• १२ साउन २०८१, शनिबार

कलाशालामा कुरुस

blog

काठमाडौँ, जेठ २२ गते । बाह्र जना कलाकारले कुरुसले बुनेर तयार पारिएका हस्तकला सिर्जनाको प्रदर्शनी ‘कुरुस’ सानेपास्थित कलाशालामा भइरहेको छ । 

क्लासिक ग्यालरीसँगको सहकार्यमा कलाशालाले आयोजना गरेको प्रदर्शनीमा  उन, हेम्पलगायतका कच्चा पदार्थबाट बनेका रङ्गीविरङ्गी धागोको प्रयोग गरी कुरुसले बुनेर तयार गरिएका कलात्मक कृति राखिएका छन् । 

क्लासिक ग्यालरीका संस्थापक कलाकार सरिता डङ्गोलका अनुसार प्रदर्शनीमा राखिएका कृतिले मानव सभ्यताको निरन्तरताका लागि एकआपसको सहयोग आवश्यकता हुने सन्देश दिएका छन् । मानिस, प्रकृतिबिच सहयोग र सामीप्य, हौसलाका कारण नै सामाजिक व्यवस्था प्रेरणादायक रूपले विकसित भएको ती सिर्जनाले कथा भनिरहेका छन् ।

यस कला प्रदर्शनीको क्युरेटर सुदीक्षा डङ्गोल हुनुहुन्छ । प्रदर्शनीमा अनिशा श्रेष्ठको सूर्यमुखीको फूल, अनु मानन्धरको कम्बल, म्याटहरू, नीलम राईले मुन्धुमका कथाबाट प्रेरणा लिएर एकान्त र प्रकृतिको सम्बन्धको खोजीलाई दर्शाउनुभएको छ । त्यसै गरी फेसन व्यवसायी निहारिका डङ्गोलले आधुनिक सौन्दर्यशास्त्र र परम्पराको सङ्गम, नुमा लावतीको प्रेमको श्रम, राजश्री वज्राचार्यले जीवनका चुनौतीलाई आफ्नो सिर्जनामा बुन्नुभएको छ । मोनिसा चौधरीको कृति, सुनिता लिम्बूको मण्डलाले अनन्त प्रकृतिको प्रतिनिधित्व गरेको छ । ‘कुरुस’ कला प्रदर्शनी बुधबारसम्म सञ्चालन हुने जनाइएको छ ।