• २३ असार २०८२, सोमबार

वैतेश्वरमा बजार अनुगमन

blog

बजार अनुगमनपछि नष्ट गरिँदै खाद्यान्नलगायतका सामग्रीहरु । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले

चरीकोट, जेठ २१ गते । दोलखाको जिल्लाको वैतेश्वर गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ । खासगरि जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन हुने भए पनि गाउँपालिकाले पटकपटक छड्के बजार अनुगमन गर्ने गरिन्छ ।

आइतबार गरिएको छड्के बजार अनुगमनको क्रममा ४ लाखभन्दा बढीको अखाद्य वस्तु फेला परेको गाउँपालिकाले जनाएको छ । बजार अनुगमन टोलिले गाउँपालिकाको मुख्य बजार क्षेत्रको अनुगमनको क्रममा म्याद गुज्रिएका अखाद्य वस्तु आगोले जलाएर नष्ट गरिएको वैतेश्वर गाउँपालिकाका अध्यक्ष छवि लामाले बताउनुभयो ।

गाउँपालिकाले स्थानीय उद्योग वाणिज्य सङ्घ, इलाका प्रहरी चौकी, स्थानीय सञ्चार माध्यम सँग समन्वय गरेर गाउँपालिकाको स्थानीय बजार अनुगमन टोलिले बजार अनुगमन गरेको थियो । अनुगमनको क्रममा बजारका विभिन्न पसलबाट म्याद गुज्रिएका करिब चार लाख मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको अध्यक्ष लामाले जानकारी बताउनुभयो । स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेकामाथि कडाइ सुरु गरेको अध्यक्ष लामाले बताउनुभयो । 

गाउँपालिकाका विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको उहाँले बताउनुभयो । बजारका धेरैजसो ठूला खाद्यान्न पसल र गाउँका पसलमा म्याद गुज्रिएको सामान फेला परेको गाउँपालिका प्रशासन प्रमुख रवीन्द्र चौलागाईंले बताउनुभयो । उहाँका अनुसार म्याद गुज्रिएका सामानमा कोकाकोला, खाने तेल, दालमोठ, आटा पिठो, भुजिया, बिस्कुट, चकलेट, चिजबल, चियापत्ती, कफी, दाल, चामल,चिउरा, मसलालगायत छन् । 

म्याद गुज्रिएको सामान नियन्त्रणमा लिएर आइतबार नै नियन्त्रणमा लिएको अखाद्य वस्तु जलाएर नष्ट गरिएको चौलागाईंले बताउनुभयो । अनुगमन टोलि पालिकाका एक सयभन्दा बढी पसल अनुगमन गरेको थियो ।

अनुगमनमा वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम ज्ञवाली, कार्यपालिका सदस्य ठूलीकान्छी बिक, पालिकाका विभिन्न शाखामा कार्यरत कर्मचारी इलाका प्रहरी कार्यालय मैनापोखरीका र पुतलीकाठ प्रहरी चौकीका सुरक्षाकर्मी, उद्योग वाणिज्य सङ्घ मैनापोखरी शाखाका, पत्रकारलगायतको अनुगमन टोली थियो । पालिकाले बजार अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । गाउँपालिका गत दशैंमा गरेको बजार अनुगमनका क्रममा पनि करिब १० लाख बराबरको अखाद्य वस्तु नष्ट गरेको थियो ।