• १३ असोज २०८१, आइतबार

सुनसान गुल्मीकोे ट्रि–हाउस

blog

उनायचौरमा रहेको पहिले र अहिलेको ट्रि–हाउस । तस्बिर : तिलाचन पाण्डे

तिलाचन पाण्डे
तम्घास, जेठ २१ गते ।
पर्यटकीय रुपमा विकास गर्ने उद्देश्यले निर्माण गरिएको ट्रि–हाउस सुरुमा चर्चामा रहे पनि अहिले सुनसान बन्न थालेको छ  । चार वर्ष पहिले धेरै चर्चामा रहेको उक्त हाउस अहिले सुनसान बनेको छ । पर्यटकको रोजाइमा रहेको सल्लाको रुखमा बनाइएको घर अहिले सुनसान बनेको हो ।

सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा नगरपालिकाको वडानम्बर, ५, ६ र ७ को संगम स्थल उनयचौरमा सल्लाको रुखमा निर्माण गरिएको ट्रि–हाउसमा अवलोकनकर्ता अहिले जान छोडेका छन् । सल्लाको रुखमा फलामको सिडी राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका विभिन्न स्थल हेर्न सकिन्छ ।

लुम्बिनी प्रदेश सरकार र डिभिजन वन कार्यालय गुल्मीको संयुक्त लगानीमा करिब १५ लाखमा उक्त हाउस निर्माण गरिएको थियो । चार वर्ष पहिले रेसुङगा नगरपालिकाले पर्यटकीय रुपमा विकास गर्नका लागि सल्लाको रुखबाट तम्घास बजारसँगै विभिन्न स्थानका दृश्य हेर्न सकिने गरि ट्रि–हाउस बनाइएको थियो । तर अहिले त्यस स्थल घुम्न जानेहरुको सङ्ख्या अत्यन्तै न्यून हुँदै गएपछि सुनसान बन्न थालेको छ ।

आन्तरिक तथा बाह्य पर्यटक पुग्न छोडेसँगै हेरालु र नजिकै रहेको होटल समेत बन्द भएको स्थानीय हिमलाल पन्थीले बताउनुभयो । सबै मिलेर यसक्षेत्रमा पर्यटकीय चहलपहल बढाउन ध्यान दिनुपर्नेमा जोड दिनुभयो । पहिले दैनिक  सय जनाभन्दा बढी ट्रि–हाउस अवलोकन गर्न पुग्ने गरेका थिए ।

अवलोकनका लागि विद्यार्थीलाई १० रुपियाँ र अन्यलाई २० रुपियाँ शुल्क लिने गरिएको थियो । त्यसबाट रेखेदख गर्ने र केही रकम समेत बचत गरिएको थियो ।

अवलोकनकर्ता धेरै पुग्ने गर्दा हेरालु राखिएको थियो । अहिले भने सुनसान बनेपछि हेरालु हटाइएको छ ।

यसक्षेत्रको नयाँ खालको रहेकाले हेर्न आउनेहरुले निकै रमाइलो मान्ने गरेका थिए । रुखको टुप्पोमा पुग्न एक सय सिँढी उक्लनुपर्छ । त्यहाँबाट तम्घाससहित उत्तरका मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।

पछिल्लो समयमा ट्रि–हाउस सुनसान जस्तै बन्न गएकाले यसको उचित प्रचारप्रसार गरी पहिलेको भन्दा झन् चर्चामा आउने गरी योजना बनाएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।