भन्दै फोटोपत्रकार नवीनबाबु गुरुङले दाबी गर्नुभएको छ । फोटोपत्रकार गुरुङले सो सम्बन्धमा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानलाई पत्र लेखेर सो सम्बन्धमा जानकारीसमेत गराइसक्नुभएको छ । 

फोटोपत्रकार गुरुङले एक दशकअघि खिचेको तस्बिरको हुबहु नक्कल गरी प्रदर्शनीमा राखिएको चित्रकला प्रदर्शनीबाट हटाउनसमेत माग गर्नुभएको छ । अन्यथा कानुनी उपचारको बाटो लिने समेत फोटोपत्रकार गुरुङले बताउनुभएको छ । सो चित्रकलाको मूल्य एक लाख नौ हजार ९९९ राखिएको छ ।

नेपाली चित्रकलामा खास गरी न्युड आर्टमा ख्याति कमाएका कलाकार भुर्तेल पोखरालाई कार्य क्षेत्र बनाएर चित्रकलामा सक्रिय हुनुहुन्छ । ८२ वर्षीय कलाकार भुर्तेलका अनुसार एक जना लाहुरेले तामाङ युवतीको तस्बिर ल्याएर चित्र बनाउन दिएका थिए । ती लाहुरेले केही पेस्की दिए पनि चित्रकला लिन आएनन् । त्यसपछि नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको क्षेत्रीय प्रदर्शनीमा सोही चित्रकला दिएको स्पष्टोक्ति कलाकार भुर्तेलको छ । सो कलाकृति प्रज्ञाप्रतिष्ठानका प्राज्ञ नै स्टुडियोमा आएर छानेर लगेको समेत कलाकार भुर्तेलले दाबी गर्नुभयो ।

फोटोपत्रकार गुरुङले आफ्नो तस्बिरबाट हुबहु प्रतिलिपि उतारिएको पेन्टिङ प्रदर्शनीको सुरुको दिन देखेको भए पनि फोटो जर्नालिस्ट क्लबका साथीसँग सल्लाह गरेर छलफलका लागि प्रतिष्ठानमा निवेदन दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरो तस्बिरलाई जस्ताको तस्तै चित्रकला बनाएर बिक्रीमा राख्न पाइन्छ ? अझ फोटोलाई केही बिगारेर कलाकारले आफ्नो तरिकाले बनाउनुभएको छ, जुन एकदमै गलत कुरा हो ।”

सो पेन्टिङको विषयलाई लिएर फोटोपत्रकार गुरुङ र कलाकार भुर्तेलबिच टेलिफोनमा भनाभनसमेत भएको बताइन्छ । फोटोमाथि आफ्नो कपिराइट भएको भन्दै फोटोपत्रकार गुरुङले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा निवेदन बुझाउनुभएको छ । नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयका सूचना अधिकारी सुरेशचन्द्र अधिकारीका अनुसार ऐनको अनुसार हेर्ने हो भने यस्तो कुरामा अनुसन्धान गर्ने सबै जिम्मा प्रहरीको हो । रजिस्ट्रारको कार्यालयबाट कारबाही हुने भनेको सम्बन्धित व्यक्तिबाट निवेदन आएपछि दुवै पक्षलाई बोलाएर छलफल गरेर मिलाइदिने कोसिस गर्ने मात्र हो । 

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेको भनाइ केही भिन्न छ । उहाँले भन्नुभयो, “हामीलाई कसले कहाँबाट हुबहु गर्‍यो भन्ने कुरा कहाँ थाहा हुन्छ । संसारमा आठ अर्ब मान्छेले फोटो खिच्छन्, कसले के खिचेर राखेको छ ? हामीलाई कसरी थाहा हुन्छ ।”

उहाँले भन्नुभयो, “हामीले सूचना नै प्रकाशित गरेर भनेका छौँ की कसैको नक्कल पर्‍यो या कपिराइट भयो भने हामी जिम्मेवार हुँदैनौँ । समस्या आयो र त्यसको समाधान भनेको हामीले त्यो फोटो प्रदर्शनीबाट निकाली दियौँ । यसमा कारबाही गर्ने काम हाम्रो होइन सरोकार निकायको हो ।”