• १० मंसिर २०८१, सोमबार

अन्नपूर्ण फेदीमा राजदूतको पदयात्रा (फोटो फिचर)

blog

नेपालमा रहेका विभिन्न देशका राजदूत, सार्कका महासचिव र विदेशी कूटनीतिज्ञद्वारा अन्नपूर्ण फेदीमा पदयात्रा । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २१ गते ।
अन्नपूर्ण प्रथम हिमालमा फ्रान्सेली आरोही मौरिस हर्जाेगले पाइला राखेको दिन नेपालको पर्वतारोहण र पर्यटनका लागि विशेष पर्व हो । ७४ वर्षअघि जुन ३ मा हर्जोग र लुइ लचेनलले अन्नपूर्ण चुली चुम्नुभएको थियो । विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये चढिएको पहिलो हिमाल अन्नपूर्ण प्रथम थियो ।

त्यसयता त्यो दिनलाई अन्नपूर्ण दिवसको रुपमा मनाउने गरिएको छ । यसपालिको अन्नपूर्ण दिवसमा नेपालमा रहेका विभिन्न देशका राजदूत, सार्कका महासचिव र विदेशी कूटनीतिज्ञले कास्कीको अन्नपूर्ण फेदीमा आइतबार पदयात्रा गर्नुभयो । नेपाल पर्यटन बोर्डले आइतबार बिहान पोखरा विमानस्थलबाट विदेशी कूटनीतिज्ञसहित ८० जनालाई धम्पुसदेखि ह्याङ्जाकोट हुँदै पञ्चेबाजा पार्कसम्म पदयात्रा गराएको हो ।


बोर्ड गण्डकी प्रदेश कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रम बमोजिम आइतबार र सोमबार विशेष कार्यक्रम गरी अन्नपूर्ण दिवस मनाइरहेको छ । पदयात्रामा सहभागीलाई ठाउँ–ठाउँमा स्थानीयले स्वागत गरेका थिए । छिटपुट वर्षा, उकालो, ओरालो बाटो, काँडाहरु झल्दै राजदूतसहितका उच्च पदस्थहरुले पदयात्रा गर्नुभयो ।

पदयात्रामा सहभागी इजरायली राजदूत हानन गोडर गोल्डब्रेटरले आफूलाई ‘दिलबहादुर’को रुपमा चिनाउनुभयो । यात्रामा उहाँले आफूले अन्नपूर्ण बेस क्याम्प, कास्कीकोट, मार्दी आदि क्षेत्रमा पदयात्रा गरिसकेको सुनाउनुभयो । बेलायती राजदूत रोब फेनले नेपालमा रहेका कथाहरुलाई उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्न सुझाव दिनुभयो ।


युएनडिपी नेपाल प्रमुख आइसाने मेडागोन्गोडा लावेले दोस्रो पटक पोखरा आउँदा उत्साहित भएको सुनाउनुभयो । उहाँले नेपाली नागरिकमा रहेको साधारणपना जोगाउन आग्रह गर्नुभयो । अमेरिका, बेलायत, भारत, चीन, इजरायल, श्रीलंका, पाकिस्तान, थाइल्यान्ड, मलेसियाका राजदूत वा दूतावासका प्रतिनिधि र दक्षिण एसियाली क्षत्रीय सहयोग संगठन (सार्क)का गोलाम सरवार पनि पदयात्रामा सहभागी हुनुहुन्थ्यो ।

माटोमा स्थानीयको करेसाबारीमा रहेको पुदिना चपाउँदै युएसएआइडीकी निमित्त निर्देशक जुडिथ अल्मोडोभरले अन्नपूर्ण फेदीको जनजीवनले छुट्टै छाप छाडेको सुनाउनुभयो । ठाउँ ठाउँमा रहेका चौतारीमा अतिथिहरुले विश्राम गर्दै त्यसको उपयोग र इतिहासबारे जानकारी लिएका थिए । कोदो गोड्दै गरेका किसानको फोटो खिच्दै रमाएका अतिथिहरुले पञ्चेबाजामा नृत्यसमेत गरेका थिए ।

अर्काे वर्ष ७५ औँ अन्नपूर्ण दिवसमा हर्जाेगको विख्यात पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवाद सार्वजनिक गर्ने र समारोहमा मौरिक हर्जाेगकी पत्नीलाई समेत आमन्त्रण गर्ने तयारी छ । कार्यक्रमबाट पर्यटन राजधानी पोखरा र समग्र गण्डकी प्रदेशमात्र नभई नेपालकै पर्वतीय पर्यटनको विश्व बजारमा प्रचारप्रसार र प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।