• ११ मंसिर २०८१, मङ्गलबार

जुम्लामा रोपाइँसँगै चोपाइको रौनक

blog

सिंजा गाउँपालिका वडा नंं. ४ तल्लोगुठि गाउँ, जुम्ला ।

विशाल सुनार

जुम्ला, जेठ २१ गते । सिंजा उपत्यका अर्थात् खस सभ्यताको आदिभूमि । नेपाली भाषा, साहित्य र परम्पराको आदिभूमि । चारै तिरको अक्करै भिरको बाटो पार गरेर जुम्ला पुग्नेलाई जुम्ला आफैँमा सुन्दर उपहार हो । 

तिला र हिमा नदी किनारमा रहेका खेत खोरियानहरु निक्कै आकर्षक छन् । कन्चन पानी र अन्न उब्जाउ हुने फाँटहरू जुम्ली जनताको बाँच्ने आधारशिलाहरू हुन् ।  

जुम्लाका फाँटहरूमा लहलहाउँदा अन्न मात्र हैन आसपासमा देखिने हज्जारौं वर्षदेखिका मौलिक ग्रामीण जीवनशैली र परम्परा पनि उत्तिकै आकर्षक छन् । सामान्यतया मध्य चैतबाट सुरु हुने काली मार्सी धानको रोपाइँहरू जुम्लाको रोपाइँहरू समयमा पानी नपर्दा भने केही ढिला गरी मात्र सुरु भएको छ । तर ढिला भएपनि उत्साह र उमङ्ग भने निक्कै रमाइलो भएको छ । 

स्थानीय पहिरनमा सजिएका महिलाहरूको सुरिलो सुर मात्र हैन नव विवाहित जोडिएको माइती र पोइली पक्षहरूको बिचमा हुने चोपाई खेल समेत रोमाञ्चक छ । नव विवाहित जोडिएको दुवै पक्षलाई रोपाई गर्दै गरेको खेतमा ल्याई विधिपूर्वक चोपाई गर्ने परम्परा आदिकाल देखिनै चल्दै आएको छ । चोपाइमा सहभागी हुन आउनुभएका दुलाहका दाजु सिंजा गाउँपालिका – ४ का तल्लोगुठि गाउँका वीर बहादुर बुढा भन्नुहुन्छ, “हाम्रो परम्परा हो ,सदियौँ देखि मान्दै आएको छौँ ।”

त्यस्तै माइती पक्षबाट सहभागी हुनुभएका लक्षीराम बुढा भन्नुहुन्छ, “चोपाइले दुई परिवारको सम्बन्धलाई प्रगार बनाउने मात्र हैन, माटोसँग किसानको सम्बन्धलाई समेत जोड्ने गर्दछ ।” यत्तिमात्र हैन “ माटो छुनु किसानको गर्वको कुरा हो न कि घिनको ।” 

पहिलो पटक सुन्नेहरूको लागि निक्कै नयाँ र रोचक लागे पनि सदियौँदेखि निरन्तर चल्दै आएको विशिष्ट परम्परा हो । बहुबलीवालाले सहजै रोपाई भएको खेतमा एक अर्कालाई चोप्न सक्ने भएपनि एक अर्काको मान राख्दै रमाइलोसँग आत्मीयता सहित एक अर्कालाई चोप्ने गरिन्छ । अन्न र उब्जनी मात्र नभएर माटोसँगको किसानको सान्निध्य सम्बन्धलाई समेत प्रगार गराउने विश्वास गरिन्छ । कालो मार्सी धानको रोपाइँका दौरान जुम्लाका किसानहरूले परम्पराको निरन्तरताको लागि भएपनि वर्षभरि बिवेवारी गर्ने नवजोडिका आफन्तहरूलाई यसरी नै सहर्षका साथ चोपाई परम्परालाई निरन्तरता दिँदै आएको स्थानीय बताउँछन् ।