• १३ साउन २०८१, आइतबार

आधा खनियो थानकोट–सिस्ने खोला सुरुङ

blog

भउचप्रसाद यादव

काठमाडौँ, वैशाख १३ गते । मुलुककै महत्त्वाकाङ्क्षी परियोजनाका रूपमा रहेको थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्गको सुरुङ खन्ने काम आधा सकिएको छ । थानकोट–नागढुङ्गा–सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले सुरुङ खन्ने काम ५० प्रतिशत सकिएको जानकारी दिनुभयो । उहाँले नागढुङ्गा (पूर्व) र नौबिसे (पश्चिम)तर्फबाट सुरुङ खन्ने काम तीव्र गतिमा भइरहेको पनि बताउनुभयो ।

अहिलेसम्म मुख्य सुरुङमार्गको पूर्वतर्फ ५८० मिटर र पश्चिमतर्फ ५८१ मिटर खनिएको छ । मुख्य सुरुङको कुल लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ । दुई हजार ५५७ मिटर कुल लम्बाइरहेको सहायक (इभ्याकुएसन) सुरुङको अहिलेसम्म एक हजार ४१३ मिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । 

सहायक सुरुङको पूर्वतर्फ ८२२ मिटर र पश्चिमतर्फ ५९१ मिटर खनिएको छ । सुरुङ मार्गभित्र सिर्जना हुनसक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङ मार्गको समानान्तर हुने गरी सहायक सुरुङ मार्ग निर्माण गरिएको हो ।

उहाँका अनुसार आयोजना स्थलमा दैनिक तीन चरणमा छ सय जनशक्ति कार्यरत छन् । काठमाडौँतर्फ ओभरपास निर्माण सम्पन्न गरी बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ भने धादिङतर्फ अन्डरपास निर्माण पूरा भएको छ । मुख्य र सहायक सुरुङ मार्गलाई प्रत्येक ३७५ मिटरमा सातवटा सहायक बाटो (क्रस प्यासेज)ले जोड्ने छ ।

सुरुङ मार्गको काठमाडौँतर्फको सुरु बिन्दु चन्द्रागिरि नगरपालिका–१ स्थित टुटीपाखा र धादिङतर्फको सुरु बिन्दु धुनिबँेसी नगरपालिकाको सिस्ने खोला रहेको छ । कुल लम्बाइ २.७ किलोमिटर र चौडाइ (क्यारिज वे) साढे नौ मिटरको हुने यस सुरुङ मार्गको बीचमा डेढ मिटर चौडाइको डिभाइडर निर्माण भइरहेको छ । 

सुरुङमा मोटरसाइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारीसाधनलाई प्रवेश नदिइने बताउँदै आयोजना प्रमुख शाक्यले भन्नुभयो, “मुख्य सुरुङमा गुडिरहेका सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै सहायक सुरुङमा प्रवेश दिइने छ ।” उहाँले साढे तीन वर्षभित्र काम सक्ने भनिएकोमा गतवर्ष कोरोना सङ्क्रमणका कारण सिर्जित बन्दाबन्दीले आयोजना निर्माणका लागि ८६ दिन म्याद थप भएको जानकारी दिनुभयो । 

सुरुङ मार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । सन् २०१६ मा जाइकासँग शून्य दशमलव एक प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो ।